क्यान्सर रोकथामका लागि के गर्नुपर्छ ?

क्यान्सर रोकथामका लागि के गर्नुपर्छ ?

‘स्वास्थ्य शिक्षा महत्त्वपूर्ण’

हामीले स्वास्थ्यसम्बन्धी कानुन पास नै गरिसक्यौं। यसलाई मौलिक हककै रूपमा राखिसकिएको छ। त्यसैले स्वास्थ्य शिक्षासम्बन्धी सम्पूर्ण दायित्व सरकारको हुन्छ। सरकारले दायित्व वहन गरिरहेकै छ। दीर्घ रोग लागेकालाई आर्थिक सहयोगको व्यवस्था सरकारले गरेको छ।

नागरिक समाजको आवाज सरकारले सुन्छ। हाम्रो समाजमा वा हामीभित्र ‘देखाइहालौंला, जँचाइहालौंला, ठीकै छ पछि गरौंला’ भनेर बस्ने प्रवृत्ति छ। तर अन्नपूर्ण पोस्टले सञ्चालन गर्दै आएको यो अभियानले समयमै आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ र रोग नलाग्दै बेलाबेला जँचाउन जानुपर्ने सन्देश प्रवाह गरेको छ।

–कोमल वली, राष्ट्रियसभा सदस्य

‘आफैं सचेत हुनुपर्छ’

स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। खानपान, वातावरण र बंशाणुगत गुणले पनि क्यान्सर हुने सम्भावना रहेछ। त्यसैले हामी आफैं सचेत भयौं भने यसविरुद्ध लड्न सक्छौं। सकेसम्म त कुनै पनि रोग नलागोस्। तर यसको वातावरण आफैंले सिर्जना गर्नुपर्छ। रोग लाग्न नदिने धेरै कुरा आफैंमा निर्भर हुन्छ। आफू बाँचे मात्र संसार देख्न पाइन्छ। यसकारण सचेतना नै मुख्य कुरा हो।

–दीपा श्री निरौला, कलाकार

‘नियमित साइकल चलाउनु बेस’

साइकल चलाउँदा स्तन र पेटको क्यान्सर हुने सम्भावना ५०–६० प्रतिशतसम्म घट्छ। साइकल चलाउँदा निकै कसरत हुन्छ। नियमित कसरत हुँदा शरीरमा रोग प्रतिरोधी क्षमता यसै पनि पनि बढ्छ।

साइकल चलाउँदा रक्तचाप, मधुमेहलगायत रोग घट्ने अनुसन्धानहरूबाट पुष्टि भएको छ। क्यान्सर मात्र होइन, साइकल चलाउँदा अन्य धेरै रोगबाट जोगिन मद्दत पुर्‍याउँछ।

–रत्नराम श्रेष्ठ, अध्यक्ष, नेपाल साइकल सोसाइटी

 ‘प्रदूषण र विषादी रोकिनुपर्छ’

क्यान्सर नियन्त्रणका लागि विशेषगरी सजग रहनु नै महत्त्वपूर्ण छ। खाद्यान्नका कारण पनि क्यान्सर बढेको छ। खाद्यान्नमा बिषादी न्यूनीकरण गर्न सबै क्षेत्रबाट ध्यान दिइनुपर्छ। बिषादी नियन्त्रणमा सरकारको मुख्य भूमिका रहन्छ। सरकारले मात्र गरेर पनि पुग्दैन। किसान, मजदुर सबै सचेत हुनु पर्‍यो। पहिले त मानव स्वास्थ्यलाई हानिकारक बिषादी मिसाउन दिनु भएन।

मिसाउनेलाई सरकारले कारवाहीको दायरामा ल्याउनुपर्छ। अर्को कुरा वातावरण प्रदूषण रोकिनुपर्छ। मापदण्डविपरीतका सवारीसाधनले पनि प्रदूषण फैलिने भएकाले नियमनमा कडाइ गर्नु पर्‍यो। व्यक्ति, सामाजिक संघसंस्था, सरकार सबै सजग भए मात्र न्यूनीकरण गर्न सकिन्छ।

–दिव्यदेव फुँयाल, अधिकृत सर्वोच्च अदालत

‘सरकारले भूमिका सकारात्मक चाहिन्छ’

काम र व्यवहार खासगरी क्यान्सरलाई चुरोट, सुर्ती, खैनी र जाँडरक्सीसँग जोडेर हेरिन्छ। पहिले त आफैं कसरी स्वस्थ्य रहने सचेत हुनुपर्छ। मुख्य कुरा खानपान, शारीरिक व्यायाम र आहारविहार, बानीव्यहोरामा ध्यान दिनुपर्छ। अर्को कुरा क्यान्सर रोकथाममा राज्यको भूमिका नेगेटिभ देखिएको छ।

सुर्ती, चुरोटलाई नेगेटिभ ‘लिस्ट’ मा राखे पनि भनाइ र गराइमा भिन्नता छ। आफैंले लगानी गरेर चुरोट कारखाना चलाएको स्थिति छ। यस्तो द्वैध चरित्र हुनुभएन। वातावरण प्रदूषण रोकथाम र मानव स्वास्थ्यमा हानी पुग्ने कुराहरुमा ध्यान दिएमा क्यान्सर पूरै नियन्त्रण गर्न नसकिए पनि घटाउन भने सकिन्छ।

–रामकृष्ण निराला, वरिष्ठ अधिवक्ता

 ‘जनचेतना फैलाउन सामूहिक प्रयत्न आवश्यक’

‘क्यान्सर रोकथामका लागि सबैभन्दा ठूलो कुरा जनचेतना हो। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार क्यान्सरका कारण एक वर्षमा संसारभरि ११ लाख मानिसको मृत्यु हुँदोरहेछ। प्रतिदिन ३ हजार १३ व्यक्तिले क्यान्सरका कारण मृत्युवरण गर्छन्। यस्तो भयावह अवस्था छ। खानपान, हिँडाइ, परिश्रम, बानीव्यहोरा जस्ता कुराले फरक पार्छ।

क्यान्सरजस्तो प्राणघातक रोगको न्यूनीकरण र रोकथामका लागि बर्सेनि अन्नपूर्ण मिडिया नेटवर्कले जसरी जनचेतनामूलक अभियान चलाएको छ, यो सबैका लागि प्रेरणादायी छ। निजी संस्थाले मात्र गरेर हुँदैन, सरकारले पनि क्यान्सरविरुद्ध व्यापक अभियान सञ्चालन गर्न आवश्यक छ।

–रामहरि खरिवडा, युवा नेता, कांग्रेस

‘समयसमयमा परीक्षण गराउनु पर्छ’

क्यान्सर रोगीको संख्या बढेको छ। सर्वसाधारणमा चेतनाको कमी छ। यस्ता कार्यक्रमले क्यान्सर रोकथाम गर्न चेतना अभिवृद्धि गर्न सहयोग पुग्छ। क्यान्सर लागिसकेपछि उपचार कसरी गर्ने भनेर थप मद्दत पुग्छ। सरकारले पनि क्यान्सरलगायत अन्य घातक रोगसम्बन्धमा योजना र कार्यक्रम सञ्चालन गरेको छ।

जनस्तरबाट गरिने महत्त्वपूर्ण काम जनचेतना अभिवृद्धि नै हो। यो रोगको समयमै उपचार भयो भने बाँच्न सकिन्छ। तर हेलचेक्र्याइँ गरेर रोग माथिल्लो स्टेजमा पुग्यो भने प्राण लिन्छ। त्यसैले समयसमयमा परीक्षण गराउनु र डाक्टरसँग सल्लाह लिनु पर्छ।

–कमल थापा, अध्यक्ष, राप्रपा नेपाल

‘रोग लाग्न नदिनु नै राम्रो’

क्यान्सरका लागि सबैभन्दा ध्यान दिनुपर्ने जीवनशैलीमा नै हो। त्यसपछि वातावरणको पनि भूमिका हुन्छ। सबैभन्दा पहिले आफ्नो स्वास्थ्यकै ख्याल गर्नुपर्छ। ‘नेगेटीभ’ सोचाइ हटाउन सक्नुपर्छ। यस्ता चेतनामूलक कार्यक्रमले क्यान्सर हुन लागेका सर्वसाधारण र भइसकेकालाई पनि अझै सचेत पार्छ। यस्ता रोग नियन्त्रणमा हौसला पनि चाहिन्छ।

रोग लाग्नुअघि नै खानपानमा सचेत हुन आवश्यक छ, हामी के खाइरहेका छौं त्यसमा पनि भरपर्छ। त्यसैले क्यान्सर आफैंमा ठूलो विपत्ति होइन। यसलाई हुन नदिन र भइसकेपछि कसरी उपचार गर्ने सजग बनाउन चेतनामूलक कार्यक्रम आवश्यक पर्छ।

–यमप्रसाद ढकाल, सहायकरथी, नेपाली सेना

‘सातामा कम्तिमा एक दिन साइकल चलाउनु फाइदाजनक’

सातामा कम्तिमा पनि एक दिन साइकल चलाए स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। थोरै मानिस मात्र साइकल प्रयोग गर्छन्। दैनिक साइकल कुदाउँदा सबैखाले रोगविरुद्ध लड्ने क्षमता बढ्छ, शरीरका सबै अंग सक्रिय हुन्छन्।

साइकल र्‍याली क्यान्सर रोग नियन्त्रणका लागि महत्त्वपूर्ण कार्यक्रम हो। यस्ता साइकल र्‍यालीले क्यान्सरविरुद्ध लड्न थप हौसला दिन्छ। क्यान्सर के हो र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ अन्नपूर्ण मिडिया नेटवर्कले चेतनामूलक कार्यक्रम गर्दै आएको छ। यो सराहनीय कार्य हो।

–चित्र पौडेल, विश्व साइकल यात्री

 ‘आहारविहार र खानपिनमा विचार पुर्‍याउनुपर्छ’

धेरैलाई क्यान्सर के हो, कसरी लाग्छ र लागिसकेपछि के गर्ने जानकारी नै छैन। क्यान्सरविरुद्ध जनचेतना जगाउने र साइकलमैत्री समाज निर्माणका लागि अन्नपूर्ण मिडिया नेटवर्कले सञ्चालन गर्दै आएको साइकल र्‍याली महत्त्वपूर्ण कार्यक्रम हो। यसले सर्वसाधारणमा चेतना बढाउँछ।

अन्नपूर्णको यो पहलकदमीले क्यान्सरबारे सजग रहन सघाउ पुर्‍याउँछ। क्यान्सरले हाम्रो देशमा पनि बिस्तारै भयावह रूप लिँदै छ। जीवनशैली र दैनिक आहारविहारमा ध्यान नदिँदा पनि हामी क्यान्सर निम्त्याइरहेका छौं। सरकारले जनस्तरमा क्यान्सरबारे चेतना अभिवृद्धि गर्न व्यापकता दिनुपर्ने खाँचो छ।

–जयबहादुर चन्द, पूर्वएआईजी, नेपाल प्रहरी
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.