नेपाली क्रिकेटमा अर्को फड्को

नेपाली क्रिकेटमा अर्को फड्को

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उपलब्धि हात पार्दै आएको नेपाली क्रिकेटले अर्को ऐतिहासिक सफलता हासिल गरेको छ। अघिल्लो साता पहिलोपटक एकदिवसीय शृंखला जितेर इतिहास रचेको नेपाली टोलीले आइतबार टीट्वेन्टी क्रिकेटमा पनि पहिलो शृंखला हात पार्‍यो।

नेपालले आइतबार दुबईस्थित आईसीसी एकेडेमीमा खेलिएको तेस्रो तथा अन्तिम टीट्वेन्टी खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई)लाई १४ रनले हरायो। अन्तिम जितसँगै नेपालले तीन खेलको टीट्वेन्टी शृंखला २—१ ले आफ्नो पक्षमा पारेको हो।

शृंखलाको पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेलमा भने नेपाल चार विकेटले विजयी भएको थियो। वर्षाका कारण आइतबार भएको तेस्रो खेललाई १०÷१० ओभरमा झारिएको थियो। टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १० ओभरमा आठ विकेट गुमाएर एक सय चार रन बनायो। जवाफी ब्याटिङमा ओर्लिएको यूएईले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ९० रनमात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रनको योगदान गरे। केवल १४ बलको सामना गरेका पारसले एक छक्का र चार चौका प्रहार गरे। सन्दीप जोराले पनि टोलीको खातामा २८ रन थपे। उनले केवल ११ बलको सामना गरी तीन छक्का हिर्काए। विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले पनि १३ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले २१ रन जोडे। बलिङतर्फ पनि नेपाली खेलाडीको प्रदर्शन स्तरीय रह्यो।

यूएईलाई लक्ष्यसम्म पुग्न नदिन करण केसी, अभिनाश बोहरा र ललित राजवंशीले किफायती बलिङ गर्दै दुई÷दुई विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले पनि एक÷एक विकेट हात पारे।

यूएईका लागि साइमन अनवरले २० बलमा ३० र घुलाम साब्बरले १५ बलमा २५ रन बनाए पनि त्यसले टोलीको हारलाई टार्न सकेन। सन् २०१४ मा पहिलो पटक टीट्वेन्टी विश्वकप खेलेको नेपालले सोही वर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट दुई वर्षका लागि टीट्वेन्टी टोलीको मान्यता पाएको थियो।

यूएईविरुद्घ ऐतिहासिकल टीट्वेन्टी शृंखला जित्नुअघि पनि नेपालले दुईवटा टीट्वेन्टी शृंखला खेलेको थियो। तर, ती दुवै टीट्वेन्टी शृंखलामा नेपाल पराजित भएको थियो। नेपालले सन् २०१४ मा श्रीलंकामा हङ्कङसँग पहिलो टीट्वेन्टी शृंखला खेलेको थियो। उक्त शृंखलामा नेपाल १—० ले पराजित भएको थियो। यद्यपि, उक्त शृंखलामा अरु खेल वर्षाले बिथोलेका कारण अन्तिम खेलमात्र सम्भव भएको थियो। अन्तिम खेलमा हङ्कङ्सँग दुई विकेटले पराजित भएको थियो।

त्यसपछि सन् २०१५ मा नेपालले नेदरल्यान्ड्सँग चार खेलको टीट्वेन्टी शृंखला खेलेको थियो। उक्त शृंखलामा पनि नेपाल ३—१ ले पराजित भएको थियो। यसअघि अघिल्लो साता नेपालले यूएईलाई नै २—१ ले हराउँदै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.