सुनसरीका ६ स्थानमा धानजोन कार्यक्रम
धरान : सुनसरीका विभिन्न ६ स्थानलाई धान जोन कार्यक्रम क्षेत्र घोषणा गरिएको छ। संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईअन्तर्गत धान जोन कार्यक्रम सञ्चालन गरी कृषकलाई धान खेतीमा आकर्षित गर्ने भएको हो।
परियोजनाअन्तर्गत सुनसरीको दुहवी नगरपालिकाको तनमुना, पूर्वकुशाहा, गढी गाउँपालिकाको छिटाहा, रामधुनी नगरपालिकाको बक्लौरी र इटहरी उपमहानगरपालिकाको एकम्बा क्षेत्रलाई धान जोन कार्यक्रम क्षेत्र घोषणा गरिएको हो।
धान जोन कार्यक्रम क्षेत्र घोषणा गरेसँगै यस क्षेत्रका किसानले धान जोन कार्यक्रमबाट लाभान्वित हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय इनरुवाका प्रमुख वरिष्ठ कृषि विकासअधिकृत निलकमल सिंहले बताए। उनले धान जोन कार्यक्रममार्फत कृषकलाई अनुदानको बिउ, मल र धान बढी उत्पादन गर्ने विधिका बारेमा समेत प्रशिक्षण गराइने जानकारी दिए।
केही दिनअघि इनरुवाका कृषकलाई धान जोन कार्यक्रमका बारेमा जानकारी पनि गराइएको छ। धान जोन सञ्चालक समितिका संयोजक रामप्रसाद थारुले धान जोन कार्यक्रमले किसान लाभान्वित हुने भए पनि सीमित ठाउँमा मात्रै कार्यक्रम लागू भएकाले धेरै किसान यसको सुविधाबाट वञ्चित हुनु पर्ने अवस्था रहेको बताए।