प्रश्नले घेरिए गृहमन्त्री

प्रश्नले घेरिए गृहमन्त्री

काठमाडौं : ‘निर्मला पन्तका हत्यारा बालुवाटार र सिंहदरबारका कुर्सीमा पो छन् कि ? ’ कांग्रेस सांसद डिला संग्रौलाले ‘आक्रोशपूर्ण व्यंग्यात्मक’ प्रश्न राख्दा गृहमन्त्री रामबहादुर थापाले अप्ठ्यारो महसुस गरेका देखिन्थे।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको झन्डै ६ महिना पुग्दा पनि हत्यारा कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला बुधबार गृहमन्त्री थापालाई सांसदले यही प्रश्न तेस्र्याए। मन्त्रीहरूसँग सांसदका प्रश्नोत्तर कार्यक्रमअन्तर्गत थापाले निर्मला घटनाबारे ‘रेडिमेड’ जवाफ फर्काए, ‘अनुसन्धान जारी छ।’ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वयं गृहमन्त्री थापाले निर्मलाका हत्यारा पत्ता लाग्ने भनी ‘दिन, बार तोके’ पनि अझै किन पत्ता लगाउन नसकेको भन्दै सांसदले आक्रोश पोखेका थिए।

गृहमन्त्री थापाले भने ९६ प्रतिशत अपराधका घटनामा सरकार सफल भएको दाबी गरे। ४ प्रतिशत घटनाका अपराधीलाई कानुनी कठघरामा ल्याउन सरकार प्रयत्नशील रहेको उनको भनाइ छ। सांसद संग्रौलाले निर्मलाका हत्यारा ‘बालुवाटार कि सिंहदरबारका कुर्सी’मा भनी सोधेको प्रश्नको जवाफमा गृहमन्त्री थापाले भने, ‘बालुवाटार र सिंहदरबार जतासुकै भए पनि अपराधीलाई कठघरामा ल्याइनेछ।’

कतिपय घटनाले समय लिने गरेकोतर्फ ध्यान दिन गृहमन्त्री थापाले सदनको ध्यानाकर्षण गराए। उपप्रधान तथा रक्षामन्त्री पोखरेलले ५ दिनभित्र निर्मलाका हत्यारा पक्राउ गर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएको लामो समय बितेको र त्यसबारे सरकारको आधिकारिक धारणा स्पष्ट गर्न कांग्रेसका सांसद गगन थापाले गृहमन्त्रीसँग माग गरे। गृहमन्त्री थापाले पोखरेलको बचाउ गरे। ‘अपराधीलाई ५÷१० दिनभित्र पक्राउ गर्नुपर्छ भन्ने स्पिरिटका साथ उहाँ (पोखरेल)ले भन्नुभएको होला’, गृहमन्त्री थापाले जवाफ दिए, ‘रक्षामन्त्रीले बोल्नुभएको विषयमा गृह मन्त्रालयलाई ठोस जानकारी छैन।’

कांग्रेसका अर्का सांसद दिलेन्द्र बडूले पूरक प्रश्न गरे, गृहमन्त्री थापालाई। ‘९६ प्रतिशत अपराधी समातिए। बाँकी ४ प्रतिशत कहिले कानुनी दायरमा आउँछन् ? ,’ बडूले प्रश्न गरे, ‘अनशनमा बसेकालाई धम्क्याउने काम किन भइरहेको छ ? ’ जवाफमा गृहमन्त्री थापाले अनशनमा बसेकालाई धक्याएको भन्ने सूचना आफूलाई नभएको बताए। पीडितले न्यायका लागि अनशन बस्न सक्ने भन्दै गृहमन्त्री थापाले अपराधीलाई कानुनको दायरामा ल्याएर शतप्रतिशत सफलता हासिल गर्ने प्रयत्न भइरहेको प्रतिक्रिया दिए।

राप्रपाका सांसद राजेन्द्र लिङदेनले निर्मलाका हत्यारा पत्ता लागिसकेको भनेर स्वयं गृहमन्त्रीले नै सार्वजनिक अभिव्यक्ति दिएको भन्दै शंकास्पद व्यक्तिलाई पक्राउ गर्दैमा, साविति बयान दिँदैमा अपराधी भन्न नमिल्ने बताए।

कांग्रेसकी सुजाता परियारले अनुसन्धान जारी छ भनेर मात्र नपुग्ने भन्दै हत्यारा कहिले पक्राउ पर्छन् भनी प्रश्न गरिन्। ‘जे भइरहेको छ, त्यही भन्ने हो’, गृहमन्त्री थापाले भने, ‘हत्यारालाई कानुनी दायरामा ल्याउन सरकार प्रयत्नशील छ। कतिपय यस्ता घटनामा वर्षौं समय पनि लाग्न सक्छ।’ सत्तासीन नेकपाका सांसद महेश बस्नेतले भने ९६ प्रतिशत अपराधीलाई पक्राउ गर्न सरकार सफल भए पनि निर्मला हत्याकाण्ड मानवअधिकारवादी र मिडियाका लागि मागिखाने भाँडो र प्रतिपक्षलाई राजनीति गर्ने विषय भएको आरोप लगाए। यस्तै गृहमन्त्री थापालाई कांग्रेसका सांसद रामबहादुर विष्टले करिब ७ महिनाअघि अछामको मंगलसेनमा हत्या भएका नवराज विष्टका हत्यारा पक्राउ गर्न नसकेकोबारे प्रश्न गरेका थिए। गृहमन्त्री थापाले उक्त घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

कांग्रेसका विष्टले ‘अनुसन्धान गरिराख्ने, तर अपराधी पत्ता नलाग्ने’ भन्दै पूरक प्रश्नमार्फत आक्रोश पोखे। गृहमन्त्री थापाले अपराधी पत्ता नलागेको विषयमा माननीयको चित्त बुझाउने जवाफ मात्र दिएर नपुग्ने भन्दै धैर्य गर्न आग्रह गरे। कांग्रेसका राजेन्द्र केसीले पनि गृहमन्त्री थापासँग पूरक प्रश्न सोधेका थिए।

सत्तासीन नेकपाका घनश्याम खतिवडाले साउन २९ गते मोरङको        श्रीमाविको खानेपानीको टंयाकीमा विषादी हालेर विद्यार्थी बिरामी बनाउनेलाई किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका थिए। गृहमन्त्री थापाले उक्त घटनामा पनि अनुसन्धान भइरहेको जवाफ दिए। सांसद खतिवडाले अपराधी नउम्किऊन् भन्दै प्रयत्न जारी राख्न गृहमन्त्रीको ध्यानाकर्षण गराए। कांग्रेसका डा. मीनेन्द्र रिजालले चार वटा मुख्य घटनालाई पर राखेर ९६ प्रतिशत सफलता भएको भन्ने गृहमन्त्रीको भनाइप्रति व्यंग्य गरे।

विषादी प्रयोग घटेको दाबी

कृषिमन्त्री चक्रपाणि खनालले फलफूल र तरकारीमा विषादीको प्रयोग घटदो मात्रामा रहेको बताए। कांग्रेसका सांसद रामबहादुर विष्टले बजारमा पाइने तरकारी र फलफूल ढुक्कले कहिलेबाट खान पाइन्छ भनी कृषिमन्त्री खनाललाई प्रश्न गरेका थिए। ६ महिनाअघि ७ सय नमुना परीक्षण गर्दा २ वटा मात्र खान अयोग्य भेटिएको भन्दै कृषिमन्त्री खनालले जापान र कोरियाभन्दा नेपालमा कम विषादीको प्रयोगको भइरहेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.