खुला खर्कमा सामुदायिक चिया खेती

खुला खर्कमा सामुदायिक चिया खेती

भोजपुर : आमचोक गाउँपालिकाले गाउँस्तरमै चिया खेती विस्तारको महत्वाकांक्षी कार्यक्रम अघि बढाएको छ। सार्वजनिक जग्गामा पर्ने खुला खर्क, चौर, डाँडाकाँडामा व्यावसायिक चियाखेती विस्तार गरी दुर्गम ग्रामीण भेगका कृषकको जीवनस्तर उकास्ने लक्ष्य गाउँपालिको छ।

सिंगो गाउँपालिकाको आर्थिक उन्नति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत करिब दुई सय ५० रोपनीभन्दा बढी सार्वजनिक जग्गामा चिया खेती विस्तार गरिएको हो। खेर गइरहेका सार्वजनिक खुला खर्क, चौरी डाँडामा चिया लगाएर व्यावसायिक रूपमा सिंगो गाउँपालिकालाई पर्यटन, रोजगारी र अर्थोपार्जनजस्ता क्षेत्रमा बहुआयामिक बनाउने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए। उत्तम हावापानी भएकाले चिया खेती अगाडि बढाउँदा गाउँपालिकाभित्रै रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ।

गाउँपालिकास्थित बालंखाका कृषक राजिनकुमार राई रोजगारीका लागि बिदेसिनु पर्ने अवस्था अन्त्य गर्न पनि चिया खेती विस्तारले सहयोग गर्ने बताए। उनले यसलाई सबै कृषकले एउटा राम्रो आयमूलक कार्यक्रमका रूपमा लिएको जानकारी दिए। उनले भने, ‘गाउँमै चिया उद्यमी बन्न सके घरमै बसीबसी आर्थिक उपार्जन गर्न सहज हुन्छ। चियालाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छ।’

गाउँपालिकाको पहिलो परिषद्बाट चिया तथा कफी खेती विस्तार शीर्षकमा विनियोजित ७५ लाख बजेटले गत वर्ष नै खाली खर्कमा एक लाखभन्दा बढी चियाका बिरुवाको नर्सरी लगाइएको थियो। यो वर्ष पनि ४२ लाख बजेट सोही चिया तथा कफी खेती प्रवर्द्धनमा छुट्याइएको गाउँपालिका अध्यक्ष राईले बताए। उनका अुनसार निजी चिया कृषकलाई पनि चियाको नर्सरी राख्न प्रोत्साहन गरी पहिलेका दुईवटा नर्सरीमा थप गरी चारवटा नर्सरी ब्लग थपेर १५ लाखभन्दा बढी चियाका बिरुवाको नर्सरी बनाइएको छ।

बाहिरी जिल्लाबाट बिरुवा ल्याउन महँगो पर्ने भएपछि नर्सरी राखिएको चिया तथा कफी विकास बोर्ड आमचोक गाउँपालिका बालंखाका अध्यक्ष दीपक राईले बताए। उनका अनुसार उक्त नर्सरीबाट यो वर्ष मात्रै करिब चार लाख हाराहारी चियाका बिरुवा उत्पादन हुने अड्कल गरिएको छ। उक्त नर्सरी रेखदेख, गोडमेल गर्न १६ जना कामदारलाई प्रतिदिन एक जनालाई पाँच सय ५० रुपैयाँ दिएर काममा लगाइएको छ।

गाउँमै व्यावसायिक चियाखेती प्रवर्द्धन हुने भएपछि स्थानीय कृषक उत्साहित देखिएका छन्। चियाखेतीमा आस्रित बनेर व्यावसायिक आम्दानीको स्रोत र रोजगारीको बाटो सिर्जना हुने भएपछि चियाखेतीमा उत्साह छाएको कृषक दिक्पाल राईले बताए। उनले भने, ‘यत्रो वर्षसम्म दुःखले वर्षभरी उब्जाएको अन्नले परिवार नधानेपछि बिदेसिनेबाहेक अरु कुनै विकल्प थिएन। गाउँमै उद्यमी बनाउने चियाखेतीको प्रवर्द्धनले नयाँ आस थपेको छ।’ यसअघि गाउँपालिकाले चिया विकास संस्था गठन गरी स्थानीय सरकारले चलाउने नीति बनाए पनि स्थानीय सरकारको हकमा संस्था सञ्चालन हुने किसिमको व्यवस्था नभएकाले संस्थागत रूपमा लैजाने तयारी रोकिएको थियो। पछि सोही चिया खेतीका लागि उपभोक्ता समिति गठन गरेर नेपाल सरकार तथा सार्वजनिक प्रतिनिधिको रूपमा चिया खेती सुरु गरिएको थियो।

गाउँपालिकाले करिब चार हजार घरपरिवारलाई सेयर दिई चियाखेतीमा व्यावसायिक बनाउने योजना अघि बढाएको छ। पर्यटन प्रवर्द्धनसँगै गाउँपालिकाको आर्थिक आय बढाउन, सार्वजनिक जग्गा, खुला खर्क, चौरलाई सुन्दरता थप्ने, रोजगारी सिर्जना गर्न पनि चिया खेतीको विस्तार गरिएको गाउँपालिका अध्यक्ष राई सुनाउँछन्। ‘सार्वजनिक जग्गामा पर्ने खर्क, डाँडा, चौरी त्यसै खेर गएका छन्।

ती क्षेत्रलाई यसै छाड्नुभन्दा चिया खेती प्रवर्द्धन गरे आर्थिक उन्नति हुने र स्थानीय स्तरमा रोजगारीको पनि सिर्जना हुने देखियो,’ उनले भने, ‘वातवरणीय स्वच्छता थप्नुको साथै चियाखेतीबाट सिंगो गाउँपालिकालाई बहुआयामिक बनाउन पनि मद्दत पुर्‍याउने लक्ष्य हो।’ सुरुवाती अवस्थाबाटै सार्वजनिक खुला जग्गामा चिया खेती गर्न राष्ट्रिय चिया तथा कफी विकास वोर्डसँग सहकार्य गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.