त्यो बेला मैले कामेच्छा दबाउनै सकिनँ
प्रसिद्ध लेखक रमेश विकल (१९८५–२०६५)को पहिलो आत्मकथा ‘मेरो अविरल जीवनगीत’ साझा प्रकाशनबाट विसं ०५५ मा प्रकाशित थियो। उनका पुत्र विजय चालिसेका अनुसार विकल आत्मकथाको दोस्रो खण्ड लेख्दै थिए तर उनको जीवनकालमै त्यो प्रकाशित हुन सकेन। अब त्यो प्रकाशनको चरणमा छ। उनले विभिन्न पत्रपत्रिकामा लेखेका केही संस्मरण पनि यसमा समेटिनेछन्। ‘मेरो अविरल जीवनगीत’ भाग–२ को यहाँ प्रस्तुत अंश यसअघि कतै प्रकाशित भएको छैन। विकलले यस अंशमा प्रणय र कामेच्छाबीचको फरक अनुभूति लेखेका छन्।
प्रस्तुत घटना २००१ तिरको हो। त्यतिखेर दसैंको बेला परेको थियो— सप्तमीको दिन। शरद ऋतुको एउटा रमणीय अपराह्न। बौद्ध पीपलचोक (हाल नं.पा. ६ वडा कार्यालय भवन भए ठाउँ)मा लिंगे पिङ हालिएको थियो। दसैंको रमाइलो चाड मनाउन राम्राराम्रा नयाँ लुगा कपडामा सजिएका बालबालिका, किशोरकिशोरी, युवकयुवती र नगण्य मात्रामा प्रौढ पनि पिङको आसपास झ्याम्मिएका हुन्थे। यिनमा धेरै संख्या किशोरी र युवतीहरूको हुन्थ्यो। कोही पिङमा पालो पाउने प्रतीक्षामा बसेका हुन्थे। एक जोडी पिङमा मच्चिइरहेका हुन्थे— ‘चचहुइ ऽऽ सरररर।’
युवाजोडीलाई लिएको पिङ आकाशमा माथिसम्म उठ्थ्यो अनि तल झथ्र्योे। यसको अकासिनुको उचाइ खेल्ने जोडीको मच्चाइको वेगमा निर्भर गथ्र्यो। एक जोडी थाकेपछि पिङको झट्का बिस्तारो कम हुँदै रोकिन्थ्यो र अर्को जोडी वा एक्लो पिङमा चढ्थ्यो। अनि मच्चिने प्रक्रिया उही क्रममा चल्थ्यो। यो दृश्य नेपाली मात्रको महानतम् चाडको उल्लास र उमंगपूर्ण इन्द्रधनुषी छटामा अधिराज्यभरि नै छरिएको हुन्थ्यो।
त्यस दिन पनि पिङको मच्चाइ र केटाकेटीको उल्लासमय किलोलका माझ त्यहाँ एकजना लगभग पन्ध्र–सोह्र वर्षको किशोर अर्को अलि कम उमेरको केटाको साथमा आइपुग्यो। पहिलो केटाको वेशभूषा र व्यक्तित्व त्यतिखेर प्रचलित अत्याधुनिक र उम्दाखालको थियो। केही पीत छटायुक्त गोरा वर्ण, फराकिलो निधार, रिट्ठाका गेडाजस्ता ठूलाठूला चम्किला आँखा, समुद्री छालजस्तो खण्डखण्ड पारेर तलास गरिएको कालो मुन्द्रे केशराशि— उसले आफ्नो अनुहारमा हल्कासँग पण्ड क्रिम र पाउडरको पत्र पनि पोतेको थियो; दुई आँखीभौंको माझ ब्रह्मरन्ध्रमा एउटा सानो रातो टीको लगाएको थियो।
यस केटाको लवाइ–पहिरन पनि त्यतिखेरको अत्याधुनिक फेसनलाई प्रतिनिधित्व गर्ने खालको डोरे कमिज र लखनौ फेसनको चुरीदार सुरुवालमाथि बाहिरै देखिने गरी लगाएको मोजा, रातो बनात कपडाको चट्टी जुत्ता, स्वेटरमाथि दाहिने हात बाहिर निकालेर ओढेको मखीबुट्टे खास्टो थियो। किशोर त्यति बेलाको रुमानी नायकजस्तो निकै फुर्तिलो र आकर्षक देखिन्थ्यो।
पिङको पालो पर्खेर बसिरहेका किशोरीहरूमा दुईवटी निकै राम्रा केटीको रूपलावण्यले त्यस केटाको ध्यानलाई पनि आफूतिर नतानी छोडेन। दुइटीमा पनि एउटीतिर उसको विशेष ध्यान तानिएको देखिन्थ्यो। गोरो रङ, अन्डाकार मुहुडामा बडेबडे चम्किला काला आँखा, सुलुत्त परेको सुगाठुँडे नाक, साना पातला गुलाफका पत्रजस्ता ओठ, कम्मरचन्दा तलसम्म झुलेको कालो र लहरदार कपालका दुई चुल्ठा, उमेरअनुसार न अग्ली न होची, औसत कद अनि त्यतिखेर किशोरीहरूमा चलेको चोलो र जाँघे सुरुवालमाथि खास्टोको साधारण परिधान— नायकका आँखा उसमा गएर टाँसिएपछि फेरि हट्न मानेनन्। आफ्नो शरीरमा एउटा बिजुलीको लहर दौडेझैं लाग्यो मलाई। मन एउटा कल्पनाको संसारमा उड्न थाल्यो— ‘यही त हो ! यही हो उसको बारम्बारको सपनामा आउने गरेकी राजकुमारी ! यही त हो.... यही त हो !’
मनमा एउटा बाँसुरीको सुमधुर संगीत धुन। केटोले यसै धुनमा आफूलाई लहराइदियो। यो उसको जीवनको सन्धिप्रकाश रागिनी— किशोरवय र सुरु यौवनको सन्धिकालको पहिलो संगीत धुन ! ऊ उड्यो कताकता, बादलपारिको देशमा अनि उसले केटीतिर संकेत गर्दै आफ्नो साथको केटोसँग विचित्र भावुक स्वरमा सोध्यो, ‘ए भाइ त्यो केटीलाई चिन्छौ तिमी ? ’
‘किन्न नचिन्नु ? त्यो मेरी दिदी पर्छे।’ उसले आफ्ना ओठभरि एउटा रहस्यको मुस्कान फैलाउँदै विचित्र आँखाले नायकतिर हे¥यो, ‘क्या हो दाइ ? ढाँचाकाँचा त...!’
‘अँ त्यस्तै त्यस्तै।.... के तिमी उससँग मेरो...।’ नायक बनेको केटाले अलि हच्केर भन्यो। अर्को केटाले बडो फूर्तिसँग जवाफ दियो, ‘केही छैन, सब ठीक हुन्छ।....एउटा लेखेर दिनोस्, म लगिदिन्छु। वल्लो घर पल्लो घर हो।’
चिठीको आदानप्रदान, भेट्ने बाचा, भेट्ने ठाउँको चयन अनि कैयौं दिन आधा रातसम्म केटीको घरमुनि पाखाको चिसो स्याँठको मारबीचको अत्यन्त उत्सुक प्रतीक्षा, आशा–निराशा, उत्सुकता–क्षोभबीचको द्वन्द्वात्मक पीडा। उसको पहिलो प्रणय अभियानको भोगाइ थियो यो। अनि यस्तैमा एक मध्यस्थ केटाले आएर खबर दियो, ‘रामबाबु ! तपाईकी ‘ऊ’ भोलि चाबहिल गणेश दर्शन गर्न जान्छे रे, आठ–नौ बजेतिर। त्यहीँ भेट्ने रे।’
यो खुसखबरले नायक केटाको मनमा हर्ष अटाइनअटाइ भयो। उसको मनमा एउटा अधैर्यको भुइँचालो नै गयो— खुसीका अतिरिक्त केही डरजस्तो, केही आशंकाजस्तो, भावनाहरूका उर्लंदो छाल। यस्तै यिनै अनेकन भावनाका छालद्वारा उचालिँदै–पछारिँदै गर्दैमा त्यो रात छटपटीमा बित्यो— भोलि बिहान आठ बजे ऊ आफ्नी प्रियतमासँग भेट गर्नेछ, अनन्तअनन्त मायाप्रीति, प्रेमप्रणयका कुरा गर्नेछ। त्यो उसको जीवनको एउटा अमूल्य घडी हुनेछ। तर, ऊ के भन्ला ऊसँग ? के र कसरी कुरा गर्ला ? मनमा लागेको कुरा प्रस्टसँग भन्ने आँट त गर्ला ? यो उसको जिन्दगीको पहिलो घटना...। कतै उसले केही भन्दा उसमा उल्टो प्रभाव त पर्ने होइन ? ऊ बिहा भइसकेको, घरमा स्वास्नी भएको मान्छे... कतै ऊ अनुचित, अनैतिक काम त गर्दै छैन ? ...
त्यतिखेर सार्वजनिक सवारीको कुनै व्यवस्था थिएन आजजस्तो। पैदलै हिँड्नुपथ्र्यो। शंका–उपशंका, डर–रोमाञ्च, आशा–निराशा, हर्ष–उमंगको परस्परविरोधी मानसिकताको छालमा उरालिँदै पछाारिँदै ऊ भोलिपल्ट बिहान आठै बजे चुच्चेपाटी दोबाटोमा गएर आफ्नी स्वप्नसुन्दरीको प्रतीक्षामा बस्यो। केहीबेरको प्रतीक्षापछि उसकी नायिका परबाट आउन लागेकी देखिन्छे— आफ्नी उही पहिलो दिनकी साथीका साथमा। ऊ नजिक आइपुग्छे। आँखामा गएर आँखा ठोकिन्छन्। शरीरको बाहिर–भित्र सबैतिर बिजुली दौडेझैं अनुभव हुन्छ उसलाई। केटीका आँखामा पनि वारुणी मदिरा छल्केझैं, गलामा गुराँस फलेझैं लाली देखिन्छ।
अब नायक र नायिका समकक्ष भएर हिँड्न थाल्छन्। तर, नायकको मनमा अझै भुइँचालोको डाँवाडोल छ— कतै कसैले, चिनेका मानिसले, घरतिरकाले देख्ने पो हुन् कि ! आमाबाले थाहा पाउनुहुने पो हो कि ! थाहा पाउनुभयो भने के गर्ने ? आदि–इत्यादिको तर्कवितर्कलाई दबाएर ऊ केही भन्ने, आफ्नो मन उघार्ने, प्रेमका कुरा गर्ने, प्रणयका कुरा गर्ने जमर्को गर्छ। तर... तर उसको मुखबाट केवल यति मात्र निस्कन्छ, ‘स....सन्चै छ्यौ ? ’
कति बिचरो भएछ ऊ ! कति भद्दा प्रणयनिवेदन ! उसलाई आफ्नो कमजोरी देखी खेद र ग्लानि भएर आउँछ। ऊ आफैंसँग मुरमुरिन्छ। अनि ऊ मनमै फेरि आफ्नो भावनालाई वाणी दिने प्रयत्न गर्छ, तर सबै निरर्थक; घाँटीबाट आधी बोली नै फुट्तैन। यत्तिकैमा– यही निराशा, खेद र ग्लानिको द्वन्द्वमा कतिबेला गणेशस्थान आइपुग्छ, कति बेला उसले पूजा सक्छे, कतिपल्ट ऊ उसलाई बोल्ने, आफ्नो भावलाई अभिव्यक्त गर्ने अवसर दिँदै निराश हुन्छे, यी कुनै कुराको हेक्का रहँदैन उसलाई। ऊ एकदम संज्ञाहीनझैं थितिमा पुग्छ। उसका पाइला पनि छोटिन्छन्— ऊ अब केटीभन्दा दस पाइला पछि पर्छ। सँगै हिँड्ने पनि आँट हुँदैन उसलाई।
आखिर केटी मूल सडकबाट आफ्नो माइतीतिर मोडिने दोबाटोमा पुग्छे। ऊ त्यतै मोडिन्छे। पर पुग्दासम्म पनि ऊ फर्किंदैफर्किंदै हेर्छे। उसलाई उसका आँखामा किञ्चित् पीडाजन्य भत्र्सनाको आभास हुन्छ, ‘यस्ता पनि लोग्नेमान्छे ! यस्ताले पनि प्रेम गर्न खोज्ने !’
अनि ऊ पनि आफैंप्रतिको निराशा, ग्लानि र पछुतोले अत्यन्त व्यथित भएर त्यसै त्यो चौबाटोमा उभिइरहन्छ— एउटा जड अचेत बिजुलीको खम्बाजस्तो। यस्तो भएको थियो रामबाबूको प्रथम प्रणयाअभियान।
अर्कोपल्ट मध्यस्थ भाइले भेट्दा उसले उलाहना दियो, ‘के मान्छे तपाईं त रामबाबु ! त्यत्रो मौका दिँदा पनि.... लाछी हुनुहँदो रहेछ तपाईं त। त्यस्तो मौका पाएर पनि... !’
‘के भन्ने भाइ ! त्यसै के भयो के; बाक्के नै फुटेन। एकपल्ट फेरि कोसिस गरिदेऊ न.... अर्कोपल्ट त....।’ उसले गलेको र उज्जित स्वरमा भन्यो। मध्यस्थ भाइले भन्यो, ‘अब तुरुन्तै त सम्भव छैन; ऊ दसैं सकेर लोग्नेको घर गइसकी। अब पछि कहिले आउँछे, अनि मात्र।’
के त उसको पनि बिहा भइसेकेको रहेछ ? मलाई (त्यो नायक अरू कोही नभएर म आफैं थिएँ।) त लागेको थिएन। तर, त्यतिखेर बाहुन समाजमा छोरीलाई उमेर छिप्पिँदासम्म अविवाहित राख्ने चलन नभएकाले उसको बिहा भएको कुरा नपत्याउनुपर्ने खण्ड थिएन।
अनि साँच्चै निकै दिनसम्म उसको खबर आएन। उसलाई देख्न मेरा आँखा निकै छटपटाउँथे। ऊ त्यहाँ छैन भन्ने थाहा भएरै पनि मेरा गोडाले मलाई बारम्बार उसकै माइतीगाउँतिर तान्न थाल्थे— आज त आई कि, आज त आई कि ? ... यसै गरी आशाको त्यान्द्रोमा झुन्डिएर एकदुई महिना बित्यो।
अनि एक दिन फागुन महिना— सायद श्रीपञ्चमीको दिन थियो त्यो, मध्यस्थ भाइले आएर भन्यो, ‘लौ ऊ आएकी छ; बल्लबल्ल राजी गराएँ। भेट्ने भए भोलि चार बजेतिर विशुनारानको घरमा आउँछे, तपाईं त्यहीँ जानू रे !’
भोलिपल्ट उसले दिएकै बेलामा म विशुनारानको घरमा पुगेँ। ठीक टाइममा पुग्नु मेरो पहिलेदेखिकै बानी। विशुनारान पनि घरमै रहेछ। उसलाई देखेर मेरो मन ढक्क फुलेर आयो। ऊ मेरो चिनजानको चाबहिलको टोले दाजु थियो। उसले कतै घरमा भनिदियो भने ? ... तर, उसले मतिर वास्तै नगरेझैं ग¥यो। मलाई अलि ढुक्क भयो— यसले घरमा भन्दैन।
म सरासर माथि उक्लेँ। माथि बुइँगलमा ऊ पहिल्यै आएर बसेकी थिई। तर, यसपल्ट पनि ऊ एक्लै थिइनँ; उसकी पहिलेकी साथी पनि थिई। त्यतिखेर उनीहरूलाई देख्नेबित्तिकै मलाई के लाग्यो भने यिनीहरू अहिले पूर्ण तयारीसाथ आएका छन्। मेरी केटीभन्दा पनि अर्कीचाहिँ त पूर्ण नांगिन तयार भएर आएकी झैं थिई। यो कुरा उनीहरूको त्यस घडीको चेष्टा, चालचलन, नखरा र लगाएको वस्त्रले पनि बताइरहेका थिए।
तर त्यतिखेर मेरो मनमा एक्कासि किन ग्लानि र खिन्नताको भाव उठ्यो, मलाई आफैं आश्चर्य लागिरहेछ आज। ...सायद मेरो संस्कारमा प्रेम र शारीरिक वासनायुक्त क्रीडा बेग्लाबेग्लै कुरा थिए। सायद म प्रेमलाई विशुद्ध, पवित्र र भावनाको परिधिसम्म मात्र स्वीकार गर्थें। प्रेम र मायाप्रीति वासनाभन्दा पर, शुद्ध र पवित्र वस्तु हुनुपर्छ भन्ने अन्तरधारणा थियो मेरो। प्रेमभावनासँग शारीरिक वासनाकोे खेल मिसिनुलाई मेरो संस्कारले सायद अत्यन्त घृणित, अपवित्र र अशुद्ध वस्तुका रूपमा हेथ्र्यो। अर्थात् म त्यस क्षेत्रमा ज्यादै अव्यावहारिक थिएँ क्यार। त्यसैले उनीहरूको त्यतिखेरको मौन र अघोषित कामेच्छाको आभास पाएर मेरो अचेतनाको आदर्शगत नैतिक संस्कारले त्यो रुचाएन; त्यहाँ ग्लानि र वितृष्णा (सायद दम्भ) को भाव मात्र प्रबल भएर आयो। मेरो मन ती परपुरुषसमक्ष आफ्नो नारीअस्मिता नै सुम्पन तत्पर भएर आएका कामपीडित नारीहरूप्रति कारुणिक भएर आयो।
‘माधुरी ! (यो छद्मनाम हो।) हेर, तिमीले मलाई जे ठानेर, जुन इच्छा लिएर आएकी छौ, म त्यस्तो होइन। म प्रेम र वासनालाई फरक ठान्छु। प्रेम शुद्ध र पवित्र हुनुपर्छ। त्यो आत्मासम्म सीमित हुनुपर्छ, शरीरको सीमा छुनु हुन्न त्यसले। म तिमीलाई प्रेम गर्छु तर शरीरप्राप्तिका लागि होइन, आत्मिक रूपमा मात्र। तिमीलाई म आफ्नी बहिनीका रूपमा हेर्छु। तिमी पनि बाहुनकी छोरी, विवाहिता। ...तिमीले पनि यहाँभन्दा पर जानु, अनुचित रूपले आफ्नो शरीरलाई अपवित्र पार्नु राम्रो हुन्न। त्यो पाप हो, अनैतिक र घृणित हो।’ मैले उसको शिर र पीठमा ममताको हातले सुमसुम्याउँदै आफूलाई उपदेशकका रूपमा प्रस्तुत गरेँ र दार्शनिक प्रवचन पो दिन थालेँ।
आफ्नी प्रेयसी स्वप्नसुन्दरीको प्रेमभावमा डुबेर अनन्य प्रणयकामना बोकेर आएको एउटा अधीर प्रेमी एक्कासि अत्यन्त संयमी, नैतिक, धर्मभीरु पण्डितका रूपमा परिणत हुन पुगेछु। सायद योभन्दा आडम्बर अरू के होला ?
मेरो जन्मदेखिको भित्रको पुरातन, नैतिक संस्कार जुरमुराएर पिलाउन खोजेको यो उपदेशको घुट्को त उसले के कसरी निली, यथार्थमा भन्न मुस्किल छ; तर तत्कालको उनीहरूको अनुहारका रेखाहरूबाट चाहिँ मलाई के लाग्यो भने उनीहरूका लागि त्यो त्यति मीठो घुट्को भने थिएन। उनीहरूको अनुहारमा प्रस्टिएका खुम्चाहरूले सायद भनिरहेका थिए, ‘बडो पवित्र, शुद्ध र नैतिक बन्न खोज्छ लाछी ! नामर्द। नपुंसक। ...मनमा चाहिँ अनेक खिचडी पाकिरहेको होला, बाहिर भने... ! नामर्द, आँट नभएको डरछेरुवा !’ यसरी मेरो पहिलो किशोर भावुक प्रेमप्रसंगको अन्त्य भयो।
त्यस्तै एउटा अर्को प्रसंग पनि छ। यो पनि एउटा त्यस्तै रमाइलो र झन्डैझन्डै हास्यास्पद अभिसार नै थियो। केटाकेटी छँदा मानिसमा यौनेच्छा हुँदैन, भए पनि त्यो सायद अवचेतन स्थितिमा मात्र हुन्छ। तर, जब ऊ किशोरवयबाट युवावस्थातिर बढ्न थाल्छ, उसको यौनचाहना तीव्र हुँदै जान्छ। मेरा सम्बन्धमा पनि यही कुरा लागू भएको छ।
मेरो विवाह बाह्र वर्षको उमेरमा भएको कुरा पहिले नै उल्लेख भइसकेको छ। तर, वास्तविक यौनेच्छा मेरो सोह्र–सत्र वर्षपछि मात्र जागेको हो। जागेपछि भने यो फुकेको राँगाको गतिमा बढ्न पुगेको थियो। यही गतिमा बढ्दा दुई हजार पाँच सालमा पहिली छोरी जन्मेपछि लगालग भनेजस्तो छोराछोरी जन्मँदै जाँदा बीस साल अर्थात् बिहा भएको तेइस वर्षको अवधिसम्ममा मेरा दसवटा सन्तान भए। बीचका चारवटा त मरिसकेका थिए। (यसबारेमा पहिले पनि कतै केही उल्लेख भइसकेको छ र पछि प्रसंग आएका अरू पनि उल्लेख गरिनेछ।)
म अहिले जुन कुराको वर्णन गर्न गइरहेछु, त्यो २०१४ सालतिरको कुरो हो अर्थात् मेरो यौनतृष्णाको चरम उत्कर्षको समय। त्यतिखेर म कलेज अफ एजुकेसन लाजिम्पाटस्थित चेतभवनमा पढ्थेँ। त्यसैताक एकपल्ट श्रीमती सुत्केरी भएकी थिई। महिनौंसम्म यौनसम्पर्क गर्न नपाउँदा म अत्यन्त उद्विग्न रहन थालेँ। के गरौं र कसो गरौं भन्ने छटपटीले मलाई रन्थनाउन थाल्यो। जत्तिकै मन नपरे पनि आफ्नी श्रीमतीसँग बाहेक बाहिर अरूसँग यौनसम्पर्क गर्ने आँट त के सोचसम्म नलिएको मलाई त्यसपल्ट बाहिरै गएर भए पनि यौनतृष्णा मेट्ने उत्तेजना आयो।
तर कसरी ? के भन्ला समाजले थाहा पाए ? के होला मैले आजसम्म आर्जन गरेको सामाजिक प्रतिष्ठा र इज्जतको ? ... यिनै नाना किसिमका तर्क–वितर्कले मेरो इच्छामा केही दिन निर्ममतापूर्वक अंकुश लगायो। तर, अन्त्यमा म आफ्नो तीव्र चाहनासँग मानसिक रूपले पराजित भइसकेको थिएँ। त्यसैले यस वासनाको आग्रहलाई मैले यहाँनिर आफ्नो अनुकूल पर्ने तर्कद्वारा उचित साबित गर्ने प्रयत्न गरँे। अर्थात् एउटा लेखक–साहित्यकारका लागि यस्तो अनुभव पनि आवश्यक छ, नत्र रचनामा जीवन्तता आउन सक्तैन। केवल यौनवासनाको परितृप्तिका लागि मात्र यस्तो कार्य अनुचित र अनैतिक होला, तर म त यस अनुभवलाई सामाजिक उपयोगिताको निम्ति आफ्नो साहित्यसिर्जनामा प्रयोग गर्नेछु। यसमा अनैतिकता वा अनुचित के छ ? ... भन्ने यस्तै तर्क।
कति सजिलो र अनुकूल तर्क ? ... यसै लंगडो तर्कको आड लिएर आफ्नो यौनइच्छालाई औचित्यको मुखुन्डो भिराएर मैले मैदानमा उत्रने निधो गरेँ। तर, कहाँ जाने ? ... कससँग भन्ने ? आफूलाई यस मार्गको कुनै गोरेटोसम्म पनि थाहा थिएन। त कहाँ जाने अँध्यारामा गोली हान्न ?
तर ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजस्तो मेरो मस्तिष्कमा पनि एउटा उपाय झलमलायो। मेरो परिचयमा एकजना त्यस्तै लाइनको केटो थियो। उसलाई म मामा भन्ने गर्थें। कताकता मैले सुनेको थिएँ, ऊ यस्तो काममा निपुण छ। उसको धेरै त्यस्ता मानिससँग सम्पर्क छ। त्यसैले मैले आँटै गरेर उससँग आफ्नो समस्या बताएँ, ‘मामा ! मलाई एकपल्ट यस्तो अनुभव गर्ने इच्छा लाग्यो; लौ न कुनै उपाय गर्। पैसा जेजति लाग्छ, म खर्च गर्छु।’
तर उसले पत्याएन। उसले केही रूखो र खिस्सिएझैं स्वरमा भन्यो, ‘के भानिज पनि ! ...तपाईंजस्तो मानिसले पनि मलाई उडाउने ? के तपाईंलाई पनि म त्यस्तो काम गर्छु जस्तो लाग्छ ? तपाईंले पनि मलाई त्यस्तो भन्ठान्नुभा छ ? ’
मैले उसलाई होच्याउने वा उसको परीक्षा लिने नियतले त्यो भनेको नभएर आफ्नै वास्तविक इच्छा नै प्रकट गरेको थिएँ तर पत्यार गराउन निकै प्रयत्न गर्नुप¥यो, ‘मामा ! तँलाई म किन त्यस्तो ठान्थेँ ? तर के गरूँ ? कसलाई भन्न जाऊँ ? मलाई अहिले ज्यादै आपत् परेर तँलाई भनेको। अरूलाई भन्न पनि त सक्तिनँ म। तँ आफ्ना ज्यादै घनिष्ठ भएर पो भन्ने आँट गरेको...।’
आखिर ज्यादै अनुनय गरेपछि ऊ बल्लतल्ल विश्वस्त भयो। अन्त्यमा उसले मलाई त्यस्तै ठाउँमा लैजाने आश्वासन दियो। त्यसकै भोलिपल्ट साँझ छिप्पिएपछि सिफलेको धारानिर बस्न भन्यो। म त्यसै मुताबिक भोलिपल्टै झमक्क भएपछि सिफलेतिरबाट कुटुबहाल–चाबहिलतिर आउने मूल सडक छोडेर देब्रेतिर धारानिरको धोबीखोला झर्ने उत्तरपट्टिको गोरेटोको मुखमा उसलाई पर्खेर बसेँ। केही बेर पर्खेपछि ऊ आइपुग्यो। उसले मलाई छिँडीभित्र लग्यो र केही पर पुगेपछि मलाई एकछिन त्यहीँ बस्न भनेर आफू त्यहाँभन्दा अलि तलको एउटा घरमा गयो।
रात औंसीको थियो। त्यस छेडोमा एकान्त र शून्य–चकमन्न थियो। त्यहाँ हतपती कोही आइहाल्ने पनि त्यति सम्भावना थिएन। त्यसमाथि मैले कालो ओभरकोटले आफूलाई पूरै ढाकेको थिएँ। तर, पनि म आफ्नो यस गर्हित कार्यका लागि यस अभियानको चेतनाबोधले आपैंmभित्र कति भीत र त्रसित भएको थिएँ भने त्यहाँ, त्यस चकमन्न र स्याइँस्याइँ रातको शून्यतामा कुनै मुसो वा फट्यांग्रो अथवा छेपाराले पनि सरक्क ग¥यो भने त्यसको झिनो आवाजलाई पनि तोपको विस्फोटझैं अनुभव गर्न पुग्थेँ। अनि प्राण सुकेझैं भएर थरथर काम्दै नीलकाँडे डिलको भित्तामा लेप्सिन पुग्थेँ।
दुईचार मिनेट बितेको हुँदो हो, तर मलाई युगान्तरको भान गराइरहेको थियो। अब म मुकुन्द चाँडै आओस् र एउटा टुंगोमा पुगिहालोस् भनेर मनमनमा प्रार्थना गरिरहेको थिएँ र बेलाबेलामा अत्यन्त दबेको स्वरमा उसलाई बोलाउँथेँ पनि, ‘मामा ! ...ए मामा !’
एक्कासि म उभिएको ठाउँदेखि बीस–पच्चीस कदमजति परबाट क्रमशः बढ्दै आएको पदचाप र दुई जनाको गुनगुन स्वरले मेरो मुटु ढुकढुक पार्न थाल्यो। दुई जनामध्ये एक जनाको स्वर मैले निश्चित रूपमा पहिचान गरेँ। त्यस स्वरका मालिक लगभग मेरा बाको उमेरका थिए र उनी बराबर मेरा बासँग पासा खेल्न पनि आउने गर्थे। उनलाई टोलमा अरिंगालको नाउँबाट जानिन्थ्यो र समाजद्वारा अनुचित ठानिने कतिपय कुराहरू उनको स्वभावमा निहित थियो। त्यसैले उच्च वर्णमा जन्मेर पनि उनलाई समाजमा अलि त्यस्तै दृष्टिले हेरिन्थ्यो।
वास्तवमा उनको मनमा पनि आफ्नै चरित्रप्रति ग्लानि र पश्चात्ताप थियो भन्ने कुरा उनले यदाकदा मसँग प्रकट गरेको उद्गारबाट थाहा हुन्थ्यो। उनका आँखामा मेरो निकै उच्च स्थान थियो र उनी मलाई बारम्बार प्रशंसा गर्दै हौस्याउने गर्थे, ‘बाबु ! तिमी मेरो छोरासमान छौ। तर तिम्रो चरित्र, तिम्रो गुणलाई म कदर गर्छु। हाम्रो त यस्तै नराम्रो लतमा जीवन गइहाल्यो। अब सुधार गर्न चाहेर पनि सुध्रिन्न; हामी तिमीहरूकै राम्रो चरित्र र उन्नति हेरेर चित्त बुझाउँछौं। लौ बा ! आफ्नो चरित्र बिग्रन नदिए। हामीले जस्तो पछि आएर तिमीले पछुताउनु नपरोस्।’
यसरी मेरो चरित्रलाई सह्राउने, मेरो इज्जत र सम्मानसाथ प्रशंसा गर्ने आफ्ना पितासमानका मानिसले मलाई यस अवस्थामा त्यहाँ देखे भने मेरो के स्थिति होला ? उनका आँखामा मेरो कुन स्थान रहला ? आजसम्म उनको हृदयको उच्च स्थानमा रहेको म, त्यहाँबाट कति तल कुन रसातलमा पुगौंला ? त्यसपछि म उनको र आफ्ना मान्यजनका सामु कसरी शिर ठाडो पारेर उभिन सकूँला ? के मलाई मरेतुल्य अनुभव नहोला ? यस्तै तर्कनाको करौंतीले त्यतिखेर मेरो मस्तिष्कलाई चिर्न थाल्यो।
यति बेला एउटा सानो दुईफुटे गोरेटोमा उभिएको थिएँ र ती बुज्रुकले मलाई भेटेमा नचिन्ने सम्भावना नै थिएन। त्यसैले मैले उनको सामु पर्नु कुनै पनि हालतमा उचित थिएन। तर, म त्यहाँबाट कता भागौं ? एकातिर नीलकाँडाको बाक्लो बार थियो भने अर्कोतिर कान्लो। कान्लो झन्डै एकडेढ तला अग्लो थियो र त्यसभन्दा तल अँध्यारो थियो। ‘एकातिर भीर त अर्कातिर भड्खारो’ भन्ने भनाइलाई चरितार्थ गर्ने त्यस्तो विकट स्थितिमा परेको बिचरो म आफू अपराध कार्यमा पक्डाउ पर्ने डरले ज्यादै विचलित भएँ। अनि त दाहिनेदेब्रे, तलमाथि केही नहेरी नीलकाँडाको झाङलाई फट्केर एक तला अग्लो कान्लो हामफालेर तल्लो बारीको सुर्कोमा दुम्किन पुगेँ।
क्रमशः ती दुई बुज्रुकको गुनगुन नजिकबाट टाढिँदै गएपछि म केही आश्वस्त भएँ र अनि जिमीबाट उठेर सोझोसम्म त भएँ, तर एक तलाको कान्लो उक्लिएर बाटोमा जाने आँट भने सँगाल्न सकिरहेको थिइनँ। निकै बेरसम्म ढुकढुक ठोक्दो मुटु लिएर भाग्ने अवसरको प्रतीक्षा गर्दै दुम्किइरहेँ। केही बेर यही अधमरो स्थितिबाट गुज्रिएपछि मामाको आवाज सुनियो, ‘रामबाबु ! ...रामबाबु ! ए भानिज !’ मामा दबेको स्वरमा मलाई हकार्दै माथि बाटामा आयो।
‘म यहाँ छु मामा !’ मैले मुर्दास्वरमा प्रत्युत्तर दिएँ र बल्लतल्ल नीलकाँडाको झाङ पन्छाउँदै कान्लो उक्लेर बाटामा आएँ। मामाले भन्यो, ‘भानिज ! आजलाई मिलेन। भोलि बेलुकी पक्कै हुन्छ रे ! आज उसकहाँ पुलिसको डीआईजी आउँछ रे ! त्यसैले आज अरूलाई बात गरेकी उसले।’
हुन त मैले त्यस बेला आफ्नो त्यस्तो तीव्र इच्छा पूर्ति गर्ने यत्रो कठिन अभियान विफल भएकोमा क्षुब्ध हुनुपर्ने र असन्तुष्ट हुनुपर्ने हो, तर त्यसो भएन। उल्टो म मनमनै अत्यन्त खुसी नै भएँ र मनमनै ईश्वरलाई धन्यवाद दिएँ, ‘धन्यवाद छ ईश्वर ! आज यस अनैतिक अभियानलाई असफल गराएर मलाई एउटा चारित्रिक विचलनको भयानक खाल्टोमा जाकिनबाट बचायौं। ...अबदेखि म यस्तो प्रयास कहिल्यै गर्ने छैन।’