हेटौंडामा सरकारविरुद्ध कांग्रेसको विरोध प्रदर्शन
हेटौंडा : कम्युनिष्ट सरकारले अधिनायकवादी शैली प्रस्तुत गरेको भन्दै नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ। सोमबार हेटौंडाको चार स्थानबाट छुट्टाछुट्टै निकालिएको /र्याली सीमाचोकमा पुगेर विरोधसभामा परिणत भयो।
विरोध र्याली तथा कोणसभामा हजारौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो। विरोध सभामा बोल्दै नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य तथा सचेतक पुष्पा भुषालले दुई तिहाई बहुमत प्राप्त सरकारले समाजवादको नाममा अधिनायकवाद लाद्न खोजेको आरोप लगाइन्।
‘जनताले सरकार चलाउन दिएको मतको दुरुपयोग गर्दै केपी ओली नेतृत्वको सरकारले संविधान चलाउन खोजेको छ’ उनले भनिन्,‘संवैधानिक सर्वोच्चता र संसदीय सर्वोच्चतालाई स्वीकार नगरी सरकारले लोकतन्त्र कमजोर बनाउँदै लगेकाले कांग्रेसले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको हो।’
बलात्कारी, भ्रष्टाचारी, अपराधी खुलेआम हिँडिरहेको भन्दै मुलुकमा न्याय मरेको भान भएको भुषालको भनाइ थियो। कांग्रेस नेतृत्वको सरकारले तोकेको प्रदेशको अस्थायी राजधानीलाई नै स्थायी गरिनुपर्नेमा भुषालको जोड थियो।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेश नम्बर ३ का कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले दुई तिहाईको आडमा कांग्रेससँग पौठेंजोरी खोजे कम्युनिष्ट सकिन धेरै समय नलाग्ने दावी गरे।