डीपीएलमा काठमाडौँको विजयी सुरुवात, धनगढी ४ विकेटले पराजित
धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणमा काठमाडौं गोल्डेन्सले विजयी सुरुवात गरेको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा घरेलु टोली धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै काठमाडौँले विजयी सुरुवात गरेको हो।
टस हारेर ब्याटिङ गरेको धनगढीले दिएको १ सय ३३ रनको लक्ष्य काठमाडौंले १९ दशमलव ५ ओभरमा पुरा गर्यो। काठमाडौंका गौरव तोमार २८, अनिल साह २४, अंकिद दबास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्कीले समान २ रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे।
धनगढीका रोहन मुस्तफाले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। टस हारेर ब्याटिङमा आएको धनगढीले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो। धनगढीका अमित श्रेष्ठ ५०, सन्दीप रजाइली २८, सौरभ खनाल २५ रन बनाए।