सपिङसँगै स्वादिलो खाना
‘एउटा भेज र अर्को बफ मःम ल्याइदिनू है-, आस्था राई (१६) हाइभ लाउन्ज रेस्टुरेन्टमा खानेकुराको अर्डर दिँदै थिइन्। केएल टावरको माथिल्लो तल्लामा रहेको यस रेस्टुरेन्टमा उनी धेरै महिनाको अन्तरालपछि साथीसँग आएकी रहिछन्। लामो कालो केश माथिसम्म बाँधेकी आस्था कालै जिन्सको ज्याकेटमा थिइन्। ‘आज मौसम अलि चिसो छ-, उनले शरीरलाई न्यानो पार्न लगाएको ज्याकेट तान्दै भनिन्। एकै छिनमा आइपुग्यो अर्डर गरेका खानेकुरा। त्यसपछि आस्था र उनकी साथी तातोतातो मःम गपागप खान थाले।
आजभोलि नेपालमा फास्टफुडको कल्चर निकै विकसित भइसकेको छ। कन्टिनेन्टल खाना, कफी, बेकरी, पानी पुरी र चाटको स्वादमा रमाउन मानिसले सफा र शान्त ठाउँ रोज्न थालेका छन्। विशेषगरी मलमा फुड कल्चर अझै मौलाएको छ।
आस्था भन्छिन्, ‘सहरमा खुला ठाउँ छैनन्। साथीभाइ भेटघाट गर्न रेस्टुरेन्टतिर नधाई सुखै छैन।- साथीभाइसँगको भेटघाटमा होस् या फ्यामेली ग्यादरिङका लागि होटल तथा रेस्टुरेन्ट उपयुक्त स्थल बन्न थालेको छ। धुवाँधुलो र प्रदूषणबाट बच्न सफा र शान्त ठाउँको खोजीमा मानिसहरू मलमा रहेका रेस्टुरेन्ट धाउने गरेको हाइभ लाउन्जका हेड अफ दी स्टाफ पासाङ शेर्पा बताउँछन्। ‘प्रायः युवा र परिवारका सदस्य आउने गरेका छन्-, उनले भने।
उनका अनुसार मलमा सपिङ गर्न आउनेका लागि त्यहीँ रेस्टुरेन्ट हुँदा अझै सहज भएको छ। भन्छन्, ‘अन्य समयमा भन्दा मलमा राम्रो फिल्म चल्दा कस्टमरको संख्या ह्वात्तै बढ्ने गर्छ।-
उक्त लाउन्जमा पर्याप्त छ। दुई तल्लामा फैलिएको यो रेस्टुरेन्टले कफी र फास्ट फुडको सेवा दिन्छ। ग्राहकहरू आ–आफ्नो अर्डरका खानेकुरा खाँदै वाईफाई चलाएर रमाइरहेका थिए।
मलमा सञ्चालित कतिपय रेस्टुरेन्टले आफ्नो रेस्टुराको इन्टेरियर डिजाइनमा पनि ध्यान दिएका छन्। ग्राहक आकर्षित गर्न र समयअनुसार परिवर्तन गर्दा समयसापेक्ष हुने भएकाले यस्तो गरिएको सञ्चालकहरू बताउँछन्।
केएल टावरमै भेटिएकी शान्ता राई महिनाको तीन÷चार पटक राम्रो कफीसप धाउने गरेको बताउँछिन्। ‘मलाई क्यापाचिनो निकै मन पर्छ-, उनले हाँस्दै भनिन्। साथीभाइसँगको भेटघाटमा कफीको चुस्की लगाउन प्रायः मलतिरको शान्त ठाउँ रोज्ने गरेको उनले बताइन्।
भ्यालेन्टाइनको महिना भएकाले मल पूरै सजाइएको छ। साथै ५० प्रतिशतसम्मको छुट अफर चलिरहेको छ। लुगा, जुत्ता, अन्य सरसामान र खानेकुरामा समेत केही न केही छुटको व्यवस्थाले ग्राहकको मलमा घुइँचो देखिन्थ्यो।
ग्राउन्ड फ्लोरमा टीभीएस स्कुटरको गोला प्रथा चलिरहेको थियो। मलको झिलिमिलीमा सेल्फी लिने र सपिङ गर्नेहरूलाई भ्याइनभ्याइ थियो। ब्याकग्राउन्डमा निरन्तर अंग्रेजी गीता बज्दा मल प्रवेश गर्ने मानिस झुमिरहेका थिए। १६ फेब्रुअरीसम्म सञ्चालन हुने उक्त सुपर डिस्काउन्टमा ‘लेकाली बिन्स- कफी सपले पनि २० प्रतिशतको छुट अफर राखेको रहेछ।
कफी सपका सुपर भाइजर समिर मगर भन्छन्, ‘अहिले कफीको डिमान्ड निकै बढेको छ।- शुक्रबार र शनिबार ग्राहकको आगमन बढी हुने गरेको उनले बताए।
बाह्र दिनअगाडि मात्र खुलेको उक्त कफी सप १४ फेब्रुअरी भ्यालेन्टाइनको दिन ग्रान्ड ओपनिङ गर्ने तयारीमा छ।
कमलपोखरीमा रहेको सिटी सेन्टरमा पनि फुड कल्चरको प्रभाव देख्न सकिन्थ्यो। मलको गेटमै रहेको ‘वल्र्ड अफ वफल- बेकरी तथा आइसक्रिम सपमा प्रकाश कुमार ब्राउनी एक्सप्रेस वफल बनाउँदै थिए। यो एक किसिमको आँटाको क्रिस्पी चकलेटी केक हो। ग्राहकले अर्डर गरेअनुसार उनी न्युटेला, आइसक्रिम, चोकोलेट, फेरेरो, बनाना र ह्वाइट चोको फ्लेबरमा वफल तयार पारिदिन्थे।
आफ्नो आमाको साथमा आएका १२ वर्षका आयुष श्रेष्ठ उक्त सपबाट चकलेट ओभरलोड वफल अडर गर्दै थिए। उनी भन्छन्, ‘मलाई चकलेट निकै मन पर्छ। स्कुल छुट्टी हुँदा नयाँनयाँ फ्लेबरमा चकलेट वफल खान मम्मीसँग आउँछु।-
चकलेट वफल खानकै लागि अन्य सानासाना स्कुले नानी सिटी सन्टरको गेटमा उभिएका थिए। आठ वर्षीय स्मारिका आफ्ना अभिभावकलाई भन्दै थिइन्, ‘ओरियो चकलेट क्रिम खाने।-
उनकी आमा सुजिता गिरी भन्छिन्, ‘बच्चाको इच्छा पूरा गर्न मलतिर आएकी हुँ। प्रायः स्कुल बिदाको समयमा बाबुनानीलाई मल घुमाउन ल्याउने गरेको उनले बताइन्। ‘खेल्ने, खाने र रमाउने उपयुक्त ठाउँ भएकाले मलतिर आएका हौं-, उनले भनिन्।
मलमा सबै सामान एकै ठाउँमा पाइने र खाने ठाउँको पनि राम्रो व्यवस्था हुने गरेको सानु तिवारी बताउँछिन्। ‘नयाँ स्वाद र युनिक खानेकुराको स्टल मलमा नै हुन्छन्-, उनले भनिन्, ‘म खानाको पारखी भएकाले मलमा खुल्ने रेस्टुरेन्ट धाउने गरेकी छु।-
यो मलमा बालबालिकाको आगमन निकै बाक्लो थियो। ग्राउन्ड फ्लोरमै भ्यालेन्टाइन स्पेसल अफरका विभिन्न स्टल खोलिएका थिए। गेम खेल्दै उपहार पनि जित्न सकिने भएकाले युवाको उपस्थिति बाक्लो देखिन्थ्यो। साथै बालबालिकाका लागि बडेमानको डेडी बियर पनि राखिएको थियो। बौद्ध धर्म मान्ने एक हुल साना नानीबाबु त्यहाँ घुम्न आएका रहेछन्। उनीहरू टेडीसँगै थुप्रै फोटो खिचाउँदै रमाए। लगत्तै तिनका अभिभावकले बाहिर स्टलमा राखिएको चाट खुवाउन लगे।
सिटी सेन्टरकै माथिल्लो तल्लामा रहेको ‘फुड स्टुडियो- मा श्वेता खड्गी डेकोरेसनमा व्यस्त देखिइन्। आफ्नो फुड सप सजाउन उनी आफैं लागिपरेकी थिइन्। ‘भ्यालेन्टाइनको समय भएकाले डेकोरेसन गर्न थालेकी हुँ-, उनले भनिन्। श्वेताले हर्ट सेपमा रातो रङको पेपर काट्दै आफ्नो स्टलभरि झुन्ड्याइन्। सजावटका कारण उनको स्टल निकै आकर्षक देखिएको थियो।
भन्छिन्, ‘यो महिना प्रेमी जोडीको भएकाले हाम्रा लागि पनि निकै विशेष छ।- मलमा आउने ग्राहक फास्ट फुड खान खोज्ने भएकाले श्वेताले आफ्नो फुड स्टुडियोमा सेकुवादेखि स्न्याक्स र चाप्सी राखेकी छन्।
उनको फुडसपसँगै नाइन्टिन ‘सेभेन्टी सेभेन लाउन्ज बार- पनि थियो। जहाँ कफी तथा फास्ट फुडका लागि आएका ग्राहक देखिन्थे। मलको माथिल्लो तल्लामा कफी सपदेखि पिज्जा, मःम र इन्डियन फुडका सप प्रशस्तै देख्न सकिन्थ्यो।
प्रायः नयाँ थिममा खुलेका फुड स्टलमा मानिसको भीड लागेको थियो। ‘अलग सर्भिस दिने ठाउँमा जान मनपर्छ-, रियाज शर्मा भन्छन्। खानेकुराको होटल तथा रेस्टुरेन्ट काठमाडौंभरि भए पनि नयाँ खानेकुराको टेस्ट दिने ठाउँमा जान इच्छुक भएको उनले बताए।
बालाजुमा रहेको बिजी मलमा पनि रेस्टुरेन्ट तथा कफी सप थिए। बसिल क्याफे एन्ड लाउन्ज बार माथिल्लो तल्लामा थियो। त्यहीँ भेटिए आशिष खड्गी। पढाइका लागि उनी ब्वाइज होस्टेलमा बस्दै आएका रहेछन्। उनले मुख बिगार्दै भने, ‘होस्टेलको खाना नमीठो हुन्छ। मीठो खानाका लागि कहिलेकाहीँ रेस्टुरेन्टतिर आउने गरेको छु।-
बिजी मलमा प्रायः विदेशबाट आउने नेपाली भीड देखिन्थ्यो। क्याफेका हेड अफ स्टाफ हरि अधिकारी भन्छन्, ‘आजभोलि हामीले लाइभ म्युजिक राख्न छाडेका छौं तर यो भ्यालेन्टाइनमा लाइभ पर्फमेन्स दिँदैछौं।- बेलुकी ७÷८ बजे ब्यान्डले आफ्नो प्रस्तुति दिने उनले बताए।
क्याफेका सुपर भाइजर अमरबहादुर परियारले सेवा र सुविधाका कारण मलहरूमा रहेका रेस्टुरेन्ट अलि महँगो हुने बताए। यद्यपि ग्राहकहरू आफ्नो सुविधालाई ध्यानमा राखेर मलतिरै आउने गरेको उनी बताउँछन्।
उक्त कफी सपमा हरेक दिन स्पेसल डिस तयार पारिँदो रहेछ। कहिले ग्राहकको इच्छाअनुसार त कहिले सेफ स्पेसल डिस बन्दो रहेछ। स्पेसल डिस खान आइपुगेका राजीव खत्री भन्छन्, ‘आज पलङ तोड सुप खाँदैछु।- साथै मटनको सुकुटी, सांघाई चिकेन, पेपरोनी पिज्जा खानका लागि पनि ग्राहकको भीड लागेको थियो।
जमलमा रहेको विश्वज्योति मलमा पनि ‘टिङ टङ- कफी सप छ। उक्त कफी सपमा कफीका विभिन्न परिकारको स्वाद लिन सकिने त्यहाँका स्टाफ सुदीप खड्काले बताए। ‘ग्राहकलाई आकर्षित गर्न बर्गर र फ्रन्च फाईको पनि व्यवस्था गरिएको छ-, उनले भने। विश्वज्योति मलमा वैशाखबाट फिल्म हल सञ्चालन हुँदैछ। ग्राहकको आगमनलाई बढाउन हलले मद्दत गर्ने उनले बताए। मलहरूमा समयसमयमा हुने विभिन्न खाले इभेन्टको समयमा कफी सपमा विशेष भीड लाग्ने गरेको पनि उनी बताउँछन्। ‘रेस्टुरेन्ट तथा कफी सप भएन भने त मलहरूमा बसेर गफ गर्ने मिल्दैन-, सुदीपले भने, ‘त्यसैले मलमा फुड कल्चर स्वाभाविक जस्तै भइसक्यो।-
यही मलको माथिल्लो तल्लामा रहेको छ इसास बार एन्ड रेस्टुरेन्ट। खाना, पेयपदार्थ र संगीतको मज्जा लिन प्रायः मलमा आजभोलि यस्तै बार र रेस्टुरेन्टहरू खुल्न थालेका छन्। विशेषगरी नयाँ वर्ष, क्रिसमस, विशेष कार्यक्रम आदिको अवसरमा यी रेस्टुरेन्टमा ग्राहकको घुइँचो बढ्ने त्यहाँ कार्यरत सुरेश दाहाल बताउँछन्।
दरबार मार्गमा रहेको राइजिङ मलमा पनि हिमालयन जाभाको कफी सफ रहेको छ। मल घुम्न आउने र फिल्म हेर्न आउनेहरूका लागि उक्त कफी सफले आफ्नो सेवा दिँदै आएको छ।