जीवन उत्सवमय बनाउने कला
‘प्रेम के हो र कसलाई किन गरिन्छ प्रश्न नगर, जीवनलाई आदर गर, प्रेम गर। जीवनजत्तिको पवित्र, सुन्दर, उत्सवपूर्ण र प्रेमपूर्ण अरू चिज नै छैन।’ ओशोको इशारा हुनुपर्दछ- प्रेमको कुनै परिभाषा छैन। प्रेम कुनै सम्बन्ध पनि होइन। प्रेमको कारण सम्बन्ध रहन सक्छ तर प्रेम त प्रत्येक व्यक्ति र प्राणीमा हुनुपर्ने एउटा सद्गुण हो।
जान्नु र जिउनुको अनुभूति नै प्रेम हो किनभने जबसम्म प्रेम बोधमा आउँदैन तबसम्म प्रेमका बारेमा प्रश्न नै तेर्सिरहन्छ। तेस्रो इस्वी शताब्दीतिर सन्त भ्यालेन्टाइनले फेब्रुअरी १४ का दिन जेलबाट आफ्नी प्रेमिकालाई प्रेमपत्र लेखेर अन्त्यमा तिम्रो प्रेमी भ्यालेन्टाइन भनेर सम्बोधन गरेका कारणलाई आधार मानेर प्रेम दिवसको सुरुवात भएको मान्दै आइएको छ।
पश्चिमा देशहरूमा फेब्रुअरी १४ अर्थात् प्रेम दिवस एउटा वार्षिक उत्सवका रूपमा मनाउन थालेको धेरै भएको भए पनि नेपालको इतिहासमा एक दशकयता यो दिनको महत्व बर्सेनि अरू बढ्दै गएको पाइन्छ। प्रेमलाई जानेर या नजानेर, हाम्रो प्रेम गर्ने तरिका र मान्यता या प्रेमको चाहना जेजे कुरालाई आधार मानेर प्रेम दिवस मनाउने संस्कारको विकास भएको भए पनि प्रेम के हो बोध गर्न नसक्दा जीवन सधैं प्रेमकै अपेक्षामा बित्न सक्छ।
सन्त भ्यालेन्टाइनको प्रसंग मात्रै किन भ्यालेन्टाइन दिनको हाराहारीमा श्रीस्वस्थानी व्रतकथाको समापन दिवस पर्दछ। हाम्रो स्वस्थानीमा पनि त भगवान् शिव र पार्वतीको जीवन्त प्रेमलाई नै प्रस्तुत गरिएको छ। भगवान् शिवले आफ्नी प्रेमिका र पार्वतीको मृत शरीरका प्रत्येक अंग समाप्त नहुञ्जेल बोकेर डुलेको कथा कम सान्दर्भिक र मार्मिक छ र ? शिव र सतीको प्रेम, दिव्यप्रेम, एकअर्काबीचको श्रद्धा अनि भक्ति झल्किने त्यो प्रेम सन्त भ्यालेन्टाइनको भन्दा कम सन्देशमूलक छ र ? त्यसैगरी सीतारामको प्रेम कहानी, राधाकृष्णको प्रेमलगायतका जीवनीबाट हामीलाई बोध हुन्छ- प्रेम त जीवनलाई उत्सवमय जिउने एउटा कला हो।
हुन त आजको प्रेमको तरिका, विशेषगरी युवा जमातमा आफ्ना प्रेमी-प्रेमिकाबीच रातो गुलाब, भ्यालेन्टाइन चकलेट, कार्ड र उपहार आदान-प्रदान गर्ने प्रचलनमा सीमित भएको हो कि भन्ने भान हुन्छ। अनुसन्धानले बताएको छ- युरोप, अमेरिकामा गुलाबको फूल र भ्यालेन्टाइन कार्ड वर्षभरि बिक्री हुने संख्याको २५ प्रतिशत भ्यालेन्टाइन डेको अवसरमा बिक्री हुने गर्दछ। नेपालको बजारमा पनि अहिले आयातीत गुलाबका फूलहरूले फूल पसलहरू भरिएका छन्। युवाजोडीहरू भ्यालेन्टाइन डे कसरी मनाउने भनेर कार्यक्रम तय गर्दैछन्। एउटा छुट्टै रौनक र तरंग छाएको महसुस गर्न सकिन्छ।
प्रेम गर्नु र प्रेम दिवस मनाउनु, कार्यक्रममा रमाउनु पटक्कै नराम्रो कुरा होइन तर प्रेम दिवसले दिन खोजेको वास्तविक सन्देश बुझिएको छ कि छैन ? फेब्रुअरी १४ मात्र होइन, ३६५ दिन नै कसरी प्रेममय बनाउने ? आफ्नी प्रेमिकासँग मात्र होइन, घर-परिवार, साथीभाइ, आफन्तमा कसरी प्रेमको सम्बन्ध राख्ने त्यो महत्वपूर्ण पक्ष हुन आउँछ। मानिस नै त्यस्तो जात हो, जो नक्कल गर्न सधैं अगाडि हुन्छ। फेब्रुअरी १४ को भ्यालेन्टाइन डेको नक्कल गरिएको छ कि वास्तविक प्रेमको महत्व अनि व्यावहारिक पक्षको ख्याल गरिएको छ त्यो महत्वपूर्ण कुरा हो। प्रथमतः प्रेमकै कारण मानिसले जन्म प्राप्त गर्दछ।
मानिस भएर जन्म लिएपछि गाँस, बास, कपास अनि जीवन जिउन प्रेम उसको पहिलो आवश्यकता हो भन्ने सबैलाई ज्ञात छ। त्यसपछि उसको कर्मले, उसको असल नियत र सही दिशानिर्देश भएमा अरू धेरै धन, पद, सम्मान आदि उपमाहरू पनि चाहन्छ मानिस। यो मानवीय स्वभाव हो भनेर अर्थ लगाइन्छ। हामीले जोसुकैलाई प्रेम के हो भनेर सोध्यौं भने सायद उत्तरहरू आउलान्- प्रेम जीवन हो। प्रेम बाँच्ने आधार हो, प्रेम एकअर्काको गहिरो सम्बन्ध हो। प्रेमले खुलेर जिउन सिकाउँछ। प्रेमले मात्र खुसी प्रदान गर्छ। प्रेमबाट नै सम्बन्ध कायम रहन्छ र जीवन चल्छ आदि-आदि।
हामीले पनि यही नै अनुभूति गर्दै आएका छौं- प्रेमका कारण घरपरिवारको सिर्जना हुन्छ। प्रेमकै कारण एकअर्कासँग जीवन बाँधिन पुगेको हुन्छ। प्रेमकै कारण एकले अर्कालाई सहयोगी हात बढाएको हुन्छ। वास्तवमा भन्नुपर्दा प्रेमले नै संसार चलेको छ। तर गहिरिएर हेर्ने हो भने जति प्रेमले संसार बसाएको छ त्यति नै प्रेमकै नाममा सखाप भएका घटनाहरू पनि हाम्रै समाजमा सुन्नमा आउँछन्। किनकि प्रेम सम्बन्धमा बाँधियो।
प्रेमी-प्रेमिकाबीचको प्रेम होस् या पतिपत्नीबीचको प्रेम, बा-आमा र छोरा-छोरीबीचको प्रेम, साथीभाइ, इस्टमित्रबीचको प्रेम होस् या अरू कुनै सम्बन्ध बनाएको प्रेम होस्। सम्बन्ध छ र प्रेम छ, यो कारणवश गरिएको जस्तो प्रेम नै हामीले बुझ्दै आएका छौं। त्यसैले त सम्बन्ध रहँदासम्म प्रेमको अनुभूति छ, रमाइलो र खुसी छ।
सम्बन्धमा टकराव आउनासाथ खत्तम, छुट्यो प्रेम, अब प्रेममा मुद्दा पर्न थाल्छ। प्रेम अब न्यायका लागि अदालत धाउन थाल्छ। यही यथार्थ हाम्रो जीवनमा, घरघरमा, समाजमा हामीले भोगेका, देखेका र जानेका यथार्थ हुन्। प्रेमको वास्तविक महत्व थाहा नभएको, प्रेमलाई जीवन जिउने सूत्र नबनाएको, प्रेमलाई देखासिकीका रूपमा अपनाइएको र प्रेमलाई प्रेम नै रहन नदिएर यसलाई आफ्नो स्वार्थसँग, सम्बन्धसँग जोडिन पुगेको छ भने हामीले हाम्रो सद्गुणको प्रयोग गरेका छैनौं।
प्रेम कुनै उपन्यास र सिनेमा अनि कथा होइन, जोकहींबाट सुरु हुन्छ र कतै गएर टुंगिन्छ। यो त भित्रको अनुभूति हो, जसले विनाकारण जीवनमा ऊर्जा प्रदान गर्दछ। त्यो ऊर्जाले सबैको हित र कल्याणकारी काम गर्दछ र मानिसलाई मानिस भएर जिउन प्रेरित गर्दछ, अनुशासनमा राख्छ।
केही पाउँदा खुसीको अनुभूति हुन्छ प्रेमको भाव प्रकट हुन्छ, नपाउँदा चित्त दुख्छ, गुनासो बढ्छ भने त्यो प्रेम होइन। प्रेममा कुनै गुनासो हँुदैन। प्रेममा त मात्र समर्पण हुन्छ। प्रेम दिने भाव हो लिने भाव होइन। प्रेम विशाल अनुभूति हो, विशाल ऊर्जा हो, जसले जीवन सुन्दर, शान्त र उमंगमा जिउन मद्दत गर्दछ।
प्रेममा अशान्त, धोका, अभाव आदि छ भनिन्छ भने त्यो प्रेम होइन। न त प्रेम गर्ने कुरा नै हो। पाउँदा खुसी र नपाउँदा दुःखी हुनु भनेको के हामीले प्रेमलाई अपेक्षाको साधन बनाएका त छैनौं ? हाम्रा वासना, कामना र चाहना प्राप्त हुन र गुम्न सक्छन्। प्रेम नपाइने कुरा हो, नगुम्ने कुरा, प्रेम हाम्रो स्वभाव हो, हाम्रो सद्गुण हो, हुनु र छको बोध नै प्रेम हो।
प्रेम अस्तित्व हो, भगवान् हो, परमात्मा हो, यसलाई व्यक्तिले जुन कुरासँग तादात्म्य जोड्न मन पर्छ, त्यसैसँग जोड्छ। जुन नामसँग उसलाई खुसी मिल्छ, जोसँग उसलाई आनन्द मिल्छ त्यसकै नाम प्रेम हो। प्रेम कुनै सिद्धान्त होइन। कुनै बौद्धिक चर्चा र अनुसन्धानले प्रेमलाई पुष्टि गर्न सकिँदैन। जसले प्रेमको सागरमा पौडिन जानेको छैन उसले पौडिने कसरी भनेर अनेकौं किताब पढे पनि अनुभवविना पुष्टि गर्न सक्दैन।
प्रेम दिन जान्नेले प्रेमको अनुभूति गर्न सक्छ। निडर, निर्भय, समर्पण, भक्ति र श्रद्धा जस्ता गुण आफूमा कायम राख्न सक्नेले मात्र प्रेम जान्न सक्छ। प्रेम अधिकार होइन, त्याग हो भन्ने अहंकार तिरोहित भएको अवस्थामा प्रेम जान्न सक्छ। जहाँ पनि समर्पित हुने अवसर आउँछ, त्यो अवसर नगुमाउने व्यक्तिले नै प्रेममा जिउने कला जानेको हुन्छ।
हाइलाइटभगवान् शिवले आफ्नी प्रेमिका र पार्वतीको मृत शरीरका प्रत्येक अंग समाप्त नहुञ्जेल बोकेर डुलेको कथा कम सान्दर्भिक र मार्मिक छ र ? शिव र सतीको प्रेम, दिव्यप्रेम, एकअर्काबीचको श्रद्धा अनि भक्ति झल्किने त्यो प्रेम सन्त भ्यालेन्टाइनको भन्दा कम सन्देशमूलक छ र ?