असिना पानीले बर्दियामा बाली नष्ट
गुलरिया : शुक्रबार राती परेको असिना पानीले बर्दियामा लगाइएको बाली नष्ट पारेको छ। पश्चिमी वायुको प्रभावले परेको पानीसँगै आएको असिनाले तोरी, आलु, मुसुरो लगायतका खेती नष्ट पारेको हो।
बर्दियाको गेरुवा गाउँपालिकाका सन्तोष पौडेलले उखेलेर राखिएको तोरी असिनाले पिटेर सोत्तर पारेको अन्नपूर्णलाई बताए। उनले भने, ‘सुकाउन राखिएको तोरी स्यहार्न नपाइ असिनाले बिगार्यो।’
असिनाले खेतीमा पारेको क्षतिको सम्पूर्ण विवरण आउन बाँकी नै छ। बर्दियाका सबैजसो स्थानीय तहमा असिनापानीले क्षति पुर्याएको छ।
ठाकुरबाबा नगरपालिकाका रामबहादुर शाही पनि असिनाका कारण पीडित छन्। उनले भने, ‘असिनाले आलु, तोरी लगायत मसुरो पनि बर्वाद पार्यो। कहिले बाढीले सताउँछ त कहिले असिनाले,’ शाहीले थपे ,‘बर्दियामा लगाइएको हिउँदे खेती असिनाले सखाप पार्यो।’