नेकपाले फेरि भन्यो : भेनेजुएलामा अमेरिकी हस्तक्षेप अनुचित
काठमाडौँ : भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले आफूलाई पुरानै अडानमा राखेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा आफूलाई अमेरिकाको पक्षमा उभ्याएको भोलिपल्ट नेकपाले यस्तो धारणा दोहोर्याएको हो ।
सोमबार बसेको नेकपा सचिावलय बैठकले भेनेजुएलामा अमेरिकाले गरेको हस्तक्षेबारे पार्टीका एकजना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ ११ गते निकालेको विज्ञप्तिकै अडानमा आफूलाई उभ्याएको हो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलाको विषयमा नेकपाले लिएको अडानबारे गलत प्रचार गरिएको जानकारी दिए । ‘भेनेजुएलाको विषयमा हाम्रो अडान यथावत छ, राष्ट्र संघको बडापत्र र पञ्चशीलको सिद्धान्तप्रति नेकपा प्रतिवद्ध छ’, श्रेष्ठले भने, ‘नेकपा हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र त्यहाँ समस्या पैदा भएमा सम्बन्धित देशको जनताले स्वतन्त्रतापूर्ण र शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता राख्दछ ।’
प्रवक्ता श्रेष्ठले पार्टीको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारेका प्रश्नमा कुनै द्विविधा नरहेको पनि उल्लेख गरे । ‘हामीले आजको सचिवालय बैठकमा पनि यसबारे पार्टीको नीति र दृष्टिकोण स्पष्ट र स्थिर रहेको निचोड निकाल्यौँ’, श्रेष्ठले भने, ‘हामी कुनै पनि देशको आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपलाई स्वीकार्दैनौँ ।’