भोक र रोगले मरे जंगलमा छाडिएका १७ सय गाई
ललितपुर : कैलालीको घोडाघोडी नगरपालिकास्थित चुकड जंगलमा १ हजार ७ सात सय गाई मरेका छन्। नगरपालिकाले भदौमा सामाजिक छाडा गाई व्यवस्थापन गर्ने भन्दै २५ सय गाई जंगलबीच लगेर राखेको थियो।
खान नपाएर भोकभोकै गाई मरिरहेको भन्ने खबर सुन्नासाथ केही दिनअघि पशुअधिकारको क्षेत्रमा काम गर्दै आएको संस्था ‘स्नेहाज केयर’ त्यहाँ पुगेको थियो। गाईमाथिको अत्याचार सहन नसक्ने खालको देखिएको ललितपुरमा सञ्चालित संस्थाकी अध्यक्ष स्नेहा श्रेष्ठले बताइन्। ‘मरेका गाईको दुर्गन्ध फैलिएर जंगल पस्न सकिने अवस्था छैन’, उनले भनिन्।
स्थानीयले बाली खाइदिएको भन्दै गाईको पुच्छर र कान काटिदिने, सिङ भाँचिदिने र भालाले घोच्ने गरेपछि नगरपालिकाले गाईलाई जंगलमा ल्याएर राखेको बताएको छ। ‘स्थानीयले कुरै बुझेनन्, बारम्बार काम गर्न खोज्दा साथ नदिएपछि जंगलमा राख्न बाध्य भयौं’, नगरप्रमुख ममताप्रसाद चौधरीले भने।
जंगलमा मरेका गाईका अवशेष । तस्बिरः स्नेहाज केयर
स्थानीयले जंगलमै आगो लगाइदिएकाले पनि गाई मरेको वडाध्यक्ष भीम बोगटीले बताए। वन कार्यालयले पनि गाई ल्याएर राखिएको विषयमा असहमति जनाएको उनको भनाइ छ। भदौ १ मा जंगलमा २ हजार ५ सय गाई थिए। त्यसमध्ये पाँच सय गाई बिक्री गरिएको थियो। तर अहिले करिब दुई सय ५० गाई मात्रै बाँकी छन्। अन्य बिरामी भएर, खाना नपाएर मरेका हुन्। गाई छाडिएपछि तिनको हेरचाहका लागि नगरपालिकाले पाँच जना कर्मचारी खटाएको थियो।
स्नेहाज केयर र मेयर चौधरीको सहयोगमा बाँचेका गाई राख्न नयाँ ठाउँ भेटिएको छ। त्यहाँ केही दिनभित्रमा गोठ बनाइसक्ने श्रेष्ठले बताइन्। स्नेहा केयरको टिम बिरामी गाईको उपचारमा खटिएको र खानेकुराको बन्दोबस्त गरिरहेको उनको भनाइ छ। गाई राखिएको जंगल सडकबाट आठ किलोमिटर दूरीमा छ।