भारतमा उच्च तरंगको झड्का
निर्वाचनपछि मायावतीलाई उपप्रधानमन्त्री र ममता बनर्जीलाई सत्तारुढ गठबन्धनको संयोजक बनाएर राहुल गान्धीलाई प्रधानमन्त्री बनाउन सकिन्छ भन्ने विश्वास कांग्रेस आईका चाणक्यहरूमा छ
भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको केन्द्रीय सरकारविरुद्ध कलकत्तामा धर्ना बसेपछि भारतीय राजनीतिको पारो ह्वात्तै बढेको छ। निर्वाचनपूर्व शारदा चिट फन्ड घोटाला प्रकरणमा सरकारमातहतको केन्द्रीय जाँच ब्युरो सीबीआईले कलकत्ताका प्रहरी प्रमुखलाई केरकार गर्न पुगेपछिको घटना र त्यसपछि सीबीआई टोलीलाई नै स्थानीय प्रहरीले हिरासतमा लिएको भन्ने जस्ता परिघटनाले निर्वाचनपूर्व दुर्घटनाको बादल मडारिएको आशंका व्यक्त गरिँदैछ। सीबीआईको कदमविरुद्ध ममता बनर्जी स्थानीय प्रहरीको पक्षमा मात्र होइन, मोदी सरकारले पश्चिम बंगालमा ‘संवैधानिक कु’ गर्न खोजेको आरोपसहित धर्नामै उत्रिइन्। यो घटनालाई लिएर सीबीआई सर्वोच्च अदालत पुगेको छ।
केन्द्र सरकार निर्वाचनपूर्व सीबीआईलाई औजार बनाएर विपक्षी नेताहरूविरुद्ध खनिन थालेको आरोप विपक्षीको छ जबकि अदालतको आदेशमुताबिक नै सीबीआई कारबाही अघि बढेको तर्क भारतको केन्द्रीय सत्ताले गरेको छ। विपक्षी नेताहरूलाई शिथिल बनाउन र भयादोहन (ब्ल्याकमेल) गर्न मोदी सरकारले सीबीआईको दुरुपयोग गरेको आरोप विपक्षीको छ तथापि केन्द्रीय सत्ताले यसलाई भ्रष्ट नेताहरूविरुद्ध नियमित कारबाहीको संज्ञा दिएको छ। मोदी सरकारले विपक्षी नेतृत्वको राज्य सरकारलाई सताएको आरोपसहित यसअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि धर्नामा बसिसकेका छन्। पश्चिम बंगालको घटनाले केन्द्रीय र स्थानीय निकायबीच टकराव÷द्वन्द्वको गम्भीर सिलसिला सुरु भएको छ।
सीबीआई अधिकारीहरूलाई हिरासतमा लिने÷रोकतोक गर्ने बंगाल प्रहरीविरुद्ध कठोर कदम चाल्नुपर्छ भनेर मोदीलाई भड्काउनेहरू एकातिर छन् भने अर्कोतिर सीबीआईलाई यसरी नै निषेध गर्नुपर्छ भनेर ममता बनर्जीलाई भड्काउनेहरू छन्। सन् १९७७ को इमर्जेन्सी कालको चर्चा चुलिन थालेको छ।
उत्तर प्रदेशको राजनीतिमा दुई विपरीत धु्रवमा उभिएका समाजवादी पार्टी (सपा) र बहुजन समाजवादी पार्टी (बसपा) ले आसन्न लोकसभा निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएपछि भारतीय राजनीति कोल्टे फर्केको छ। सपा र बसपाबीचको सिट तालमेलअनुसार दुवै दलले ३८÷३८ सिटमा उम्मेदवारी दिनेछन्। गठबन्धनको यो समीकरणअनुरूप मत हस्तान्तरण भयो भने सपा र बसपाको खातामा उत्तर प्रदेशमा २०१४ को भन्दा कम्तीमा ४० सिट थपिनेछ।
त्यसो हुनु भनेको भाजपाको ४० सिट घट्नु हो। त्यस अवस्थामा भाजपा सत्तारुढ हुने छैन र मोदीको दोस्रोपटक प्रधानमन्त्री बन्ने सपना तुहिनेछ। सपा र बसपा मिल्नुको पछाडि अनेकौं कारण छन्। यी दुई क्षेत्रीय दल पृथक्पृथक् प्रतिस्पर्धा गर्दा भाजपा गठबन्धनको पोल्टामा उत्तर प्रदेशका ८० मध्ये ७३ सिट परेको र फेरि पनि त्यही परिणाम नवीकरण भएमा राजनीतिक सुकुम्वासी हुने भय सपा र बसपा नेतृत्वमा व्याप्त थियो।
त्यसमाथि सीबीआईले एकातिर खनन (माइन) घोटाला उत्खनन गरी उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री एवं सपा नेता अखिलेस यादवलाई तान्न खोजेको, अर्कोतिर पूर्व मुख्यमन्त्री एवं बसपा नेतृ मायावतीलाई पनि सीबीआईले २१ वटा चिनी मिल विनिवेश (डिस इन्भेस्टमेन्ट) मामलामा डाम्न खोजेको घटनाले दुवै दललाई नजिक्याउन थाल्यो। सन् १९९३ मा भाजपाको प्रभाव रोक्न सपा र बसपाबीच उत्तर प्रदेश विधानसभा निर्वाचनमा तालमेल भएको थियो। परिणामस्वरूप सपा प्रमुख मुलायमसिं यादव (अखिलेस यादवका पिता) मुख्यमन्त्री बने। तर मायावतीले भाजपासँग मिलेर सत्ता हत्याउन खोजेको आशंकामा मुलायम मायावतीप्रति कठोर बन्न पुगे।
अहिले भारतको राजनीतिक परिदृश्य हेर्दा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित साह अधैर्यमा देखिन्छन्। रामको नाम लिएर राजनीतिको सिँढी चढेको भाजपाको ‘वनवास’ योग प्रारम्भ भएको प्रतीत हुन थालेको छ। भाजपाका पुराना खेलाडी लालकृष्ण आडवाणी दशरथको भूमिकामा छन् वा दुर्योधनको अत्तोपत्तो छैन।
२ जुन १९९५ का दिन सपाको एउटा उग्र जत्थाले मायावतीले बैठक गरिरहेको लखनउस्थित अतिथि गृहमा आक्रमण र हुलहुज्जत गरेपछि सपा र बसपाबीचको सम्बन्ध चिसिएन मात्र, जम्न नै पुग्यो। २४ वर्षको अन्तरालमा गंगा र गोमतीमा अनेकौं ढल मिसिएपछि र थुप्रै पानी बगेपछि जनवरी २०१९ मा शत्रुको शत्रु मित्र हुन्छ भन्ने कथनलाई चरितार्थ गर्दै सपा र बसपाबीच तालमेल भएको थियो। राष्ट्रहितका लागि अतिथि गृह काण्ड बिर्सिएको मायावतीले बताएकी छन् जबकि यो गठबन्धनले अपेक्षा गरेजस्तो परिणाम आयो भने ठूलै पद हात पर्ने आशासहित मायावती मक्ख छिन्।
यो तालमेलले भाजपालाई यसरी पोल्यो कि भाजपा अध्यक्ष अमित शाह ताप्केमा परेको भ्यागुतोजस्तो बुद्रुक्क उफ्रेर निन्दोचर्चोमा उत्रिए अनि प्रधानमन्त्री मोदी पनि कतिपय प्रसंगमा प्रधानमन्त्री पदको गरिमाविपरीत टिप्पणी गर्न थाले। गठबन्धनपछि मायावतीलाई बुआ (फुपू) र अखिलेश यादवलाई बउवा (भदाहा) का रूपमा चित्रित गर्दै कतिपयले उडाए त कतिपयले प्रशंसा गरे।
जति उडाए पनि गठबन्धनको प्रभाव देखिन थालेपछि भाजपा नेताहरूको निद्रा खलबलिन थालेको हो। उत्तर प्रदेशमा सपा बसपा गठबन्धन हुनुअघि मायावतीलाई रत्तिभर नगन्ने भाजपा नेताहरू मायावतीलाई सोमबारे प्रधानमन्त्री भन्न थालेका छन्। अमित शाहका अनुसार अखिलेशसमेत बुधबारे प्रधानमन्त्री हुन अर्थात् गैरभाजपा सरकार बने आइतबारबाहेक हरेक दिन प्रधानमन्त्री फेरिने र भाजपाको सरकार बने स्थिरता हुने तर्क भाजपाले अघि सारेको छ।
यही सेरोफेरोमा प्रधानमन्त्री पदको अर्को आकांक्षी तृणमूल कांग्रेस प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले जनवरी १९ मा कलकत्तामा महागठबन्धनको महार्याली आयोजना गरेपछि भाजपाको सातोपुत्लो उडेको बताइन्छ। उक्त र्यालीमा कांग्रेस आई अध्यक्ष राहुल गान्धी र बसपा प्रमुख मायावती उपस्थित नहुनुलाई प्रधानमन्त्री पदमा दुवैको दाबेदारी कारण भनिए पनि दुवै नेताले र्यालीमा आफ्ना खास प्रतिनिधिलाई पठाएका थिए र सो र्यालीमा भाकपा माक्र्सवादीबाहेक प्रायः सबै विपक्षी दलका नेताहरूको प्रतिनिधित्व थियो।
विकसित राजनीतिक परिदृश्यमा निर्वाचनपछि भाजपा सत्तामा पुग्ने सम्भावना न्यून छ। राहुल गान्धी, ममता बनर्जी र मायावती जो प्रधानमन्त्री बने पनि भारतले अविवाहित प्रधानमन्त्री पाउनेछ। त्यसो त तेलंगानाका मुख्यमन्त्री के चन्द्रशेखर रावजस्ता क्षेत्रीय खेलाडी पनि सन् १९९६ मा देवेगौडालाई चिट्ठा परेजस्तो मुख मिठ्याएरै बसेका छन्। उता आन्ध्र प्रदेशमा वाईएसआर कांग्रेस पार्टीको उर्लंदो प्रभाव हेर्दा त्यसका नेता जगमोहन रेड्डी किङ नभए पनि किङमेकर बन्न सक्ने आकलन हुन थालेको छ। विपक्षीबाट प्रधानमन्त्रीको साझा उम्मेदवार तय नभए पनि भाजपा सत्तारुढ हुन नसक्ने निचोडसहित विपक्षीको उत्साह उर्लंदो छ। निर्वाचनपछि मायावतीलाई उपप्रधानमन्त्री र ममता बनर्जीलाई सत्तारुढ गठबन्धनको संयोजक बनाएर राहुल गान्धीलाई प्रधानमन्त्री बनाउन सकिन्छ भन्ने विश्वास कांग्रेस आईका चाणक्यहरूमा छ।
कुनै बेला भारतको क्षेत्रीय राजनीतिमा तीनजना महिला नेतृहरूको दबदबा थियो। यसमध्ये बंगालकी ममता बनर्जीलाई सरस्वती, उत्तर प्रदेशकी मायावतीलाई दुर्गा र तमिलनाडुकी जयललितालाई लक्ष्मीका रूपमा स्तुति गर्ने थुप्रै समर्थकहरू थिए। त्यो कालखण्डमा केन्द्रीय राजनीतिमा सोनिया गान्धीको वन्दना गर्न र आरती उतार्न समर्थकहरूमाझ होडबाजी थियो। अहिले भौतिक रूपमा जयललिताको अवशान भइसकेको छ भने प्रियंका गान्धीमा इन्दिरा गान्धीको प्रतिविम्ब देख्नेहरू प्रियंका स्तुति गाथा गाउन थालेका छन्। पूर्वी उत्तर प्रदेशको प्रभारी बनाउँदै कांग्रेस आईको एउटा महासचिवमा प्रियंकाको नियुक्तिलाई राहुलपछि प्राधिकारसहित उत्तराधिकारका रूपमा लिइएको छ।
ममता र मायावती क्षेत्रीय राजनीतिमा गहिरो जरा भएका जमिनसँग जोडिएका नेत्री हुन्। समर्थक तथा शुभचिन्तकहरू श्रद्धासहित मायावतीलाई ‘बहन’ (बहिनी) र ममता बनर्जीलाई ‘दिदी’ भनेर सम्बोधन गर्छन्। उमेरमा पनि मायावतीभन्दा ममता बनर्जी एक वर्ष जेठी हुन्। पश्चिम बंगालमा सन् २०११ मा भएको विधानसभा निर्वाचनमा ‘माँ माटी मानुष’ को नारासहित सुरु भएको ममताको विजय रथ निरन्तर अगाडि बढिरहेको छ।
पश्चिम बंगालमा ३४ वर्ष लामो भाकपा माक्र्सवादीको वर्चश्वलाई निमिट्यान्न पारेकी ममतालाई विपक्षको साझा नेता बन्नमा भाकपा माक्र्सवादी वाधक छ। विद्वताका साथसाथै ममताको छवि ‘लडाकु राजनीतिज्ञ’ को रूपमा पनि छ, जो एउटा मोर्चामा भाकपा माक्र्सवादीसँग र अर्को मोर्चामा भाजपासँग निरन्तर लडिरहेकी छन्। चारपटक उत्तर प्रदेशको मुख्यमन्त्री भइसकेकी जुझारु नेत्री मायावतीमा अझै पनि युवावयमा जस्तो जोस र जाँगर देखिन्छ। दुवै नेतृहरू क्षेत्रीय राजनीतिबाट केन्द्रीय राजनीतिको मियो बन्ने दिशामा आग्रसर छन् र दुवैको प्रधानमन्त्री बन्ने सपना लुकेको छैन।
दिनप्रतिदिन अत्तालिँदै गएको भाजपाले निर्वाचनमा नारा ‘स्थिर सरकार’ को दिए पनि एउटा हातले ‘मन्दिरको घण्ट’ बजाउन र अर्को हातले सीबीआईमार्फत विपक्षी नेताहरूको कान समाउन थालेको छ जबकि राफेल घोटाला प्रकरणका कारण मोदी सरकारप्रति औंला ठडिएको अवस्था अहिले छ।
उता यादवहरू यदुवंशी जस्तो आपसमा लड्ने क्रम जारी छ। उत्तर प्रदेशमा ‘बउवा’ अखिलेशले ‘बुआ’ मायावतीलाई केन्द्रीय राजनीतिमा सहयोग गरेर सन् २०२२ मा उत्तर प्रदेशमा पुनः मुख्यमन्त्री बन्ने सपना सजाएका छन्। तर काका शिवपाल सिंह यादवले अर्को पार्टी बनाएका मात्र छैनन्, सपा बसपा गठबन्धनमा नअटाएका उम्मेदवार आकांक्षीहरूलाई मैदानमा उतारेर अखिलेशको राजनीति निमिट्यान्न पार्ने ध्याउन्नमा छन्।
चारा घोटालामा बन्दी बनाइएका राष्ट्रिय जनता दल (राजद) का मुखिया लालु यादवका छोराहरू बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव र पूर्वमन्त्री तेजप्रताप यादव यदुवंशीजस्तै आपसमा मारामार गर्दैछन्। अहिले भारतको राजनीतिक परिदृश्य हेर्दा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित साह अधैर्यमा देखिन्छन्। रामको नाम लिएर राजनीतिको सिँढी चढेको भाजपाको ‘वनवास’ योग प्रारम्भ भएको प्रतीत हुन थालेको छ। भाजपाका पुराना खेलाडी लालकृष्ण आडवाणी दशरथको भूमिकामा छन् वा दुर्योधनको अत्तोपत्तो छैन।
हिन्दीमा एउटा कथन छ, ‘चौवे छब्बे बन्न गएका थिए, दुवे भएर फर्किए।’ सन् २०१७ मा उत्तर प्रदेशमा मुख्यमन्त्री के भएका थिए, योगी आदित्यनाथ यसरी उत्ताउलिए कि नेपालमा दाहसंस्कार भइसकेको राजतन्त्र ब्युँताउन सल्बलाउन थाले। तीन महिनापछि भारतको केन्द्रीय सत्ताबाट र तीन वर्षपछि उत्तर प्रदेशको सत्ताबाट विस्थापित भयो भने भाजपा र अदित्यनाथका हकमा उपरोक्त कथन अझ सान्दर्भिक हुनेछ।