भेनेजुएला पनि बन्ला त अर्को लिबिया ?
काठमाडौं : भेनेजुएलाको राजनीतिक संकटमा अहिले विश्वको चासो पुगेको छ । विवादमा तानिएका राष्ट्रपति निकोलस मादुरोको पक्ष र विपक्षमा बाहिरी विश्वले विज्ञप्ति नै निकाले ।
लाखौंको संख्यामा सडकमा उत्रिएका विपक्षीको भीडले जब युवा नेता जुआन गाइदोलाई अन्तरिम राष्ट्रपति घोषणा गर्यो, यसले नै राजनीतिक संकट निम्त्याएको हो ।
तिनै सडकबाट नाम घोषणा भएका गाइदोलाई अमेरिकाले औपचारिक रुपमै समर्थन जनाएपछि यसको तरंग फैलियो ।
यता चीन, रुस, बेलायत, फ्रान्स जस्ता शक्तिशाली मुलुक नै मादुरोको पक्ष कि विपक्ष भनी दुई कित्तामा उभिए । जब कि, ती देशले भेनेजुएलाको प्राकृतिक स्रोतसाधनमा नजर राख्दै यस्ता निर्णय लिएको टिप्पणी अन्तर्राष्ट्रिय मिडियाले गरेका छन् ।
यहाँको राजनीतिबारे अर्को कोणबाट पनि टिप्पणी भएको छ । अमेरिका खासमा भेनेजुएलाका मादुरोलाई पनि लिबियाका तत्कालिन शासक मुअमार गद्धाफी जस्तै बनाउन चाहन्छ भन्ने अनुमान सतहमै आएको छ । त्यसो त अमेरिकी मिडियाले मादुरोलाई राष्ट्रपति नभनेर ‘शासक’को रुपमा सम्बोधन गरेसँगै यस्तो तर्क बलियो बन्दैआएको छ ।

शासक नै हुन् त निकोलस मादुरो ?
किशोरावस्थामा मादुरो एक सेलिब्रिटी म्युजिसियन बन्न चाहन्थे । तर रोजीरोटीको संघर्षले उनी बसको ड्राईभर बन्न पुगे । राजनीतिमा प्रवेश गर्नुभन्दा अघि उनी बस ड्रइभर नै थिए । १९५२ मा जन्मिएका उनले हाईस्कुलसम्मको मात्रै पढाइ गरे ।
सन् १९७० को दशकमा उनी ट्रेड युनियनका गतिविधिमा संलग्न हुँदै बिस्तारै राजनीतिमा प्रवेश गरेका हुन् । र १० वर्षमै आफ्नो राजनीतिक पहिचान बनाए पनि ।
ह्युगो चाभेजसँग सम्बन्ध :
समाजवादी तथा विद्रोही नेता ह्युगो चाभेजका उनी निकट नै भनी चिनिन्थे । त्यसो त चाभेजलाई जेलबाट छुटाउन मादुरोको मुख्य भुमिका थियो । चाभेज असफल सैनिक कू गरेर जेलमा थुनिएपछिको अवस्थामा मादुरोले सन् १९९४ मा उनलाई निकाल्न सहायता गरेका थिए । मादुरोकी श्रीमती स्वयं चाभेजको पक्षमा वकालत गर्ने वकिल थिइन् ।
राजनीतिक लाईन एउटै भए पनि प्रवृत्तिगत रुपमा उनीहरु फरक नै थिए । च्याभेज प्रभावशाली र सैद्धान्तिक रुपमा प्रष्ट थिए भने मादुरोमा त्यस्तो प्रभाव खड्कीरह्यो ।
तर उनै मादुरोमाथि चाभेजको हत्याको षड्यन्त्र गरेको आरोप बेला बेला लाग्दैआयो । संयोग कस्तो भने, चाभेजलाई औषधिको माध्यमबाट क्यान्सर दिएको आरोप मादुरोले अमेरिकालाई लगाइरहे । तर उनै मादुरोलाई उनकै देशका नागरिकले त्यस षड्यन्त्रमा संलग्न रहेको आरोप लगाउन थाले ।
जब कि, मादुरो र अमेरिकाबीच सम्बन्ध बिग्रनुमा यो आरोप पनि एक कारण मानिन्छ । मादुरो चाभेजको नेतृत्वकालमा परराष्ट्रमन्त्रीको रुपमा काम गरेका थिए । यस क्रममा उनले थुप्रै विदेशी नेताहरुसँग भेटेर सम्बन्ध स्थापित त गरे । तर विवादास्पद छवि पनि बनाए ।
आफ्नो कार्यकालमा थुप्रै विवादित परराष्ट्र नीति अवलम्वन गरेका थिए उनले । लिबियाको राजनीतिक संकटमा उनको प्रस्तुतिले कुटनीतिक मर्यादामा प्रश्न नै उठ्यो । ब्राजिल, कोलम्बिया लगायत छिमेकी देशसँगै सम्बन्ध बिगारेपछि उनी थप आलोचित बने । अर्को ल्याटिन अमेरिकी मुलुक क्युबासँग उनी पनि चाभेज झैँ नजिक ठानिन्छन् । साथै नेता फिडेल क्यास्त्रोको परिवारसँग समेत उनको निकट सम्बन्ध छ ।
मादुरो चाभेजका अनुयायी भए पनि उनी जस्तै कट्टर र प्रष्ट नेता भने हैनन् । आर्थिक रुपमा भेनेजुएलामा संकट निम्तिनुमा चाभेज भन्दा पनि बढी मादुरोकै भूमिका देखियो । प्रसस्त आर्थिक स्रोत हुँदा हुँदै पनि त्यसको उपभोग नगरेर उनले आफ्नो पद र शक्ति बलियो बनाउन लागे । राज्यका निकायलाई स्वतः संचालित हुने व्यवस्थालाई अस्वीकार गर्दै उनले ती निकायलाई आफूमा केन्द्रित गर्न थाले ।
फलस्वरुप लोकतन्त्रको माग समेत उठ्न थाल्यो । मादुरोको कमजोर शासन व्यवस्था र राज्यका निकायलाई आफू केन्द्रित गर्दा केही वर्षयता नै यहाँ आर्थिक संकट देखिन थालेको हो । युवाहरु देश छोड्न बाध्य भए । ३० लाख भन्दा बढीले भेनेजुएला छोडेको बताइन्छ । मादुरोकै शासनकालमा थुप्रै अस्पताल औषधि अभाव झेल्दैआएका छन् । अपराधिक गतिविधिको तथ्यांक हेर्दा संसारकै अगाडि आउँछ भेनेजुएला ।
यहाँको आर्थिक अनियमितताको असरले अमेरिका लगायत मुलुकमा समेत छोएपछि अमेरिकाले चासो खेदाएको हो । फलस्वरुप केही सातायता नै लाखौं मानिस सडकमा उत्रिएर मादुरोको राजीनामा मागे । त्यही बीचमा एकजना युवा नेता जुआन गाइदो नेताको रुपमा उदाए ।
उनलाई अमेरिकी ‘पाल्तु’भन्ने आरोप सरकारको छ । यसैले पनि उनीसँग वार्ता गर्न मादुरो तयार छैनन् । बरु सैनिक मार्चपास गरिरहेका छन् । साथै अमेरिकासँग भिड्न तयार रहेको चेतावनी दिइरहेका छन् । हालै रक्षामन्त्रीले अमेरिकालाई लड्नका लागि चेतावनी दिइसके । यसले यहाँ थप संकट निम्त्याएको छ । विपक्षीलाई पनि थप बलियो बनाउने संकेत छ । सरकारका समर्थकहरु मादुरो राष्ट्रवादी नेता ठान्दै अमेरिकासँग् लड्ने भन्दै छन् भने विपक्षीले उनी शासकमा रुपान्तरण भइसकेकोले लोकतन्त्र धरापमा परेको बताउँदै छन् । यही बीचमा संयुक्त राष्ट्रसंघ सँगै अन्य शक्तिशाली मुलुकको भूमिका र गतिविधिले यहाँको राजनीति कता मोडिन्छ भन्ने निर्धारण हुने छ ।
(एजेन्सीकाे सहायतामा)
प्रतिक्रिया दिनुहोस !