रवि बजारमा बल्यो बिजुली
फिदिम : पाँचथरको रवि बजारमा बिजुली बल्न थालेको छ। केन्द्रीय प्रसारण लाइनबाट बजारसम्म विद्युत् विस्तार गरिएको हो।
घरमा बिजुली बल्न थालेपछि स्थानीय खुसी भएका छन्। यो ठाउँ मिक्लाजुङ गाउँपालिका–४ र इलाम फाकफोकथुम गाउँपालिकाको सिमानामा पर्छ। यो बजार मिक्लाजुङ गाउँपालिका केन्द्र हो। रविलाई पाँचथर सदरमुकाम फिदिम बजारपछि दोस्रो ठूलो व्यापारिक केन्द्र मानिन्छ।
लघु जलविद्युत्ले अन्य ग्रामीण बस्ती झिलिमिली भइसक्दा पनि रवि अन्धकारमै थियो। ‘विद्युतीकरणको ढिलाइले अपेक्षित विकास हुन सकेको थिएन’, स्थानीय जय ढकालले भने, ‘बल्ल बिजुली बल्न थालेको छ। बजारले अब फड्को मार्नेछ।’
बजारका ६० प्रतिशत घरमा बिजुली बल्न थालेको गाउँपालिका अध्यक्ष अमर माखिमले बताए। मिटर बक्स अभावले अरू घरमा बिजुली बाल्न ढिलाइ भएको उनले सुनाए। ‘विद्युतीकरणका लागि सबै काम पूरा भइसकेको छ’, उनले भने, ‘बजारका अधिकांश घरमा बिजुली बल्न थालेको छ। मिटर बक्स अभावले केही घरमा बिजुली बाल्न ढिलाइ भएको हो।’ उनका अनुसार १ सय ८० वटा मिटर बक्स जडान गर्न बाँकी छ। मिटर बक्स झिकाएर बाँकी घरमा पनि चाँडै बिजुली बाल्ने तयारी छ।
यहाँ बिजुली बाल्न सरकारले ८६ लाख लगानी गरेको छ। उत्तरेस्थित ११ केभीए प्रसारण लाइनबाट आठ किलोमिटर विद्युत् विस्तार गरिएको छ। ‘बिजुली अभावले बजारको विकासमा बाधा पुगेको थियो’, स्थानीय वन्दना राईले भनिन्, ‘बजारमा झिलिमिली बत्ती बलेको छ। बजारको तीव्रतर विकास हुनेमा दुईमत छैन।’