किमाथांका नाकामा भन्सार नहुँदा हैरान
खाँदबारी : संखुवासभा भोटखोला गाउँपालिका-२ का सोप्पा भोटेले चीन पुगेर चौंरीका ६० वटा पुच्छर खरिद गरे। तर, भन्सार नतिरी नेपाल ल्याउन नपाइने भएपछि उनी यसका लागि ५० कोश टाढा रहेको सदरमुकाम खाँदबारी आउनुपर्यो। उनले दुई साता त आयात प्रक्रिया पूरा गर्न खर्चिए। ३ हजार २ सय ५४ रुपैयाँ शुल्क बुझाएपछि उनले चौंरीका पुच्छर ल्याउन पाए। उनले चौंरीका पुच्छर सीमामा ल्याएर राखेका थिए।
भन्सार तिर्न किमाथांका-खाँदबारी आउजाउ गर्दा १५ हजारभन्दा बढी खर्च भएको उनले सुनाए। ‘चौंरीका पुच्छर नेपाल-चीन सीमा नाकामा राखेर भन्सार शुल्क बुझाउन सदरमुकाम खाँदबारी आएँ’, उनले भने, ‘धेरै दुःख खेप्नुपरिरहेको छ।’ नाफा आउनजानमै सकिएको उनको भनाइ छ।
नाकामा रहनुपर्ने किमाथांका भन्सार कार्यालय १७ वर्षदेखि सदरमुकामबाटै सञ्चालन भइरहेको छ। एक साताको अवधि राखेर प्रज्ञापनपत्र दिएपछि भोटेले चौंरीका पुच्छर आयात गरी सुनसरी, मोरङ र झापा पुर्याएर बिक्री गरे। ‘खाँदबारी-किमाथांका गर्न ६ दिन लाग्छ’, उनले भने, ‘आयात गर्ने सामानको म्याद भने एक साता दिन्छन्।’
मकालु गाउँपालिकाका देवी घिमिरेले ढुंगा फुटाउने सानो औजार चीनमा खरिद गरे। खाँदबारीमा रहेकी छिमेकी लप्ची शेर्पालाई उनले भन्सार शुल्क बुझाउन लगाए। भन्सार शुल्क दाखिला गरेको प्रज्ञापनपत्र उनले जिल्ला प्रहरी कार्यालयमा लगेर बुझाइदिइन्। जिल्लाले सीमा प्रहरी कार्यालय किमाथांकालाई प्रज्ञापनपत्रमा भएको विवरणको जानकारी गरायो। त्यसपछि घिमिरेले सामान आयात गर्न पाए।
किमाथांका नाकामा भन्सार कार्यालय पुनःस्थापना हुन नसक्दा स्थानीयले सास्ती बेहोर्नुपरिरहेको छ। चीनबाट आयात गर्नुपरे एक साता समय खर्चिएर भन्सार शुल्क बुझाउन खाँदबारी पुग्नुपर्ने भोटखोला गाउँपालिका अध्यक्ष ठिलेन खम्बाले बताए। ‘आयात गर्ने सामानको भन्सार बुझाउन जाँदा-आउँदा एक साता लाग्छ’, उनले भने, ‘खाँदबारी-किमाथांका आउजाउ गर्दा तथा काम सकिएसम्म बस्नुपर्दा एक जनाको १५ हजारभन्दा बढी खर्च हुन्छ।’
भन्सार कार्यालय पुनःस्थापना गरी प्रज्ञापनपत्र सीमा क्षेत्रबाटै दिलाउनुपर्ने स्थानीयको माग छ। राजस्व सदरमुकाममा बुझाए पनि प्रज्ञापनपत्र भने सीमामै उपलब्ध गराए केही राहत पुग्ने भोटखोला-३ का छिरिङ भोटेले बताए। ‘जतिसक्दो चाँडो भन्सार कार्यालय सीमामै स्थापना हुनुपर्यो’, उनले भने, ‘तत्काल भन्सार लैजान नसके पनि अस्थायी रूपमा त्यहींबाट प्रज्ञापनपत्र दिने व्यवस्था गरिनुपर्छ।’ भन्सार नतिरी सामान आयात-निर्यात गर्दा प्रहरीले पक्राउ गर्ने उनको भनाइ छ।
चौपाया, खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक, जडीबुटीलगायत सामान आयात-निर्यात गर्ने गरिएको छ। गाउँपालिका अध्यक्ष खम्बाका अनुसार भोटखोला अति दुर्गम क्षेत्र हो। किमाथांका, चेपुवा, हटिया, च्याम्ताङ, चेपुवा, रिदाक, थुदामलगायत क्षेत्रका बासिन्दाले दैनिक उपभोग्य वस्तुका लागि चीनको भर पर्नुपर्छ। भन्सार बुझाउन भने खाँदबारी आउनुपर्छ।
चौंरीको पुच्छर सबैभन्दा बढी (८० प्रतिशत) आयात हुने गरेको भन्सारले जनाएको छ। नेपालबाट चिराइतोलगायत जडीबुटी चीनतर्फ निर्यात हुने गरेको छ। पछिल्लो समय ४ हजार ८ सय किलो चिराइतो निर्यातबापतको राजस्व प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार प्रमुख परासर दाहालले नाकामा बैंक नभएसम्म कार्यालय पुनःस्थापना गर्न सक्ने अवस्था नरहेको बताए। क्वारेन्टाइन कार्यालयसमेत स्थापना नभए नाकामा लगेर कार्यालय सञ्चालनको औचित्य नहुने उनको भनाइ छ। ‘अहिलेकै अवस्थामा भन्सार कार्यालय सञ्चालन गर्ने हो भने पनि राजस्व तिर्न खाँदबारी आउनुपर्ने भएकाले स्थानीयले अझै दुःख पाउँछन्’, उनले भने, ‘भन्सार सञ्चालनकै लागि ३ सय रोपनी जग्गा आवश्यक पर्छ।’
किमाथांकासम्म सडक विस्तार अघि बढ्दै गर्दा त्यस क्षेत्रमा चहलपहल बढेको छ। सीमा प्रशासन र भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ। यो भन्सारमा २०७२÷७३ मा ५ लाख र ०७३÷७४ मा ५ लाख १५ हजार राजस्व संकलन भएको थियो। २०७४÷७५ मा १० लाख ५० हजार र पछिल्लो ६ महिना ८ लाख १० हजार राजस्व जम्मा भइसकेको दाहालले बताए। किमाथांकामै भन्सार लैजान सके राजस्व संकलन चार गुणा बढ्ने कर्मचारीको अनुमान छ।
राजस्व संकलन अवस्था
वर्ष राजस्व
०७२÷७३ ५ लाख
०७३÷७४ ५ लाख १५ हजार
०७४÷७५ १० लाख ५० हजार
पछिल्लो ६ महिना ८ लाख १० हजार