'एचआईभी सफलता शिक्षा सदन' पहिचानसहितको विश्वकै पहिलो स्कुल
काठमाडौः आठ वर्षदेखि कीर्तिपुरको भत्केपाटीमा सञ्चालित एचआईभी स्कुल विश्वको पहिलो पहिचानसहितको स्कुलको रुपमा प्रमाणित भएको छ । लन्डनमा 'वर्ल्ड बुक अफ द रेकर्डस्' संस्थाको सर्वेक्षणका आधारमा 'एचआईभी सफलता शिक्षा सदन' एचआईभी पहिचानसहितको पहिलो विद्यालय प्रमाणित भएको हो ।
२०६८ सालमा स्थापित यस विद्यालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र दिएका हुन् ।'सफलता' नाम भएको पहिचानसहितको यो विद्यालयले आफनो उद्धेश्य अनुसार मर्यादित र स्वस्थ्य नागरिक बनाउन लागीपरेको भन्दै प्रमले बधाई दिएका छन् ।
'बेबी लाईफ होम' का रुपमा ०६७ सालमा स्थापित यस संस्थाले पश्चिम नेपालका दाङ, बैतडी, कैलाली, सल्यान, दैलेख, सुर्खेत, रोल्पा र कञ्चनपुरबाट एचआईभी संक्रमित बालबालिकाको उद्दार गरेर ल्याएको थियो ।
संस्थाका अध्यक्ष राजकुमार पुन र उमा गुरुङले बालबालिकाकालाई पढाउन विभिन्न स्कुलमा चहार्दा भर्ना लिन नमानेपछि आफैँले यो स्कुल खोल्नु परेको अनुभव सुनाए । हाल यस विद्यालयमा २२ जना संक्रमित बालबालिका र एकजना सामान्य बालक अध्ययनरत छन् ।
पहिचानसहितको विद्यालय स्थापना गर्न निकै सकस परेपनि बालबालिकाको उज्वल भविष्यका लागि चुनौती सहेर अघि बढेको पुनले बताए ।
सुरुमा सरकारले पनि अनुमति दिन आनाकानी गरेको थियो । तर बिस्तारै कक्षा बिस्तार गरिँदै लगेको उनले बताए । 'दर्ता गरेरै एचआईभी पहिचानसहितको विद्यालय खोलेका हौँ', पुनले भने ।
अफ्रिकन मुलुकहरुमा पनि एचआईभी स्कुलहरु सञ्चालित छन् तर कतै दर्ता गरिएको छैन ।संस्थाका अध्यक्ष सागर कटुवालले यसका लागि नेपालबाट सम्पूर्ण प्रक्रिया मिलाएका थिए ।
छनौट समितिमा लण्डनका एकजना सांसद थिए । जसले यो विद्यालयको संसारको पहिलो भएको प्रमाणित गरेका हुन् ।
सञ्चालन अनुमतिका लागि निकै संघर्ष गरेको विद्यालयले हाल दश कक्षासम्मको पढाई सुरु गरेको छ । २३ जना बालबालिकामध्ये प्रकाश, उर्मिला र मञ्जु १० कक्षामा पुगिसकेका छन् । उनीहरु बुझ्ने भइसकेकाले आफ्नो पहिचान खोज्न थालेका छन् ।