सप्तरीमा बालिका बलात्कार गर्ने अभियुक्तलाई आठ वर्ष कैद
राजविराज : सरस्वती पूजाबाट घर फर्किरहेकी बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई जिल्ला अदालत सप्तरीले आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
गत वर्ष श्रीपञ्चमीको दिन सरस्वती पूजा गरेर घर फर्किँदै गरेकी ११ वर्षीया बालिकालाई बलात्कार गरेका सप्तरीको महदेवा गाउँपालिका–२ का ५० वर्षीय रामसुन्दर राउतलाई अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको हो ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलाशले राउतलाई आठ वर्ष कैद सजाय साथै अभियुक्तबाट पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका कर्मचारी अशोक महतोले जानकारी दिए ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ स्थित सार्वजनिक बाटोमा बालिकासँग माटो उठाइदिन सहयोग मागेर अभियुक्तले बलात्कार गरेको बताउँदै पीडितले घटना भएकै दिन जिल्ला प्रहरी कार्यालयमा हुलिया उजुरी दिएकी थिइन् ।
विद्यालयबाट सरस्वती पूजा गरी घर फर्किरहेकी बालिकालाई ०७४ माघ ८ गते बलात्कार गरेको भन्दै राउतलाई प्रहरीले ०७४ माघ १९ गते पक्राउ गरेको थियो ।