एक सातामा भारतबाट एक सय ७७ नेपालीको उद्धार
काठमाडौं : भारतीय प्रहरीले मणिपुरस्थित इम्फालबाट एक सातामा एक सय ७७ नेपालीको उद्धार गरेको छ। उद्धार हुनेमा एक सय ४७ जना महिला र ३० पुरुष छन्।
गत शुक्रबारदेखि सुरु भएको भएको उद्धार अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको भारतीय प्रहरीको भनाइ छ।
वैदेशिक रोजगारीको बहानामा मानव बेचबिखनका लागि ओसारपसारमा संलग्न आठ बिचौलियालाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक महिला छन्।
माइती नेपालले दिल्ली महिला आयोगलाई दिएको सूचनाको आधारमा सबैभन्दा पहिले दिल्लीबाट ६ महिलाको उद्धार गरिएको थियो।
त्यसपछि तिनै महिलाले अरु धेरै संख्यामा नेपाली महिलालाई दिल्ली लान लागेको खुलासा गरेका हुन्। दिल्लीबाट उद्धार गरिएका महिला माघ २५ गते शुक्रबार काठमाडौं आइपुग्ने माइती नेपालले जानकारी दिएको छ।
गत शुक्रबार विभिन्न समयमा भारतको मणिपुर सहरका छुट्टा छुट्टै ठाउँबाट ४० नेपाली महिलाको उद्धार भएको थियो। त्यसपछि पनि आफ्नो रेस्क्यु अपरेसन जारी राखेको भारतीय प्रहरीले हालसम्मकै ठूलो संख्यामा नेपालीको उद्धार गरेको हो।
म्यानमारसँगको मीमावर्ती क्षेत्रमा पर्ने उक्त ठाउँबाट इराक, दुबईलगायतका देशमा मानव तस्करी हुँदै आएको पाइएपछि भारतीय प्रहरीले सक्रियता देखाएको हो।