लुक्लामा बाबाजी विम्ब
सगरमाथा अर्थात् विश्वको सर्वोच्च शिखर। सगरमाथा टाकुरा चुम्नु टाढाको कुरा आधार शिविरसम्म टेक्न पनि आम मान्छेका लागि सम्भव छैन। सगरमाथाको प्रवेश द्वार मानिने लुक्लासम्म भए पनि पुग्ने अभिलाषा थियो। जेठ अन्तिम सातादेखि मनसुन सक्रिय भइसकेको थियो। सिजनका बेला जहाजको टिकट नपाइने, अफ सिजनमा हप्तौंसम्म जहाज नउड्ने अवस्था। आशावादी बन्दै मैले टिकट काटें।
‘भोलि बिहान पाँच बजे हवाई अड्डा पुग्नु होला’, एयरलाइन्सबाट खबर आयो। काठमाडौं र लुक्ला दुवै ठाउँको मौसम सफा भएका कारण जहाज निर्धारित समयमै उड्यो। झन्डै ३० मिनेटको उडानपछि २०७५ असार १३ गते तेन्जिङ हिलारी लुक्ला विमानस्थलमा जहाज अवतरण भयो। लुक्लाका होटलहरू सुनसान थिए। हेर्दै जाँदा एउटा होटलमा वास बस्न पुगियो। जुनसुकै होटलमा बस्दा पनि अचेल परिचयपत्र खोजिन्छ। रजिस्टरमा नाम र ठेगानाहरू लेख्नु अनिवार्य हुन्छ। त्यहाँ न मेरो नाम सोधियो न ठेगाना लेखियो न त परिचयपत्र नै मागियो। लुक्ला शान्त थियो, सायद सुरक्षित पनि। एकजना तामाङ र शेर्पा दम्पतीको स्वामित्वको होटल रहेछ। तिनीहरूको एउटा सानो सुन्दर छोरो थियो। सोधें, ‘मलाई चिनेको छ बाबु ? ’
‘बाजे’, मोहक तोते बोलीमा शिशुको उत्तर सुनेर म हाँसें।
मेरो आगमनपछि लुक्ला धुम्मिएको छ। लुक्लाका लागि यो अफ सिजन हो। तसर्थ चहलपहल कम छ। कतिपय भन्छन्– विगत दुई सातादेखि मौसम बिग्रिएको छ। यो मौसममा वर्षा नियमित क्रम हो। यस क्रममा आकाश धुम्मिनु अर्को उपक्रम हो। तसर्थ मौसम बिग्रिएको भन्दा पनि कतिपयको सोच बिग्रिएको जस्तो लाग्छ।
लुक्लाबाट नाम्चेबजार १९ किलोमिटर टाढा छ र १० घन्टा लाग्छ भन्ने जानकारी ठाउँ–ठाउँमा लेखिएको छ। सर्वोच्च शिखरसमेत पर्ने सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत वर्ष ४५ हजार विदेशी पर्यटकले भ्रमण गरेको तथ्यांक रहेछ।
लुक्लाबाट सगरमाथा आधार शिविरसम्मको दूरी ६२ किलोमिटर रहेछ। हिमाली वातावरणमा तादात्म्य मिलाउँदै ६२ किलोमिटर यात्रा छिचोल्न साताभन्दा बढी लाग्छ भन्ने सुनियो। मेरा लागि दुई घन्टाको पैदलयात्रा पनि कहालिलाग्दो हुने गर्छ। जससँग जे छैन, त्यसैको महŒव ज्यादा हुन्छ। नेपालका कैयन् स्थानहरू भूस्वर्गका रूपमा चित्रित छन्। त्यो स्वर्गको रसास्वादन गर्ने हो भने उमेर छँदै पैदल यात्रा गर्नुपर्छ। अंग कुँजिएपछि शरीरका लागि बोझ हुन्छ। मन भाँडिएपछि जीवनमा धेरै अफसोच हुन्छ। धेरै बोझले थिचिएपछि कहिले पुर्लुक्क लडिने हो ठेगान हुँदैन।
जीवन नर्कजस्तो भयो भन्दै विलौना गरेर पीडाबाट मुक्ति पाइँदैन। मन होस् वा शरीर, खराबलाई निषेध र असललाई प्रवेश गराउन सकियो भने सुख–सन्तोषको द्वार आफैं खुल्छ। स्वर्ग हाम्रो आँगनमा छ, टेक्नुपर्छ। स्वर्ग हाम्रो सृष्टिमा छ, हेर्नुपर्छ। शरिर कुँजिन नदिन पैदल यात्रा गर्नुपर्छ। मन भाँडिन नदिन देश–देशान्तरको यात्रा गर्नुपर्छ।
सिजनका बेला दर्जनौं उडान हुने हुँदा लुक्लाको लाली अर्कै हुन्छ भन्छन् स्थानीय। अफ सिजनमा भने लुक्ला फिक्का लाग्छ रे ! लुक्ला सुन्दर छ, मोहक छ र चिटिक्क परेका घरहरू छन्। लुक्लावासीहरू आत्मीय छन् र सहृदयी छन्। तर यो सानो बस्तीमा कसैले लामखुट्टे (मच्छड) देखिएको त कसैले मासुसँगै हरियो झिँगा भन्किएको पनि सुनाए। झन्डै दुई दिनको पैदलयात्रापछि मोटर बाटो भेटिन्छ रे। मोटर वा जहाज चढेर झिँगा र लामखुट्टे भित्रिएको होइन। जलवायु परिवर्तन र विश्वव्यापी उष्णताको दुष्प्रभाव हो यो जसका कारण हिमाल नांगिँदै छ, नदी साघुरिँदै छन्।
लुक्लाको ढुंगा छापेको मार्ग पनि सुन्दर छ। यही मार्गमा एकपटक पाँच–छवटा कुकुर मेरो वरिपरि मडारिए। यीमध्ये कतिपय सगरमाथा आधार शिविरबाट फर्कंदा पर्वतारोहीहरूले बिस्कुटलगायत खाद्य सामग्री दिएका कारण पछि लागेर आएका रहेछन्। सुई लगाउँदा केहीको मृत्यु भएको रहेछ।
नयाँ पात्र, अनौठो वस्त्र देख्दा कुकुरहरू जोडले भुक्ने गर्छन्। त्यसमाथि पनि जोगी–सन्न्यासी देख्दा कुकुरहरू झम्टिन खोज्छन्। तर मैले कुनै अनिष्टको सामना गर्नुपरेन, अपितु प्रियजन भेटेजस्तो गरी मेरो वरिपरि झ्याम्मिए।
यही ढुंगे मार्गमा दुईजना गृहिणी थोत्रो म्याटमा डन्डा बर्साउँदै थिए। तल धुलोको थुप्रो थियो। जति डन्डा हिर्काए पनि मैले हेरुन्जेल म्याटबाट धुलो झर्न रोकिएन। मान्छेको मस्तिष्कमा पनि अज्ञानको धुलो जमेको हँुदो हो। ज्ञानको डन्डाले हिर्काउन सके त्यस्तो धुलो झर्दै जान्छ। विवेकको कुचोले सिनिक्क बढारेपछि मन सफा हुँदै जान्छ। जति लुक्ला आउन मलाई हतार थियो, फर्कन पनि त्यति नै हतार भएकाले निर्धारित समयमा हवाई अड्डा पुगें।
मन होस् वा शरीर, खराबलाई निषेध र असललाई प्रवेश गराउन सकियो भने सुख–सन्तोषको द्वार आफैं खुल्छ। स्वर्ग हाम्रो आँगनमा छ, टेक्नुपर्छ। स्वर्ग हाम्रो सृष्टिमा छ, हेर्नुपर्छ। शरिर कुँजिन नदिन पैदल यात्रा गर्नुपर्छ। मन भाँडिन नदिन देश–देशान्तरको यात्रा गर्नुपर्छ।
विमानस्थलमा एउटा आकाशे चरो (जहाज) बिरामी भएर थन्किएको छ। धुम्मिएको मौसममा धुम्म परेर हवाई अड्डामा प्रतीक्षारत रहेको बेला एक नारी पात्र नमस्कार भन्दै अगाडि आइन्। तिनी त्यही बिरामी आकाशे चरोको चालक (पाइलट) रहिछन्। साथमा आकाशे परी (एयर होस्टेस) पनि थिइन्। लुक्ला विमानस्थलको भिरालो धावनमार्ग मात्र ५२७ मिटर लम्बाइको छ।
हिस्ट्री च्यानलका अनुसार २० वर्षदेखि यो विश्वकै सबैभन्दा डरलाग्दो÷जोखिमपूर्ण विमानस्थल हो। हवाई सेवामा आकाशे चालकका रूपमा महिलाको संलग्नता अहिले सामान्य भइसकेको छ। तथापि मास्तिर पहरा, तल गहिरो खोच, बीचमा लुक्लाको जोखिमपूर्ण भिरालो हवाई पट्टीमा जहाज ओराल्न र उडाउन निपुण यी नेपाली विरांगनाको साहस र सौर्य उदाहरणीय छ। त्यसमाथि पनि बिरामी जहाजलाई हचुवाका भरमा उडाउन खोज्ने दबाबविरुद्ध तिनले लिएको अडान बुद्धिमत्तापूर्ण मान्नुपर्छ। उडानका लागि मौसम उपयुक्त नभएको हुँदा मेरो लुक्ला बसाइ १० दिन लम्बियो।
हरेक बिहान जहाज आउला भन्ने आशामा हवाई अड्डा धाउनु मेरो प्रातःचर्या भइसकेको थियो। विद्यालय जाँदै गरेका विद्यार्थीहरू कसैले हिन्दीमा कसैले टुटेफुटेको अंग्रेजीमा मलाई बाबाजी भनेर जिस्क्याउँथे। उमेरको ढलानसँगै शरीर गल्दै गएको छ। रोगले गाँज्दै गएको छ। तसर्थ बिहानै औषधी खानुपर्छ। एक बिहान केही खाने ध्येयले विमानस्थलछेउको होटलमा पसें।
एक हुल पश्चिमा पर्यटकहरू खाजा खाइरहेका थिए। मलाई देख्नेबित्तिकै त्यहाँ काम गर्ने केटो ‘बाबाजी’ भनेर कहालियो मानौं लाग्छ भूतसँग जम्काभेट भएको होस्। ‘खानेकुरा होला ? ’ भान्सातिर चियाउँदै मैले जिज्ञासा राखें। ‘छैन’, विस्मयकारी मुद्रामा खाना बनाइरहेकी महिलाले जवाफ फर्काइन्। म खिस्स हाँसेर बाहिरिएँ।
हवाई अड्डापरिसरमा एउटा वृद्ध पात्रसँग प्रायशः साक्षात्कार भइरहन्छ। हुलिया हेर्दा लाग्छ उनी भारी बोकेर जीवन धान्दै छन्। मलाई पहिलोपटक देख्दा ‘महाराज’ भनेर ढोग्न खोजे। म तर्किएँ। उनी ५० रुपैयाँको नोट साट्न खोज्दै थिए। भेटी स्वरूप उनले मलाई १० रुपैयाँ दिन खोजेका रहेछन्।
धन्य त्यस दिन तिनले खुद्रा भेटाएनन्। अर्को दिन तिनै पात्र लुक्ला बजारमा भेटिए। यसपटक उनीसँग पाँच रुपैयाँ खुद्रा रहेछ, लिनुप¥यो भनेर हत्ते हाल्न थाले। म तर्किने, उनी दिन खोज्ने। बल्लबल्ल उम्किएँ। यद्यपि ती पात्रसँग ५० को नोट दिन सकिँदैन भन्ने चेत छ। साथसाथै ५ वा १० का नोट जसरी पनि लिइदेओस् भन्ने आवेग छ।
मैले धारण गरेको पहेलो वस्त्रका कारणले हो वा लामो जटासहितको अनौठो हुलियाका कारण उत्पन्न हुन पुगेको विम्बप्रति आस्थाको कारणले होस्, तिनको चेतन मलाई पाँच रुपैयाँ दिन हुटहुटी गरिरह्यो। लिन्न भनेर म तर्किरहें।
गुदीको ज्ञान र पहिचानविना बोक्रा हेरेर राय बनाउने र आस्थाको धुनी जगाउने मानसिकता विद्यमान रहेकै कारण कतिपय आडम्बरीहरू ईश्वरको अवतार÷दूत, औतारी, धर्मगुरु आदि आवरणमा सजिएका छन्। कतिपयका लागि आस्थाको शोषण पेसा भएको छ, अन्धविश्वासलाई पोषण गर्ने जीजीविषा भएको छ। श्रद्धाको दोहन गर्दै तिनको धन्धा एक्काईसौं शताब्दीमा पनि फस्टाइरहेको छ।
हेलिकप्टरबाट इन्जिनियर ल्याएर मर्मत गरेपछि र लुक्लाको आकाश खुलेपछि असार २२ गते आकाशे चरो उड्यो, तर त्यसमा रहेका १८ सिटमा म अटाइनँ। दुई सातादेखि घुम्टो ओढेको लुक्लामा झलमल्ल घाम लागेपछि कम्तीमा चार–पाँचवटा जहाज अवतरण हुने आशा थियो। तर सबै जहाज पश्चिमतर्फको उडानमा केन्द्रित गरिएका कारण लुक्ला उडान त्यस दिन मात्र होइन, अर्को चार–पाँच दिनसम्म सम्भव नभएको सन्देश प्रवाहित भएपछि मभित्रको धीरता खल्बलियो। जहाज नआउने भनिए पनि लुक्लाको आकाशमा बाक्लै गरी हेलिकप्टर मडारिन थालेका थिए।
गोडामा समस्याका कारण एकदुई घन्टाभन्दा बढी म हिँड्न सक्दिनथें। त्यसमाथि पनि पर्वतीय क्षेत्रको पैदल यात्रा मेरा लागि कष्टकर हुने नै भयो। लुक्लाको यो यात्रामा म धीर बन्न खोजें तर निकै दिन जहाज नआउने भएपछि मन अधीर हुन थाल्यो। जति दिन लागे पनि जहाज कुर्ने सोचमा थिएँ तर औषधी सकिँदै र गोजी रित्तिँदै गएपछि अन्ततः मैले हेलिकप्टरबाटै भए पनि उड्ने निधो गरें।
नजिकको फाप्लुसम्म उडान भर्दा एकजनाले १२ हजार र काठमाडौं जाने हो भने ३५ हजार तिर्नुपर्ने सुनिएको थियो। गोजीअनुसारको रोजी भने झैं मैले सोलुखुम्बुकै अर्को गन्तव्य फाप्लु उड्ने विकल्प रोजें। अन्ततः मैले १५ हजार तिर्नुपर्ने भयो।
लुक्लाप्रति आभार व्यक्त गर्दै सगरमाथा प्रवेश द्वारमा फेरि आउने इच्छा व्यक्त गर्दै म हेलीमा हुइकिएँ। माथि सगरमाथा सुनौलो धुनमा मुस्कुराइरहेको थियो। तल दुधकोसी आफ्नै सुरमा निरन्तर बगिरहेको थियो।