उपहार किन्न मलतिर

उपहार किन्न मलतिर

प्रेम गर्नेहरूको पर्व भ्यालेन्टाइन डे को सप्ताह चलिरहेको छ। एकअर्काबीचको आत्मीयता प्रदर्शन गर्न उपहार दिइने गरिन्छ। उपहार प्रेमको निसानी पनि हो। एकअर्काको सम्झना यादगार बनाउन उपहार दिने चलन चलेको हो।

अहिलेका युवा पुस्ताको उपहार क्रेज पनि निकै ठूलो छ। उपहार किन्न फुटपाथदेखि ठूलाठूला मल धाउनेको संख्या पनि प्रशस्तै भइसकेको छ। आफूले खोजेका अनेक सामान एउटै छानामुनि पाइने भएकाले पनि किनमेलका लागि मानिसको पहिलो रोजाइ मल तथा सपिङ सेन्टर पर्न थालेका छन्।

भक्तपुरकी रमिला महर्जन काठमाडौंको कमलपोखरीमा रहेको सिटी सेन्टरमा भेटिएकी थिइन्। उनी श्रीमान्का लागि रेवन कम्पनीको गगल्स छान्न व्यस्त थिइन्। सिटी सेन्टरको पहिलो तलामा रहेको गिफ्ट हाउसमा उनीसँगै उनका श्रीमान् पनि थिए। उनका श्रीमान् रमिलाका लागि ब्रान्डेड घडी छान्दै थिए।

उनीहरूको पहिलो भेट पनि सिटी सेन्टरमै भएको थियो। पहिलो भेटमै एकअर्कालाई मन पराएका उनीहरूले दुई वर्षअघि बिहे गरेका हुन्। प्रायजसो लुगा तथा एसेसरिज किन्न उनीहरू यही मलमा आउनै गर्छन्। किन त ? सामान ओरिजिनल पाइन्छ। ब्रान्डेड सामान एउटै थलोमा पाइने हुँदा उनीहरूको रोजाइ बनेको हो मल।

न्यु इयर होस् कि पे्रम दिवस,। दसैं, तिहार तथा एकअर्काको जन्मदिनमा केही न केही उपहार एकअर्कालाई दिने गरेका छन् उनीहरूले। गिफ्ट कस्तो र के के किन्ने त ? भन्छन्, ‘के आवश्यक छ नोटिस गर्ने र केही अकेजन पारेर किनिदिने। यसले गर्दा उपहार पनि भयो आवश्यकता पनि पूरा भयो।

यो गिफ्ट पसलका सिनियर सेल्स म्यान हुन्, गणेश थापा। उनका अनुसार यो पसलको मुख्य सोरुम विशाल बजारमा छ। पसल सुरु गरेको ४२ वर्ष भयो। आफ्नो पसलमा विभिन्न ब्रान्डका ओरिजिनल घडी, चस्मा र स्पोर्ट्सका सामग्री पाइन्छन्।

सामान्य पसलभन्दा आफ्नोमा गुणस्तरीय सामान पाइने दाबी उनको छ। एउटा चस्माको मूल्य यो पसलमा १४ हजारदेखि ५० हजारसम्म पर्छ। त्यस्तै ब्रान्डेड घडीहरू पनि सात हजारदेखि ४० हजारसम्म पर्छ। डिजाइनअनुसार मूल्य घटबढ भइरहन्छ।

पहिले पहिले सामान केही सस्तो पाइने बताउँदै थापाले विदेशी मुद्राको भाउ बढ्दा पनि सामान महँगो पर्ने गरेको बताए। आफ्नो पसलमा सीमित र रेगुलर ग्राहक आउने उनको भनाइ छ।

ब्रान्डेड र गुणस्तरीय सामान प्रयोग गर्ने मानिस निकै कम मात्र भएको जनाउँदै मलमा पसल अनुसारका सामान पाइने दाबी गरे। कस्तो पसलमा सामान किन्ने ग्राहकको रुचिको विषय हो।

भ्यालेन्टाइन डे सप्ताह मनाउँदै गर्दा उपहार किन्नेको संख्या वृद्धि भएको पसलेहरू बताउँछन्। यो अवसरमा परफ्युम, ज्वेलरी, मुटु आकारका कार्ड, चकलेटको प्याकेट, गुलाबको फूल, विभिन्न आकार प्रकारका गुडिया, ज्वेलरी तथा एसेसरिज, गमला तथा फूलदानीको माग बढी हुने गर्छ। धेरैजसो ग्राहकको रोजाइमा भने कार्ड, चकलेट र टेडीहरू पर्ने व्यापारीहरू बताउँछन्।

धादिङका रमन रिजाल आफ्नो मिल्ने साथीलाई उपहार किन्न के एल टावर चाबहिल पुगे। के किन्ने अलमलमा परिरहेका थिए उनी। यता उता घुमे, हेरे र अन्तिममा चकलेटको प्याकेट किनेर फर्किए। लामो समयदेखि उनी पनि सपिङका लागि मलमै जाने गरेका छन्। किन त ?       सबै सामान एकै ठाउँमा पाइनुका साथै मूल्य पनि सबैका लागि बराबर नै हुन्छ। अन्य पसलमा जस्तो मान्छे हेरेर मूल्य राख्ने सम्भावना हुन्न। ‘त्यसैले पनि मलमा नै जाने गरेको छु -, उनले भने। मलमा राखिएको मूल्य कत्तिका जायज हुन्छ त ? मलमा किनेका सबै सामान गतिलो हुन्छ त भन्न सकिन्न तर सामान चिन्न र पसलेको विश्वास जित्न सकिए अन्यत्रभन्दा ओरिजिनल सामान पाइनेमा उनी ढुक्क छन्।

आफ्नी गल्फेन्डलाई चकलेट निकै मनपर्ने भएकाले झापाका शैलज लिम्बू चकलेट र ग्रिटिङ कार्ड खोज्दै थिए। राइजिङ मलको बिगमार्टमा भेटिएका उनी पहिलोपटक भ्यालेन्टाइन डे मनाउँदै छन्। ‘त्यसैले पनि केही एक्साइटेड छु-, उनी भन्छन्।

मलको साजसज्जा पनि सुन्दर हुने तथा सपिङ गर्न जाँदा पनि रमाइलो लाग्ने भएकाले उनका लागि पनि मल नै रोजाइमा पर्छ। उनी भन्छन्, ‘यहाँ विभिन्न डिजाइन र ब्रान्डका सामान पाइन्छ। मूल्य नमिले त्यही सामान बाहिर गएर किने पनि भयो। सामान तथा अहिलेको बजारको ट्रेन्ड हेर्न पनि मल उपयुक्त हुने उनको दाबी थियो।

विश्वज्योति मलको पहिलो तलामा न्यु ब्लान्ड सपकी तासु धौलाकोटी आफैं पनि सपिङ गर्नुपर्‍यो भने मलमै पुग्ने गर्छिन्। सामान किन्न धेरैतिर जान नपर्ने हुँदा केही सजिलो हुने उनले बताइन्। उनले आफ्नो पसलमा कस्मेटिकका साथमा विभिन्न प्रकारका एसेसरिज र गिफ्टका सामान पाइने बताइन्। मलको वातावरण नै रोमान्टिक हुने हुँदा धेरै जोडीहरू उपहार किन्न उनकोमा आउने गर्छन्।

भ्यालेन्टाइन डेको अवसरमा केटीहरूले घाँटीमा लगाउने स्टोनका सेट, इयर रिङ, तथा विभिन्न एसेसरिजको माग बढी गर्छन्। त्यस्तै युवतीहरूले आफूलाई मनपर्ने मान्छेका लागि वालेट र परफ्युम बढी किन्ने गरेको उनी बताउँछ्न्। उनले आफ्नो पसलमा भ्यालेन्टाइन सप्ताहको अवसरमा एउटा किन्दा अर्को सित्तैमा जस्ता विभिन्न अफर रहेको जानकारी दिइन्।

उक्त गिफ्ट सपमा आठ सयदेखि १० हजारसम्मका विभिन्न गिफ्ट आइटम पाइने उनले बताइन्। एउटै व्यक्तिले आठदेखि १० हजारसम्मको उपहार किनेको अनुभव उनीसँग छ। एक पटक एउटै परिवारले उपहारकै लागि ३० हजारसम्मको सामान खरिद गरेका थिए।

युवा पुस्ता उपहारमा अत्यन्तै सौखिन छन्। अरूले भन्दा केही फरक सामान दिन चाहन्छन्। त्यसैले पनि विभिन्न मोडल र डिजाइनका एसेसरिजमा मानिसहरू बढी झुम्मिने गरेको उनी बताउँछिन्।

जमल बस्ने कृष्टि र रीना पनि विश्वज्वोति मलमा टहलिँदै थिए। उनीहरू साथीको विवाहमा गिफ्ट दिन टेबल ल्याम्प खोजिरहेका थिए। दिउँसोको १२ बज्दै थियो। विश्वज्योति मलमा सपिङ गर्न आउने मानिसको संख्या पनि बाक्लिँदै थियो। युवा पुस्ताको मलप्रतिको आकर्षण बढ्दो छ। सिनेमा हेर्न जाने व्यक्ति पनि केही न केही सामान खरिद गर्न त्यहाँ आइपुथे।

राइजिङ मलमा रहेको बिग मार्टमा भ्यालेन्टाइनको अवसरमा विभिन्न अफर खुलेको छ। सेल्स म्यान शंकर महर्जनका अनुसार अन्य दिनमा भन्दा अहिले चकलेट, रातो रङका कार्ड, खेलौना तथा मुटु आकारमा निर्मित गिफ्टका आइटमको माग बढी छ।

सिटी सेन्टर कमलपोखरीमा दोस्रो तल्लामा रहेको गिफ्ट सपमा मानिसहरू विभिन्न सामान रोजिरहेका थिए। यहाँ पाँच सयदेखि २० हजारसम्मका गिफ्टका सामान पाइन्छ। व्यापारी विनोद अग्रवालका अनुसार पसलमा वालेट, लेडिज ब्याग, बेल्ट, घडी, चस्मालगायतका सामान पाइन्छ। युवायुवती दुवैको रोजाइमा चस्मा पर्ने भएकाले भ्यालेन्टाइनको अवसरमा चस्मा बढी विक्ने जानकारी उनले दिए। अहिलेका युवायुवती एकअर्कालाई चाहिने सामग्री उपहारको रूपमा दिने चलन बढी छ। अहिलेका युवा आफूलाई मन परेको सामान किन्न पैसामा सम्झौता नगर्ने उनको अनुभव छ।

दिन ढल्किँदै जाँदा मलमा मान्छेको संख्या बढ्दै थियो। कोही परिवारसँगै, कोही जोडी तथा केही युवकयुवती बेग्लाबेग्लै समूहमा थिए। आइतबार सरस्वती पूजाको दिन भएर पनि होला धेरै स्कुलमा बिदा थियो। स्कुल पढ्ने विद्यार्थी चाबहिलको केएल टावरमा रहेको गेम सेन्टरमा झुम्मिएका थिए। साना बच्चाहरू परिवारको साथमा आएका थिए भने ठूला विद्यार्थी आफ्नो समूहमा गेम खेलिरहेका थिए। मलहरूमा मानिसको घुइँचो थियो। मलमा सपिङ गर्न मात्र नभएर, खाजा खाना, फिल्म हेर्न, भेटघाट गर्न तथा रमाइलो गर्न पनि मानिसहरू आउने मल सञ्चालकहरू बताउँछन्।

कोहीले लुगा उपहार दिन्छन् त कोहीले गरगहना, कोही भने मोबाइल, ट्याब तथा ल्यापटप खरिद गरिरहेका थिए। धेरैजसो जोडी एक अर्काका लागि फेसनेबल लुगा रोजिरहेका थिए। परिवारका सदस्यहरू बच्चाका लागि खेलौना र ग्याजेट किन्दै थिए।

टावरको पहिलो तल्लामा ग्राहकलाई आकर्षण गर्न मिनी सो पनि सञ्चालन गरिएको छ। विभिन्न प्रकारका डल, कप सेट, वाइन सेट, तथा आकर्षक भाँडा, किरिङ, लुगा, कस्मेटिक आइटम तथा फूलका सेट एउटै सोरुममा उपलब्ध छ। सेलस गर्ल संगीता बराइलीका अनुसार ६ सय ९९ देखि दुई हजारसम्मका टोइज मिनी सो रुममा उपलब्ध छ। यहाँ दुई सय देखि हजारांै पर्ने उपहारका आइटम समावेश छ।

दिउँसोको ५ बजेतिर माछापोखरी छेउमा रहेको बिजी मलमा मानिसको चहलपहल बाक्लो देखिन्थ्यो। कोही एक्जिट डोरबाट बाहिरिँदै थिए भने कोही भित्र पस्दै थिए। भित्र पस्दापस्दै छेउमै बजिरहेका सुमधुर संगीतले मानिसको ध्यान तानेको थियो।

यही मलको गिफ्ट सपमा भेटिइन् आशा कडरिया। उनी श्रीमान्का लागि उपहार किन्न आएकी थिइन्। पसलमा अनगिन्ती सामग्री देख्दा के लैजाने उनलाई छुट्ट्याउन गाह्रो भएको थियो। पसल सञ्चालक समृद्धि कार्की उनको अन्योल हटाउन विभिन्न सामग्रीको महत्त्व बताइरहेकी थिइन्। पढ्न मन पराउने र अलि भलादमी व्यक्तिका लागि उनले आकर्षक फूलदानी र फोटो फ्रेम रोजिन्। ‘गिफ्ट त विशेष हुनुपर्‍यो नि-, उनी मुस्कुराइन्।

पसलमा पाँच सयदेखि १० हजारसम्म पर्ने उपहारका सामग्री रहेको कार्कीले बताइन्। फूलदानी, सिसाफ्रेम, मुटु आकारमा विभिन्न सेट, टोइज, फूलसहितका आकर्षक गमला, सिसाका गिफ्ट आइटम उनको पसलमा रहेको उनले जानकारी दिइन्। साथै मागअनुसार सामान विदेशबाट समेत आयात गरिने उनले बताइन्।

भ्यालेन्टाइनको अवसरमा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट रहेको उनले जानकारी दिइन्। विशेषत भगवान् जडित फ्रेम, फूल, कार्ड र टोइजको व्यापार बढी हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.