औषधि अभावले कालाजारका बिरामी उपचारविहीन

औषधि अभावले कालाजारका बिरामी उपचारविहीन

राजविराज : सन् २०२० मा उन्मुलन लक्ष्य लिइएको कालाजारको संक्रमित सप्तरीमा चार वर्षपछि फेला परेको छ ।

उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल आएका छिन्नमस्ता गाउँपालिका ७ हाटीका ३५ वर्षीय मधुराम सदा कालाजार संक्रमित रहेको अस्पतालले समेत पुष्टि गरेको छ ।

कुष्ठ रोगको शंका लागि उपचारका लागि धनुषाको लालगढ अस्पताल गएका उनलाई कालाजार भएको भन्दै सो अस्पतालले फर्काएपछि उनी उपचार गराउन गत सोमबार राजविराजस्थित अस्पताल आएका थिए । परीक्षणका क्रममा  उनमा कालाजार भेटिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

शरीरका गिर्खाहरु परीक्षण गर्र्दै लालगढ अस्पतालले समेत कालाजारकै सम्भावना देखाई उपचारका लागि अञ्चल अस्पताल जान सल्लाह दिएकाले फर्केर राजविराज आएको मधुरामले बताए । पाँच वर्षको उमेरमै मधुरामलाई कालाजार लागेको जानकारी दिदै उनकी आमा ६० वर्षीया गेनादेवी सदाले उतिबेला सगरमाथा अञ्चल अस्पतालमै उपचार गराएपछि रोग निको भएको बताइन् । 

चार वर्षदेखि शरीरका अधिकांश भागमा गिर्खाहरु देखिन थालेपछि कुष्ठरोग लागेको भन्दै श्रीमतीले समेत सदालाई छाडेकी छिन् । ‘कालाजारले ग्रसित उनको शरीरका अधिकांश भागमा गिर्खाहरु देखिएको छ ।’ अस्पतालका मेडिकल रेकर्डर एवं हेल्थ असिस्टेन्ट रामकुमार दियालीले भने– ‘कालाजारको अन्तिम अवस्थामा पुगेका सदालाई तत्कालै विशेष उपचारको आवश्यक्ता भएकाले प्रारम्भिक उपचार गरी रेफर गरेका हौं ।’

संक्रमित सदा भने उपचारविहीन भएर घरमै बसेका छन् । कालाजारको उपचार निशुल्क हुने थाहा पाएर अञ्चल अस्पताल आएको तर अस्पतालमा साधनस्रोत र औषधि नै नरहेको थाहा पाएपछि घर फर्किएको मधुरामले बताए । सरकारले सन् २०२० सम्ममा कालाजार उन्मूलन गर्ने लक्ष्यका साथ निःशुल्क उपचारको घोषणा गरेपनि अञ्चल अस्पतालमा विशेष जाँच र आवश्यक औषधिको अभावका कारण उनको उपचार हुन नसकेको हो । औषधिको अभावमा अस्पतालले उनलाई धरानस्थित बि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरे पनि आर्थिक अभावका कारण उनि घरमै बसेका छन् । 

मधुराम भन्दाअघि २०७२ बैशाख २२ गते बेल्ही चपेना ८ की २४ वर्षीया रीतादेवी राममा र ०७१ फागुन २ गते बैरयाही ७ का १९ वर्षीय जागेश्वर यादवमा कालाजारको संक्रमण देखिएको अस्पतालको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार ०६३ असार २५ देखि हालसम्म सप्तरीमा एक सय ५६ जना संक्रमित फेला परेका छन् । 
त्यसयता कालाजारको रोगी फेला नपरेकाले औषधि मगाउन छाडिएको हुन सक्ने भन्दै अस्पताल प्रशासनले बिरामी फेला परेकाले औषधि मगाइएको जानकारी दिएको छ ।

के हो कालाजार ?
प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्ड फ्लाई’ नामको पोथी भुसुनाको टोकाईबाट मानिसमा कालाजार संक्रमण हुने गर्छ । कालाजार रोग सार्ने भुसुना माटोको घर, नमी भएको ठाउँमा राम्ररी हुर्किन्छ । पोथी भुसुनाले आफ्नो फुललाई पोषणका लागि जनावर वा मानिसको रगत चुस्छ र यसै क्रममा रोगको किटाणु एक रोगीबाट अर्कोमा सारेर संक्रमित पार्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार लिस्मेनियासिसको तीनवटा मुख्य प्रकार छन् । यसअन्तर्गत कालाजारको नामले चिनिने सबैभन्दा गम्भीर रूप भेसरल बाहेक क्युटेनियस र म्युकोक्युटेनियस हो ।. क्युटेनिएस लिस्मेनियासिसले छालामा असर गर्छ, म्युको–क्युटेनिएसले मुख, नाक, घाँटीको आवरणमा असर  गर्छ भने भिसरल लिस्मेनियासिस जसलाई ’कालाजार’ भनिन्छ । कालाजारले कलेजो, फियो जस्ता शरीरका भित्री अंगमा असर गर्दै शरीरको प्रतिरोधात्मक शक्ति घटाउँछ र उपचार नगरेको खण्डमा मृत्युसमेत हुन्छ ।

डब्लूएचओका अनुसार विश्वभरिमा बर्सेनी लिस्मेनियासिसको अनुमानित सात लाखदेखि १० लाख नयाँ केस देखिने गरेको छ भने २० देखि ३० हजार जनाको मृत्यु हुने गरेको छ । परजीवीका कारणले हुने मानिसको मृत्युका कारणहरू मध्ये कालाजार औलोपछिको दोस्रो स्थानमा आउँछ । यो रोगबाट प्रायःजसो गरिब, अशिक्षित, कुपोषित, प्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसहरु पीडित हुन्छन् ।
कालाजारका लक्षण
भुसुनाले टोकेपछि दुई देखि आठ महिनामा देखा पर्ने कालाजार हल्का ज्वरो, कमजोरी र भोकको कमीले सुरु हुन्छ र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो बढ्ने, चिढिने, छाला कालो र खस्रो हुने, राति पसिना आउने, पेट फुल्ने, कमजोरी र पहेलो गाठो देखिने जस्ता लक्षणमा परिणत हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरन्जन यादवले बताए । 

अस्ट्रेलिया र अन्र्टाटिकाबाहेक नेपाल लगायत संसारभरि यो रोग पाइन्छ । तथापि यो रोगको ९० प्रतिशतभन्दा बढी बिरामी भारत, बंगलादेश, इथियोपिया, ब्राजिल र सुडानमा भेटिन्छन् । 
विशेषगरी तराईमा फैलिने रोगका रुपमा लिइएको कालाजार जलवायु परिवर्तनसँगै बढदो तापक्रम र यातायातको सुगमताले तराईबाट सामान गाडीमा पहाडमा लाने बढदो क्रमले पछिल्लो समय पहाडी जिल्लाहरूमा समेत कालाजारको असर देखिन थालेको विशेषज्ञहरू बताउँछन् ।

हालसम्म कालाजार लाग्नबाट बचाउने कुनै खोप वा औषधि छैन् । ‘स्यान्ड फ्लाई’ नामको भुसुनाको टोकाइबाट बच्नु नै यसको संक्रमणबाट बच्ने प्रभावकारी उपाय हो । तर कालाजार लागेमा उपचार गरे निको हुन्छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने एम्फोटेरेसिन बि, सोडिएम स्टिबोग्लुकोनेट, मिल्टेफोसिन आदि कालाजार विरुद्ध प्रयोग गरिने औषधि हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.