बूढासुब्बा गोल्डकप संकटा र झापा बराबरीमा
धरान : २१औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा संकटा र मेची नेत्रालय फुटबल ट्रेनिङ सेन्टर झापा बराबरीमा रोकिएका छन्। धरान रंगशालामा आइतबार भएको उद्घाटन खेलमा निर्धारित समय, टाइब्रेकर र सडन डेथमा समेत दुवै टोलीले समान गोल गरेपछि खेल बराबरीमा रोकिएको हो। समय अभावका कारण खेलको नतिजा ननिस्किएपछि खेल सोमबार पुनः सञ्चालन गरिने आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ।
प्रतियोगिताको निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकर र सडन डेथमा समेत दुवै टोलीको तर्फबाट बराबरी गोल भएपछि समय अभावका कारण खेलको छिनोफानो गर्न नसक्दा नतिजा सोमबार निकाल्ने गरी खेल स्थगित गरिएको आयोजकले जनाएको छ।
खेल अवधिभर ‘ए’ डिभिजन लिग उपविजेता संकटालाई दबाबमा राखेको झापाले अन्तिम समयमा सम्हालिन नसक्दा जित हासिल गर्न सकेन। खेलको १०औं मिनेटमा झापाका कर्ण लिम्बूले फ्रिकिकमार्फत गोल गरी टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा दबाब झेले पनि जय गुरुङले खेलको ६०औं मिनेटमा गोल गर्दै १-१ को बराबरीमा ल्याएपछि संकटा खेलमा फर्किएको थियो।
खेलको ६८औं मिनेटमा झापाका पूजन उपरकोटीले दोस्रो गोल गरी खेललाई २-१ को अवस्थामा पुर्याए। इन्जुरी समयमा संकटाका दीपेश आलेमगरले उत्कृष्ट गोल गर्दै खेललाई २-२ को अवस्थामा पुर्याए। निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइबे्रकरमा ४-४ गोल र सडन डेथमा पनि ५-५ गोलको बराबरी भएपछि समय अभावका कारण खेल स्थगित गरिएको हो।
सोमबार नेपाल पुलिस क्लब र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ।