चार लाखले अवलोकन गरे क्यान इन्फोटेक

चार लाखले अवलोकन गरे क्यान इन्फोटेक

काठमाडौं : सूचना प्रविधिमा रुचि राख्ने करिब ४ लाख अवलोकनकर्ताको उत्साहजनक उपस्थितिका साथ क्यान इन्फोटेक २०१९ सकिएको छ। माघ १५ गतेदेखि सुरु भएको मेलाको अवलोकन गर्न अन्तिम दिन आइतबार मात्रै करिब एक लाख मानिस मेलास्थल भुकुटीमण्डप पुगेका थिए।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा दैनिक जीवनमा प्रविधिको प्रयोगलाई विशेष महत्व दिइएकाले पनि अवलोकनकर्ताको उल्लेख्य घुइँचो लागेको हो।

मेलामा औषधि ओसारपसारका लागि ड्रोनको प्रयोग, दूरशिक्षा सिकाइ, स्मार्ट होम र कृषिक्षेत्रमा प्रविधिको प्रयोग अवलोकनको व्यवस्था मिलाइएको थियो। त्यस्तै, मेलास्थलमै सहरको कुनै एक स्थानबाट इन्टरनेटको माध्यमबाट दूरदराजदेखि गाउँगाउँका विद्यालयमा एकसाथ अध्ययन-अध्यापन गराइएको थियो।

'सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ इ-सेवा' नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ-नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए।

सूचना प्रविधि मेला अवलोकन गर्न मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेल, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न दलका नेता, नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृत, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, व्यापारी, व्यवसायी, कलाकार, खेलाडीलगायत विभिन्न पेसागत संघसंगठनका प्रतिनिधि भृकुटीमण्डप पुगेका थिए।

क्यान इन्फोटेक समापनपछि कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले नेपाली प्रविधिको उत्पादनमा भएको वृद्धिसँगै सूचना प्रविधि मेलाको औचित्य थप प्रभावकारी बन्दै गएको बताए। उनका अनुसार यसपटकको मेलामा नेपाली प्रविधि र नेपाली प्राविधिकको उत्साहजनक उपस्थिति रह्यो। ‘क्यान इन्फोटेक २०१९ को सफलता नै यसैमा निहित छ,' उनले भने।

मेलामा तीनवटा डिभाइसमा कनेक्ट गर्न मिल्ने किबोर्ड, ट्राफिक म्यानेजमेन्टमा उपयोग गर्न सकिने सिसिटिभी क्यामेरालगायतमा अवलोकनकर्ताले विशेष रुचि देखाएका थिए। सूचना प्रविधि मेलाको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क अवलोकनको सुविधा दिइएको थियो। 

यसैबीच, क्यान इन्फोटेकमा बुधबारदेखि सुरु भई आइतबार सम्पन्न रोबोट ब्याटल कम्पिटिसनअन्तर्गत मिनी पुस बुटतर्फ सुरज पटवारी विजयी भएका छन् भने पवनदेव शर्मा उपविजेता बनेका छन्। त्यस्तै, कम्ब्याट रोबोट ब्याटलतर्फ सोनाम घिमिरे विजेता तथा पवनदेव शर्मा नै उपविजेता बन्न सफल भए। त्यसैगरी, अटोनोमस रोबोट ब्याटलतर्फ राजेश धुसू, रविन पराजुली, सुशील श्रेष्ठ, सरोज गुराव विजयी भए भने सञ्जीव गोसाई, प्रकाश श्रेष्ठ, विजयकुमार फुयाल र सागर खरेल उपविजेता बनेका छन्।

प्रदेशमा इन्फोटेक 

राजधानीमा जारी क्यान इन्फोटेक सकिएलगत्तै प्रादेशिक इन्फोटेकको पनि आयोजना गरिने क्यान महासंघले जनाएको छ। भृकुटीमण्डपमा मेला सकिएको एक साता नबिन्दै प्रदेश ३ को चितवनमा माघ २७ देखि ३० गतेसम्म चार दिन मेला लाग्नेछ।

त्यसपछि गण्डकी प्रदेशको पोखरामा फागुन १८ देखि २४ सम्म, प्रदेश ५ को बुटवलमा फागुन ३ देखि ७ र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २४ देखि २८ सम्म प्रादेशिक इन्फोटेक आयोजना गरिएको क्यान महासंघका वरिष्ठ उपाध्यक्ष नवराज कुँवरले जानकारी दिए।

यसअघि, प्रदेश १ को विराटनगरमा पुस १९ देखि २३ र प्रदेश २ को वीरगन्जमा पुस २७ देखि ३० गतेसम्म प्रादेशिक इन्फोटेक सम्पन्न भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.