गुटका कारण एकतामा समस्या : गजुरेल
फिदिम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय हरिवोल गजुरेलले पार्टीभित्रको गुटका कारण एकतामा समस्या भएको बताएका छन्। सोमबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले विभिन्न किसिमका घेराबन्दी र पार्टीभित्रकै गुटका कारण गाउँ तहसम्म पार्टी एकीकरण ढिलो भएको बताए।
‘पूर्व एमाले र पूर्व माओवादी केन्द्र दुईटै पार्टीमा गुटको राजनीति मौलाएको छ,’ गजुरेलले भने ‘गुटलाई चिरेर अघि बढ्न निकै कठिन छ।’ गाउँ तहसम्म पार्टीको संरचना नभएको कारण सरकारले प्रभावकारी रुपमा काम गर्न नसेको उनले बताए।
पार्टी एकीकरणको सम्पूर्ण अधिकार दुई अध्यक्षलाई दिए मात्र एकीकरण प्रक्रिया टुंगोमा पुग्ने गजुरेलको तर्क छ।
पार्टी र देशको संरचना दुईटै नयाँ भएकाले वर्तमान सरकारलाई काम गर्न गाह्रो भएको गजुरेलको ठहर छ।
‘अब सरकाले गति लिनुपर्छ,’ गजुरेलले भने ‘ओली सरकारलाई काम नगर्नुको विकल्प छैन।’ भेनेजुएला प्रकारणमा दुई अध्यक्षको फरक मत स्वभाविक भएको उनले बताए।
‘कम्युनिस्ट पार्टीभित्र वादविवाद हुनु स्वभाविक हो,’ उनले भने, 'दुई अध्यक्षको फरक मतलाई स्वभाविक रुपमा लिनुपर्छ।’ चुनावको बेला माओवादी र एमालेबीच एकीकरण नभएको भए कांग्रेसको हातमा शक्ति जाने थियो भन्दै गजुरेलले एकता भएको पार्टीलाई कुनै हालतमा फुट्न दिनु नहुने बताए।