ड्राइभरलाई ड्रेस

ड्राइभरलाई ड्रेस

इटहरी : प्रदेश १ का सवारी साधन चालक तथा सहचालकले पोसाक (ड्रेस) लगाउनुपर्ने भएको छ। ट्राफिक प्रहरीले फागुन १५ देखि यो नियम लागू गर्न लागेको हो। चालकले पहेंलो र सहचालकले हरियो रंगको हाफ ज्याकेट पोसाकका रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ। यो पोसाक राति टल्किने भएकाले परबाटै चिन्न पनि सबैलाई सजिलो हुने जनाइएको छ। काठमाडौं उपत्यकामा ट्याक्सी चालकका लागि पोसाक व्यवस्था गरिएको छ।

चालकलाई अनुशासित र मर्यादित बनाउन नियम बनाइएको प्रदेश ट्राफिक प्रमुख एसपी रविराज पौडेलले बताए। उनका अनुसार पोसाक नलगाउनेलाई लापरवाही गरेको कसुरमा ५ सय रुपैयाँसम्म जरिवाना तिराइनेछ। ‘पोसाक लगाउनै पर्ने नियम बनाइएको हो’, उनले भने, ‘पोसाक लगाएपछि सवारी साधनमा काम गर्नेमा पेसाप्रतिको सचेतता बढ्छ। यसले जिम्मेवारी पनि बढाउँछ।’

त्यसपछि चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गर्ने क्रमसमेत रोकिने उनको भनाइ छ। ‘पोसाकबाटै चालक वा सहचालक हो भनेर सबैले चिन्छन्’, उनले भने, ‘सबैले चिन्ने भएकाले उनीहरूले यात्राका क्रममा जथाभावी गर्न पनि पाउँदैनन् र गर्ने आँट पनि गर्दैनन्।’ सवारी साधन चलाएका बेला कहीं बसेर मादक पदार्थ सेवन गरे यात्रुले ट्राफिकलाई जानकारी दिने उनको भनाइ छ।

धेरैजसो देशमा सार्वजनिक सवारीका चालकले पोसाक लगाउनुपर्ने नियम रहेको उनले सुनाए। एउटा पोसाकको ३ सय रुपैयाँ मात्र पर्ने हुँदा यातायात व्यवसायीलाई आर्थिक भार नपर्ने उनले बताए। प्रदेश १ मा १२ हजारभन्दा बढी चालक छन्। ट्राफिक व्यवस्थापनमा चालक तथा यात्रुसमेत सचेत हुनुपर्ने उनको भनाइ छ।

यसअघि क्षेत्रीय ट्राफिक प्रहरीले जेब्रा क्रसिङबाट स्टप लेखिएको प्लेकार्ड लिएर बाटो काट्नुपर्ने नियम बनाएको थियो। अनुगमन नहुँदा प्लेकार्ड हराएका थिए। पोसाकसम्बन्धी नियम लागू गरेपछि नियमित अनुगमन गरिने उनले बताए। चालकले अनिवार्य जुत्ता लगाउनुपर्ने नियम उनले ल्याएका थिए। सवारी साधन चलाएका बेला सबै चालकले जुत्ता लगाउने गरेको दाबी उनले गरे। उनका अनुसार राजमार्गछेउ रक्सीका होर्डिङ बोर्डलाई हटाइएको र ट्र्याक्टरमा यात्रु ओसार्न निषेध गरिएको छ।

यातायात व्यवसायीले पोसाकसम्बन्धी नियमलाई सकारात्मक भनेका छन्। ‘यसले ड्राइभरको पहिचान खुल्छ’, सप्तकोसी बस व्यवसायी संघका अध्यक्ष तिलक राईले भने, ‘उनीहरू सचेत पनि हुन्छन्। हामी सहयोग गर्न तयार छौं।’

टिपरलाई कडाइ

ट्राफिकले टिपर अनुगमनमा कडाइ गरेको छ। मोरङको सुन्दरहरैंचामा टिपरको ठक्करबाट बालिकाको ज्यान गएपछि टिपरलाई कडिकडाउ गर्न माग उठेको थियो। लगत्तै टिपर सञ्चालन बिहान ९ देखि ११ बजे र दिउँसो ३ देखि ५ बजेसम्म बन्द गर्ने निर्णय भएको थियो। उक्त समयलाई कडाइका साथ पालना गराइएको एसपी पौडेलले बताए। ‘यो सबै जिल्लाका सुरक्षा निकाय बसेर गरेको निर्णय हो’, उनले भने, ‘अलिअलि आन्दोलनले केही फरक पार्दैन।’ नियम उल्लंघन गर्ने टिपरलाई तत्काल कारबाहीको दायरामा ल्याउन थालिएको उनले सुनाए।

जरिवाना बैंकमा जम्मा

ट्राफिकले बैंकिङ प्रणालीबाट जरिवाना संकलन गर्ने तयारी थालेको छ। उपत्यकाका तीन जिल्लामा लागू भएको यो नियम यता पनि लागू गर्न लागिएको हो। सुनसरी, मोरङ र झापाका लागि आदेश माग गरिसकिएको उनले सुनाए। प्रदेश ट्राफिकले मासिक डेढ करोड रुपैयाँ हाराहारीमा जरिवानाबापत राजस्व संकलन गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.