बुवा, आमा गुमाएका तीन बालकलाई परिवार दलको सहयोग

बुवा, आमा गुमाएका तीन बालकलाई परिवार दलको सहयोग

 विराटनगर : बुवा, आमा गुमाएर अभिभावकविहीन बनेका मोरङको सुनवर्षी नगरपालिका-७ कुँडेलीका तीन असहाय बालकलाई नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ। परिवार दलले उनीहरुका लागि ५० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो। सेतो लामखुट्टेको टोकाईबाट बुवा, आमा नै गुमाएका तीन बालकको बिचल्ली भन्ने शीर्षकमा माघ १६ गते अन्नपूर्ण अनलाइनमा समाचार प्रकाशन भएको थियो । 

सेतो लामखुट्टेको टोकाईबाट २०७० साल चैत ३० गते बुवा फगुलाल राजवंशी र गत साउन २५ गते आमा सन्तोषी राजवंशीको मृत्यु भएको थियो। सेतो लामखुट्टेकै टोकाईबाट बिरामी परेको थाहा पाए पनि आर्थिक अवस्था कमजोर भएर समयमा उपचार पाउन नसक्दा दुवै जनाको मृत्यु भएपछि छोराहरु १५ वर्षीय दिपक, ९ वर्षीय राजीव र ५ वर्षीय रोशन राजवंशीको बिचल्ली भएको थियो। 

बुवा, आमाको मृत्युपछि उनीहरुलाई फूपु सरसादेवी राजवंशी र मावलकी हजुरआमा ७० वर्षीया कृष्णवति राजंवशीले संरक्षण गर्दै आएका थिए। बुवा, आमाको मृत्युपछि अभिभावक बनेकी फूपु सरसादेवीको पनि गत पुस अन्तिममा मृत्यु भएपछि दुईजना भाइ हुर्काउने र परिवार चलाउने दायित्व दिपककै काँधमा आइपरेको थियो। 

अभिभावक गुमाउनु पर्दाको पीडासँगै आर्थिक अभावका कारण दिपकले पढाइ समेत छाड्नु परेको थियो। भाइलाई पढाउने मन हुँदाहुँदै पनि स्कुल पठाउन सकेका थिएनन्। अन्नपूर्णमा समाचार आएपछि नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालले तीन बालकलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ नगद पार्टीका केन्द्रीय सदस्य अशोक कुमार चौधरी र तीर्थराज घिमिरेमार्फत पठाएका हुन्।

अध्यक्ष ढकालले उपलब्ध गराएको नगद केन्द्रीय सदस्य चौधरी र घिमिरेले तीन बालकलाई गाउँमै पुगेर हस्तान्तरण गरेका हुन्। फूपुको पनि मृत्यु भएपछि वृद्ध अवस्थाकी हजुरआमाले मात्रै संरक्षण गर्न नसक्दा तीनैजना अहिले रतुवामाई नगरपालिका-५ गोविन्दपुरस्थित ठूलीआमा उर्मिलादेवी राजवंशीको घरमा बस्दै आएका छन्। वृद्ध अवस्थाकी हजुरआमा कृष्णवति पनि नातिहरुसँगै छोरी उर्मिलादेवीकै घरमा बस्दै आएकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.