कालो रङमा उज्यालो संस्कृति
कोठा अन्धकार थियो। कहीँ कतै बत्ती बलेको थिएन। टिकी झ्या (काठले बनेको झ्याल)बाट बाहिरको हल्का प्रकाश कोठामा प्रवेश गरेजस्तो देखिन्थो। कलाकार अजय देशारले इलेक्ट्रिक बल्ब बाले। तर ती बल्बहरू निकै मधुरो बल्दै थिए। यद्यपि कोठाका भित्ताहरू चम्कन थाले। कालो पर्दाअगाडि दियो बलेजस्ता पेन्टिङहरू भित्तामा झुन्डिएका रहेछन्। यही उज्यालो किरणले सारा अन्धकार मेटाएझैं प्रतीत भयो।
यो दृश्य पाटन संग्रहालयको हो। यहाँ कलाकार देशारको एकल चित्रकला ‘अलौरिङ डिभाइन’ प्रदर्शनीमा रहेको छ। उनका हरेक पेन्टिङमा कालो रङको प्रयोग गरिएको छ। त्यही कालो रङमाथि कहीँ दंलुचा (दियो बाल्ने पित्तलको भाँडो), कहीँ चिलाग (चिराग), मतबियु (मन्दिरमा बत्ती बाल्नु) का साथै रातको चिसोमा आगो ताप्दै गरेका चित्रहरू समावेश छन्।
आगन्तुकहरू प्रदर्शनी कक्षको ढोकाबाट भित्र पस्नेबित्तिकै भन्थे, ‘ओहो कस्तो अँध्यारो कोठा।’ कलाकार देशार भने अझै कृत्रिम बत्तीको उज्यालो कम गर्ने सोचमा थिए। प्रदर्शनीमा आउने हर कोहीले आफंै उज्यालो खोजून् भन्ने उनी चाहन्थे।
देशारका हरेक पेन्टिङले उज्यालोको महत्त्व बुझाउन खोजेको छ। उनी भन्छन्, ‘हाम्रो संस्कृति नै हाम्रो उज्यालो पक्ष हो।’ जस्तोसुकै परिस्थितिमा पनि मौलिक संस्कृतिले दिने पहिचान बचाइराख्नुपर्ने उनको भनाइ थियो। ‘अन्धकार सधैं उज्यालोमा लुक्छ’, उनी भन्छन्, जीवनका उज्याला रङहरूले नै अँध्यारो पक्षहरू हटाउने हो।’
देशारको बुझाइमा सम्भावना नदेख्नु नै अन्धकार हो। प्रयास गरेमा हामीले हाम्रो परम्परा जोगाइराख्न सक्ने उनले बताए। तर, कला बचाउन अहिलेको स्थानीय सरकारले पहल नगरेकोमा उनी दुःखी छन्। यसलाई उनले ‘भैरब फेस्टिवल’ शीर्षकको एक पेन्टिङबाट दर्शाउन खोजेका छन्। त्यहाँ लेखिएको छ , ‘तिमी अन्धकारमाथि शासन गर्न चाहन्छौ भने पहिले उज्यालोमाथि शासन गर्नू।’
पछिल्लो समयमा थुप्रै नेवारी संस्कृति लोप हुँदै गएकोप्रति उनले आफ्नो चित्रमार्फत चिन्ता व्यक्त गरेका छन्। ‘सांस्कृतिक हस्तान्तरण हुन नसक्दा हाम्रा परम्परा मासिँदै छन्’, उनले भने, ‘संस्कृतिको गलत व्याख्याले हाम्रो अस्तित्व अझै धरापमा परेको छ।’
देशारका कतिपय चित्रमा संस्कृतिलाई जीवित राख्ने पात्रहरूको अनुहार समेटिएको छ। ‘हिरो बिहाइन्ड दी सिन’ शीर्षकको पेन्टिङमा देशारले चिराग बालेर जात्राको शुभारम्भ गर्ने व्यक्तिलाई दर्शाएका छन्। उनी भन्छन्, ‘यो यस्तो पात्र हो जसलाई हामी कहिल्यै वास्ता गर्दैनौं।’ जात्रा सञ्चालनको अहम् भूमिकामा रहने यी व्यक्तिको हातमा हाम्रो संस्कृति बाँचेको उनी बताउँछन्।
यस्तै पात्र देशारको ‘हिरो अफ दी जात्रा’ शीर्षकको पेन्टिङमा पनि देख्न सकिन्छ। यी पेन्टिङमार्फत देशारले संस्कृति बचाइराख्ने पात्रहरूलाई पनि समाजले बचाइराख्नुपर्ने सन्देश दिन खोजेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकाका धेरै जात्रा ‘वान म्यान आर्मी’को भरमा सञ्चालन भइरहेछ। तिनमा भक्तपुरको जिब्रो छेड्ने जात्रा, पाटनको खड्ग जात्रालाई उदाहरणका रूपमा लिन सकिन्छ।
नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न ढिलाइ गरेमा थुप्रै सांस्कृतिक र पारम्परिक सीपहरू हराउँदै जाने खतरा बढेको छ। पछिल्लो समय काष्ठमण्डप पुनर्निर्माणमा परम्परागत काष्ठकलामा काम गर्न सक्ने व्यक्ति उपत्यकामै एक जना वृद्ध मात्र भएको कुरा अगाडि आयो। यसले भविष्यमा हाम्रा मौलिक पहिचान लोप हुने खतरा बढेको छ। देशारको पन्टिङमा यस्तै खतरामा परेका सूचकहरूलाई अगाडि ल्याइएको छ। तिनमा ‘अमिताभ बुद्ध’ र अन्य थुप्रै लोपोन्मुख टुँडालहरूमा खोपिएका देवदेवीका मूर्तिहरूको पेन्टिङमा देशारको सन्देशलाई बुझ्न सकिन्छ।
उनको पेन्टिङमा भैरवजात्रा, मास्क डान्सजस्ता उपत्यकामा मनाइने सांस्कृतिक पर्वहरू देख्न सकिन्छ। देशारले पेन्टिङको आयुलाई लामो समयसम्म टिकाइराख्न क्यानभासका साथै ढुंगाका टुक्राहरूमा पनि पेन्टिङ गरेका छन्। हालसम्म उजागर नभएका नेवारी संस्कृतिक पक्षहरूको सँगालो उक्त पेन्टिङमा भेट्न सकिन्छ।
यी सबै पेन्टिङबाट कलाकार देशारले जहाँ नकारात्मकता हुन्छ, त्यहाँ सकारात्मक पक्ष पनि अवश्य हुन्छ भन्ने दर्शनमा विश्वास गर्नुपर्ने बताउन खोजेका छन्। कालो रङलाई प्रायः कलाकारहरू आफ्नो पेन्टिङको मुख्य हिस्सा बनाउँदैनन्। तर, देशारले कालो रङमाथि नयाँ प्रयोग गरेका छन्। साथै यसमा सांस्कृतिक धरोहरका उज्याला पक्षहरू समावेश गरेका छन्।
पाटन संग्रहालय तथा योङ पिकासोद्वारा संयुक्त रूपमा आयोजित उक्त प्रदर्शनी गत आइतबार उद्घाटन गरिएको थियो। प्रदर्शनी फागुन ५ सम्म सञ्चालनमा रहनेछ।