अलमलमै बित्यो प्रदेश ३ सरकारको एक वर्ष

अलमलमै बित्यो प्रदेश ३ सरकारको एक वर्ष

हेटौंडा : तीन नम्बर प्रदेश सरकार गठन भएको मंगलबार एक वर्ष पुरा भएको छ।मुख्यमन्त्रीको सपथ लिएलगत्तै एक वर्षभित्र जनताले अनुभूति गर्नेगरी काम गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिबद्धता व्यक्त गरेका थिए। 

तर यो एक वर्षको समय अलमल र अन्यौलतामै बितेको छ।दुईवटा बजेट जारी गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०७४/७५ को बजेट घोषणा गरेपनि छोटो समय अविध बाँकी रहेको भन्दै कार्यान्वयन गरेन। चालु आर्थिक वर्षको बजेट छ महिना बित्दा पनि जम्मा ६ प्रतिशत मात्र खर्च भएको छ।
 

प्रदेश सरकारको एक वर्षको अवधिमा २४ वटा कानून निर्माण भएको छ। यस अवधिमा मन्त्रीपरिषद्को ४१ वटा वैठक बसेको छ। प्रदेश सरकारले कानुन निर्माणलाई पहिलो प्राथमिकता दिएको बताए पनि प्रदेशसभाले पर्याप्त विजनेस पाउन सकेको छैन। प्रदेश सरकारले हालसम्म एक संशोधनसहित २८ वटा विधेयक दर्ता गर्न सफल भएको छ।
  
राजधानी र नाममै अन्यौलता

प्रदेश सरकार गठनदेखि नै प्रदेश राजधानी बारे चलखेल सुरु भएपनि हालसम्म यसले ठोस निकास पाएको छैन। प्रदेशको स्थायी राजधानी कहाँ राख्ने भन्ने बारे प्रदेशसभाका सदस्य विभाजित भएकाले यसबारे प्रदेश सरकारले औपचारिक धारणा बनाएर प्रदेशसभा बैठक बोलाउने प्रक्रिया अघि बढाउन सकेको छैन। 

प्रदेश राजधानीसँगै एक वर्षको अवधिमा प्रदेशको नामबारे पनि टुङ्गो लागेको छैन। प्रदेशको स्थायी राजधानी हेटौंडा, काभ्रे वा भक्तपुर कहाँ राख्ने भन्नेबारे चर्चा चलिरहे पनि नामबारे भने खासै चर्चा समेत भएको छैन।

आफैभित्र मनमुटाव 

प्रदेश सरकार गठन भएको एक वर्ष नबित्दै तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित बर्खास्तीमा परे। मुख्यमन्त्री डोरमणि पौडेलसँगको खटपटपछि स्थापित पदमुक्त भएका हुन्। हाल उक्त मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री डोरमणि पौडेलले लिएका छन्। साथै प्रदेश सरकारका मन्त्रीहरु र कर्मचारी बीच पनि काम गराइमा एकरुपता आउन सकेको छैन। कर्मचारीले असहयोग गर्दै आएको मन्त्रीहरुको गुनासो छ।

सहयोगी प्रतिपक्ष
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले हालसम्म प्रदेश सरकारको कुनै पनि विषयलाई एजेण्डा बनाएर विरोध गरेको छैन। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलले सतही विषयमा आवाज उठाउँदै आएपनि प्रदेश सरकारको काम कारबाहीको विषयमा खासै बिरोध गरेका छैनन्। प्रदेशसभामा बोल्ने अधिकांश विषयमा पनि विपक्षी दलका प्रदेशसभा सदस्यले संघीय सरकारको आलोचनामा समय बिताउने गरेका छन्।
 
हाम्रो क्षमताले भ्याएसम्म काम गरेका छौं : मुख्यमन्त्री

प्रदेश सरकारको एक वर्ष पुगेको अवसरमा आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेको बताए। चाहे अनुसार काम गर्न नसकेपनि प्रदेश सरकारको क्षमता अनुसार काम भएको उनले बताए।
 
'हामीले विकास निर्माणको काम सुरु गरेको मात्र चार÷पाँच महिना भयो, पौडेलले भने, 'मन्त्रालयअन्तर्गतका संरचना निर्माण, कर्मचारी व्यवस्थापन र ऐन नियम निर्माणमा नै हाम्रो लामो समय बित्यो।' प्रदेश तीनको स्थायी राजधानी सहमतिकै आधारमा टुङ्गो लगाइने उनले बताए। 'सहमतिकै आधारमा प्रक्रियामा लगेर स्थायी राजधानी छिट्टै टुङ्गो लगाउँछौं,' उनले भने।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको एक वर्षको अवधिमा प्रदेश सरकारलाई चाहिने आधारभुत कानुनहरु निर्माण भएको बताए। आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारले नयाँ संरचना र सिमित स्रोत साधनको बीच पर्याप्त काम गर्ने प्रयास गरेको बताए।

प्रदेश ३ को प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले जनताले अनुभूति हुनेगरी काम गर्न नसकेकेको बताए। कार्यक्रममा प्रदेश सरकारको गतिविधिलाई प्रचारप्रसार गरेर सहयोग गरेको भन्दै नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिलाई एक लाख रुपैयाँ नगद सहित पुरस्कृत गरेको छ। साथै प्रदेश सरकारका कामहरु समेटिएको पुस्तक लोकार्पण गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.