विस्मृतिमा मृगस्थलीका तपस्वी

विस्मृतिमा मृगस्थलीका तपस्वी

स्वास्थ्यले साथ दिँदासम्म प्राध्यापक डीपी भण्डारी पाशुपत क्षेत्रको प्रातःरमणमा निस्कनुहुन्थ्यो। अनि, ब्रह्ममुहूर्तमा शीतले भिजेका दूबोका चौर छिचोल्दै र लामा ढुंगे सिँढीहरू उक्लँदै मृगस्थली पुग्नुहुन्थ्यो। मृगस्थलीलाई घामका कलिला किरणहरूले चुम्दै गर्दा भण्डारी सर एक जेन दार्शनिकझैं गहन चिन्तन र चेतनाप्रवाहमा हेलिइसकेको हुनुहुन्थ्यो। उहाँको मृगस्थली चिन्तन एउटा लामो खण्डसम्म नित्य रह्यो। र, यसै चिन्तनको परिणति हो, नेपाली साहित्यको एक अप्रतीम निबन्धाकृति ‘मृगस्थली।’

‘मृगस्थली’ यता भण्डारी सरले ‘निरो बाँसुरी बजाइरहेछ’, ‘रोटी र फूल’ र ‘त्यो धर्ती, त्यो आकाश’ कृतिहरू प्रकाशन गरेर नेपाली निबन्धकारितालाई समृद्ध बनाउनुभएको छ। तर, मजस्ता असंख्य भण्डारी सरका शिष्य एवं प्रशंसकहरूले उहाँबाट एउटा सांगोपांगो आत्मकथा प्रकाशन होस् भन्ने चाहना राख्दै आएका हौं। जुन, उहाँको स्मृतिक्षयका कारण अब सम्भव देखिँदैन। उहाँले अंग्रेजीमा केही ‘मेमोयर’ पनि लेखिसक्नुभएको छ भन्ने सुनेको छु तर त्यो के कस्तो अवस्थामा छ, थाहा भएन। भण्डारी सर र उहाँका निबन्धहरूमाथि एउटा सानो ‘भूमिका’ लेख्ने संयोग मलाई जुरेको थियो, ‘त्यो धर्ती, त्यो आकाश’का लागि।

भण्डारी सरका निबन्धहरू नेपाली निबन्धकारिताका मानक हुन्। उहाँका वैयक्तिक र स्मृति निःसृत निबन्धहरूले उहाँका जीवनका अनेकौं पाटालाई उद्घाटित गरेका छन्। तथापि, उहाँबाट आत्मकथाको अपेक्षा गरिनुका निश्चित कारण छन्। आत्मकथाको पहिलो सर्त आत्मश्लाघाबाट मुक्ति हो, जसमा उहाँले पूर्णांक नै पाउनुहुनेछ। युजी कृष्णमूर्तिले ‘बायोग्राफिज आर लाइज एन्ड अटोबायोग्राफिज आर डबल लाइज’ भनेझैं हामीले पढ्दै आएका अधिकतर आत्मकथाहरू आत्मरति र आत्मश्लाघाका पुलिन्दा हुन्।

अझ, नेपाली बजारमा निक्लने अधिकांश आत्मकथा त ‘प्रोपागान्डा मटेरियल’ नै हुन्। आफूलाई अन्यभन्दा विशिष्ट र चरित्रवान् देखाउँदै आफ्नो वंश र परिवारलाई महिमामण्डित गरिँदै लेखिने यस्ता तथाकथित आत्मकथाहरू समय र पैसाका बरबादी मात्र हुन्। तर, चलनचल्तीका यी तथाकथित आत्मकथाकारहरू विपरीत भण्डारी सर आफूलाई कहिल्यै श्रेष्ठ वा विशिष्टताको पगरी गुथाएनन्।

आफैंउपर व्यंग्य गर्न सक्ने विशिष्ट खुबी उहाँमा छ। यस्तो खुबी उहाँजस्तै मुक्तात्माहरूमा मात्र देख्न सकिन्छ। ज्ञान, चिन्तन, निस्पृहता र लेखन शिल्पका दृष्टिले म भण्डारी सरलाई भारतका प्रसिद्ध लेखक खुशवन्त सिंहको समकक्षमा पाउँछु। खुशवन्त सिख सम्प्रदायका रहँदारहँदै पनि सरदारजीहरूउपर जोक बनाउँछन्। लोकप्रिय ‘सान्ता वान्ता’ चरित्रका सर्जक उनी आफूलाई मुर्खको दर्जा दिन्छन्। अवकाशको पूर्वसन्ध्यामा खुशवन्तलाई जन्मदिनको शुभकामना दिन उनको घरमै पुगेका भारतका तत्कालीन राष्ट्रपति एपीजे अब्दुल कलामले खुशवन्तलाई सोधेका थिए, ‘अबको केही समयपछि म सेवानिवृत्त हुँदै छु, मैले आफ्नो अवकाशको जीवन के गरेर बिताउनु पर्ला ? ’ खुशवन्तले भनेका थिए, ‘तपाईंजस्तो विद्वान् राष्ट्रपतिलाई मजस्तो एक जोकरको सल्लाह दिन सक्ने हैसियत कहाँ हुन्छ र ? ’ खुशवन्तझैं भण्डारी सर पनि आफूलाई ‘लाटो’, ‘मूर्ख’ आदिको उपमा दिनुहुन्छ र आफैंप्रति व्यंग्य गर्नुहुन्छ।

यौन र नग्नता उपरको भण्डारी सरका टिप्पणीलाई कतिपय पाठक सपाट रूपमा बुझिदिन्छन्। किनकि, उनीहरू नग्नता र अश्लीलता बीचको भेद खुट्याउन नसक्दा नग्नतालाई अश्लीलताको अर्थमा लिन पुग्छन्।

आफू डोटी र कैलालीका गाउँहरूमा गोठालो हुँदा जीवनको सर्वाधिक उत्सवपूर्ण क्षण व्यतीत गरेकाले प्राध्यापन कर्मभन्दा पनि गोठाले जीवन आफ्नानिम्ति प्रेमिल रहेको बताउनुहुन्छ। ‘अर्को जुनीमा ईश्वरले के बन्छौ भनेर वर माग भनेमा आफूलाई यस जुनीको भन्दा पनि ठूलो गोठालो बनाइदेऊ भन्नेछु’, उहाँको मनोकांक्षा छ। डोटी निरोली गाउँका गोठालो भण्डारी सरको गंगातटबाट आरम्भित अक्षर यात्रा, सरदार रुद्रराज पाण्डेकी छोरीसँगको विवाह र प्राध्यापनकर्म बीचको समयरेखाका असंख्य घुम्तीहरू एउटा उत्कृष्ट आत्मकथाका तन्तु हुन सक्छन् भन्ने मेरो विश्वास रहँदै आएको हो, जुन अब विस्मृति रमणमा निक्लनुभएका भण्डारी सरबाट सम्भव रहेन।

भण्डारी सर र मेरो सम्बन्धलाई लिएर धेरै साथीहरू जिज्ञासु भएको पनि देख्छु। अग्रज लेखक एवं प्रिय दाजु खगेन्द्र संग्रौलाले ‘डीपी सर जसलाई भेटियो र भेटिएन’ (कोसेली, शनिबार, २२ मंसिर २०७५) को संस्मरणात्मक लेखमा भण्डारी र अभि (सुवेदी) सरहरूसँगको मेरो नाता ‘रहरलाग्दो’ व्याख्या गर्नुभएको छ। अभि सरले जस्तो भण्डारी सरले मलाई कक्षामा पढाउनुभएको होइन। अंग्रेजी केन्द्रीय विभाग, कीर्तिपुरमा स्नातकोत्तर अध्ययन गर्दा भण्डारी सर एकपल्ट मात्र कक्षामा झुल्किनुभएको थियो, त्यो दिन पढाइभन्दा पनि गफगाफमै बितेको थियो। त्यसलगत्तै उहाँ सेवानिवृत्त पनि हुनुभयो।

असलमा चालीसको दशकको मध्यतिरबाट चल्तीका अखबारहरूमा प्रकाशित हुन थालेका उहाँका लेखहरूका कारण म उहाँप्रति चुम्बकझैं आकर्षित भएको हुँ। एकलव्यले द्रोणाचार्यलाई ‘गुरु’ मानेजस्तै मेरो मनमस्तिष्कमा डीपी भण्डारी एक आदर्श गुरु र द्रष्टा रहनुभयो। उहाँका सम्भाषण कलाबाट म अतिशय मुग्ध हुन्थेँ। दर्शन, शायरी, कटाक्ष र हाँसोमि िश्रत उहाँका सम्भाषणमा चुम्बकीय आकर्षण हुन्थ्यो। उहाँ उपस्थित प्रेक्षालय श्रोता, दर्शकहरूले टनाटन हुन्थ्यो। उहाँको बोल्ने शैलीले ओशो रजनीशको स्मरण गराउँथ्यो। लाग्थ्यो, उहाँका सम्भाषण कहिल्यै नटुंगियून्। उहाँको जस्तो लेखन र सम्भाषण दुवै कलामा निपुणता विरलैमा देख्न सकिन्छ। उहाँको एउटा विशिष्ट खुबीचाहिँ मञ्चमा उपस्थित व्यक्तिविशेषलाई लिएर कटाक्ष प्रहार गर्न सक्नुहुन्छ, जसलाई सुन्दा ती व्यक्तिमा क्रोधभन्दा पनि हास्य तरंगित हुन्छ। देब्रे ढल्कुवा खगेन्द्र दाइ स्वयंले भण्डारी सरको परिहास र निस्पृहता नै उहाँप्रतिको चुम्बकीय गुरुत्वका कारण रहेको स्वीकार आफ्ना लेखहरूमा गर्नुभएको छ।

प्राध्यापक अभि सुवेदी भण्डारी सरको लेखनीलाई संवादित कलाको संज्ञा दिनुहुन्छ। उहाँले पाठकहरूबीच त्यही संवादित सम्बन्धको विस्तार गर्नुभएको अभि सरको ठम्याइ छ। ‘त्यो धर्ती, त्यो आकाशको’ अंग्रेजीमा ‘ब्लर्ब’ भनिने गाता टिप्पणीमा अभि सर लेख्नुहुन्छ, ‘डीपी भण्डारीका हरेक लेख अदृश्य र दृश्य पाठकहरूसँगको संवाद रचना हुन्। उहाँले लेखन आरम्भ गरेपछि सुन्दर, स्नेहस्निग्ध नारीहरू यथार्थ र मिथक अनि सम्भावना र स्मृतिका गोधूलिमा देखिन थाले। ती नारीहरू सायद रुमी (सुफी रहस्यवादी कवि) को काव्यका सम्बोधित तरल र ‘मिष्टिक’ विषय थिए।’

सुवेदीले इंगित गर्नुभएका ती मिस्टिक नारीहरूलाई लिएर भण्डारी सर यदाकदा विवादित पनि बन्नुहुन्थ्यो। पाठकहरू उहाँका ‘टेक्स्ट’लाई ‘मिसरिड’ गरिदिन्थे। उनीहरू ती नारीहरूको भौतिक उपस्थिति खोज्दथे र नारीहरूको बहुल उपस्थितिलाई भण्डारी सरको आशक्तिको अर्थमा लिन्थे। तर, यथार्थमा नारीहरूप्रति भण्डारी सरको अप्रतिम सम्मान रहँदै आएको छ। उहाँ सुन्दर र शीलयुक्त नारीहरूप्रति नतमस्तक देखिनुहुन्छ (को चाहिँ अपवाद रहन सक्ला र, बलात्कारी वा यौन दुराचारीबाहेक ? )। यस्तो प्रभाव आफूमाथि समेत परेको जिकिर भारतका विद्वान् राजनेता डा. करण सिंहले आफ्नो पुस्तक ‘मिटिङ विथ रिमार्केवल वुमन’ पुस्तकमा गरेका छन्।

पण्डित जवाहरलाल नेहरू र बीपी कोइरालामा पनि यस्तो प्रभाव सघन पाइन्छ। यस्तो प्रभावलाई विस्तार गर्न प्राध्यापक संगीता रायमाझीको ‘क्यान वुमन रिवेल’ शीर्षकको पुस्तक विमोचनका अवसरमा भण्डारी सरले गर्नुभएको टिप्पणी म यहाँ सान्दर्भिक देख्छु। उहाँले भन्नुभएको थियो, ‘पुरुष कहिल्यै पनि नारीको ईष्र्यालु हुन सक्दैन। के साँढे गाईप्रति ईष्र्यालु हुन सक्ला ? साँढे गाईप्रति सम्मोहित मात्र हुन सक्छ।’

यसैगरी यौन र नग्नता उपरको भण्डारी सरका टिप्पणीलाई कतिपय पाठक सपाट रूपमा बुझिदिन्छन्। किनकि, उनीहरू नग्नता र अश्लीलता बीचको भेद खुट्याउन नसक्दा नग्नतालाई अश्लीलताको अर्थमा लिन पुग्छन्। उहाँ यस्ता खाले जटिलतालाई कटाक्षका वाणले सहजै चिरिदिनुहुन्छ। नग्नता कम्मरमुनि मात्र नभएर गर्धनमाथि पनि हुन सक्छ भन्ने कुरा उहाँले एउटा प्रसंगबाट विनिर्माण गरिदिनुभएको थियो। एकपल्ट अख्तियारले भ्रष्टाचारको अभियोगमा केही कर्मचारीलाई अदालतमा लैजाँदै गर्दा तिनीहरूले आफ्ना अनुहार रुमालले छोपेका थिए। त्यसै बखत भण्डारी सरले आफ्नो नियमित स्तम्भमा ती भ्रष्ट कर्मचारीका नाकभन्दा पशुपतिका नागा बाबाहरूका लिंग सुन्दर र दर्शनीय छन् भनेर लेख्नुभएको थियो। ‘भ्रष्टाचारीहरू नाक छोप्छन् तर नागा बाबाहरू लिंग प्रदर्शन गर्छन्’, श्लील ‘सेन्स अफ ह्युमर’ थियो उहाँको।

शक्ति र सत्ताबाट विकर्षित भण्डारी सर सत्य र निश्छलताबाट अभिभूत पाइनुहुन्छ। आफूलाई विद्वान् भनाउनेहरूसँग उहाँको कट्टी छ। ‘त्यो धर्ती, त्यो आकाश’ निबन्धसंग्रहको एउटा निबन्धमा उहाँ लेख्नुहुन्छ, ‘तिमी, शीला र पल्लो घरको ज्यापूको लाटो छोरासित म नरकमा पनि जान तयार छु, यहाँका धेरैजसो राजनीतिज्ञहरू, बुद्धिजीवीहरूसित स्वर्ग जान पनि तयार छैनन्। तिमीहरू नर्कमा गए पनि स्वर्ग निर्माण गर्छौं, तिनीहरू स्वर्गमा गए पनि स्वर्गलाई नर्कमा रुपान्तरित गरिदिन्छन्।’

एउटा सुदीर्घ प्राध्यापन कर्म र ओजिला लेखमार्फत डीपी भण्डारी नामको आभा र काया नेपाल र दक्षिण एशियाको आकाशमा स्थूल रूपले स्वभायमान छ। तर त्यस विराटरूपका जराहरू डोटीका निरोली गाउँका भीरपाखा, फाँट, दहवन र गोठहरूमा पातालसम्म गढिएका छन्। उहाँका मार्गदर्शन, दीक्षा र संगतले चाहे ती उहाँका विद्यार्थी हुन् वा पाठक एउटा भयंकर अज्ञानता तथा अँध्यारोपनाबाट प्रकाशतर्फको उध्र्वगामी यात्रा गर्न सक्छ, मुक्ति पाउन सक्नेछ। उहाँका शिष्य हुन पाउनु मेरो सौभाग्य हो र यसै आदरभावले मैले आफ्नो पहिलो साहित्यिक कृति ‘मैले नदेखेका हिप्पी’ उहाँप्रति समर्पित गरेको थिएँ।

स्मृति क्षयका कारण सायद भण्डारी सरले स्वयंलाई पनि बिर्सिसक्नु भएको हुन सक्छ। हामी सबै अब उहाँको विस्मृतिमा पुगिसकेका छौं। तर, खगेन्द्र दाइकै शब्द सापट लिएर उहाँको सदा स्नेह वर्षा गर्नुभएको चेलो म पनि भन्छु, ‘सर, तपाईंले बिर्से पनि ती बितेका दिनको सम्झना गर्दै हामी तपाईंलाई भारी हृदयले सम्झिरहनेछौं।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.