‘रिमेम्बर हिस्ट्री’ मिथकमाथि दृश्य चित्र
काठमाडौं : पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् भनेर हामीलाई बाल्यकालदेखि नै रटाइँदै आएको छ। बाइसेचौबीसे राज्य जोडेर विशाल नेपाल निर्माण गरेको श्रेयस्वरूप उनको नाम ससम्मान इतिहासमा लेखिएको छ। काठमाडैां उपत्यकाको कीर्तिपुरसँग जोडेर पृथ्वीनारायण शाहबारे विविध किंवदन्ती पनि प्रचलित छन्। उनीसँगै कीर्तिपुरवासीका अनेक किस्सा र मिथक पनि जोडिएका छन्। नेपाल एकीकरणका बेला शाहले कीर्तिपुरमाथि पटकपटक हार बेहोरेको कुरा इतिहासमा पढ्न पाइन्छ।
कीर्तिपुरवासीका लागि भने पृथ्वीनारायण शाह पुर्खालाई अमानवीय व्यवहार गर्ने एक शासक मात्रै लाग्छन्। पृथ्वीनारायण शाहको कामको चर्चासँगै उनले एकीकरणका बेला कीर्तिपुरवासीको नाक, कान काटेर अमानवीय व्यवहार गरेको कथा पनि बेलाबेला उठ्ने गर्छ। उनीपछिका शाह राजाहरू कीर्तिपुर प्रवेश नै गरेनन् भन्ने मिथक पनि छ।
यस्तै किंवदन्ती सुनेर पाटनको कुमारीपाटीमा हुर्किएकी हुन् सुप्रिया मानन्धर। पेसाले उनी आर्ट डिजाइनर हुन्। नेपाल, भारत र अमेरिकामा रहेका विश्वविद्यालयमा समेत उनले आर्टका विविध आयामको अध्ययन गरेकी छन्। रहरसँगै जिम्मेवारीका रूपमा उनले चित्रकारिता बुझेकी छन्।
दुई वर्षअघि सुप्रियाले एउटा डिजिटल चित्र सार्वजनिक गरिन्। चित्र अलि फरक खालको थियो। पृथ्वीनारायण शाहजस्ता देखिने एक व्यक्ति राजगद्दीमा बसेका छन्। जताततै युद्धको भयावह स्थिति छ। मानिसहरू भागाभाग गरिरहेका छन्। राज्यका सुरक्षाकर्मी जनतालाई हतियार र गोली ताकिरहेका छन्। नाक र ओठ ताछिएका केही वयस्क पुरुष आमासँग विलाप गरिरहेका छन्। गद्दीको छेउमा घोप्टो परेर एक बालिका किताबमा केही पढिरहेकी छन्। उनलाई कसैले टाउकोमा समातेर जबर्जस्ती शाहवंशबारे पढाएको छ। किताबको पानामा लेखिएको छ, ‘ग्रेट लिडर एन्ड सिम्बोल अफ युनिटी’ अर्थात् महान् नेता र एकताका प्रतीक।
बच्चाबेलादेखि नै सुप्रिया अरूभन्दा फरक सोच्ने गर्थिन्। स्कुलकी अब्बल विद्यार्थी थिइन् हुन् उनी। कक्षमा पढाएका गणितका सूत्र हुन् कि विज्ञानका सिद्धान्त उनले मनमनै दृश्य बनाउँथिन्। उनलाई ‘भिजुअल एक्सप्रेसन’ मा औधि रुचि थियो। हरेक चिजलाई मनमनै दृश्य बनाउँथिन् र आफंैभित्र फिल्म बनाएर बुझ्निे गर्थिन्। भन्छिन्, ‘शिक्षकले इतिहासका कथा सुनाइरहँदा म भने त्यसको दृश्य बनाइरहन्थे।’
एसएलसीपछि परिवारबाट उनलाई डाक्टर, इन्जिनियरजस्ता विषय पढ्न दबाब थियो। उनले घरमा विद्रोह गरेर आर्टमा भर्ना भइन्। उनी आर्टमै ब्याचलर गर्न भारत पुगिन्। आर्ट एजुकेसनमा मास्टर्स गर्न अमेरिका पुगिन्। त्यहाँ उनले आर्टका विविध पक्ष सिक्ने र बुझ्ने मौका पाइन्। भिजुयल आर्टमा उनी विशेष रुचि राख्छिन्। यसैको माध्यमबाट उनी अनगिन्ती चित्र बनाइरहेकी छन्।
‘रिमेम्बर हिस्ट्री’ नाम दिइएको उक्त चित्र उनले वर्षौंपछिको खोज र अनुसन्धानपछि कोरेकी हुन्। यो चित्रले उनले अनगिन्ती गालीका साथ केही ताली पनि पाइन्।
हरेक पृथ्वी जयन्तीको समयमा यो चित्रले सामाजिक सञ्जालमा चर्को बहस चलाउने गर्छ। उनले चाहेकी पनि त्यही नै थिइन्। आफ्नो चित्रले एउटा डिस्कोर्सको उठान गरोस्, सबैले छलफल गरून् भन्ने लाग्थ्यो उनलाई। किन त ? ‘एक व्यक्ति तथा शासकलाई सधैंभरि आइडललाइज गरेर राख्ने, त्यो पनि राजतन्त्र हटिसकेको बेलामा। त्यसमा पनि वनसाइडेड इतिहासको आधारमा। यसको आलोचना कसरी गर्ने र अन्यलाई यो विषयमा कसरी प्रवेश गराउने भन्ने चाहन्थे म। यसको उत्तरस्वरूप यो चित्र कोरिएको हो’, उनले स्पष्टीकरण दिइन्। उनी भन्छिन्, ‘आर्ट सुन्दर भएर मात्रै हँुदैन, यसले सामाजिक सन्देश बोक्नु जरुरी छ। आर्टले समाजको मुद्दालाई कसरी उठाएको छ त्यो महत्वपूर्ण कुरा हो।’ ‘जित्नेले त जसरी जिते भनेर लेखे पनि भयो ? हार्नेले कसरी किन हार्यो भन्ने कोणबाट किन इतिहास लेखिन्न त ? ’ उनी बेलाबेला प्रश्न गर्छिन्।
उनले नेपाल, भारत र अमेरिकामा केही सामूहिक चित्रकला प्रदशनी गरेकी छन्। चित्रकलामा कुची चलाउने, हातले रङ भर्ने भन्दा पनि डिजिटल मिडियाको माध्यमबाट चित्र कोर्ने गर्छिन् उनी। वैकल्पिक विचार राख्न चित्र अत्यन्तै उपयुक्त माध्यम हो भन्ने लाग्छ उनलाई। हजारौं शब्दले बुझाउन नसकेको हाम्रो विचारलाई एउटै चित्रबाट सजिलै देखाउन सकिन्छ।