फक्रिँदै फाप्ला
धनगढी : धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मोहना नदी छेउमा रहेको फाप्ला खेलमैदानमा वरिपरि अस्थायी प्याराफिटमा खचाखच भरिएका दर्शक छन्। खेलाडीको चौका, छक्का प्रहारपछि दर्शकको हुटिङ सुरु हुन्छ। सोमबारदेखि धनगढीमा सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) मा देखिएको दृश्य हो यो।
प्रतिकूल मौसमका कारण उद्घाटन दुई दिनअगाडि भए पनि खेल प्रतियोगिता सोमबारबाट मात्र सुरु भएको हो। फाप्लामा पहिलो पटक डीपीएल प्रतियोगिता भएको हो। यसअघिका दुईवटा संस्करण धनगढीको संघीय प्रहरी इकाइको मैदानमा सम्पन्न भएका थिए।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को मापदण्डअनुसार अन्तर्राष्ट्रिय स्तरको मैदानमा क्रिकेट सुरु भएपछि त्यस क्षेत्रको रौनक नै फरक देखिएको क्रिकेटप्रेमी रामचन्द्र शाहीले बताए। ‘पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको खेल मैदानमा यहाँको खेलाडी तथा अभिभावकले हेर्न पाएका छन्, उनले भने ‘यसले गर्दा यहाँको क्रिकेटको विकाससँगै अभिभावकमा पनि आफ्नो नानीहरूलाई खेल क्षेत्रमा लगाउन उत्साह थपिनेछ।’
फाप्लामा १० लाख रकम खर्च गरेर पाँच हजार बढी दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ। एक सय ९५ फिट लम्बाइ बाउन्ड्री लाइन रहेको मैदानमा पाँचवटा पिचमा पहिलो पटक क्रिकेट खेलिएको हो। डीपीएअघिका दुई संस्करण दुईवटा पिचमा खेलाइएको थियो। दुई महिनाको प्रयासपछि फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार पारिएको हो।
यूएईका मोहम्मद नाभिद, रोहन मुस्ताफा, हङकङका बाबर हायत, भारतका सन्नी पटेल, जयकिसन कोल्सावाला, गौरव तोमारलगायत विदेशी खेलाडी डीपीएल खेल्न धनगढी आइपुगेका छन् । आईसीसीबाट डीपीएलले तेस्रो संस्करणलाई मान्यता दिएसँगै यस प्रतियोगिताले विश्व क्रिकेट जगत्को ध्यान आकर्षित गर्न सफल भएको आयोजक धनगढी क्रिकेट एकेडेमीको अध्यक्ष सुवास शाहीले बताए। शाहीले क्रिकेटको विकासका लागि नै सात वर्षपहिले ‘ड्रिम फाप्ला’ कै नारा लिएर अगाडि बढेको बताए।
ड्रिम फाप्लाको अभियानका कारण स्थानीय सामुदायिक वन, जिल्ला वन कार्यालयबाट क्रिकेट रंगशाला निर्माणका लागि स्वीकृत भइसकेको छ’ उनले भने। ‘आर्थिक वर्ष २०७२÷०७३ बाट रंगशाला निर्माणका लागि थोरै भए पनि बजेट समेत विनियोजन भएको छ ।’ उनले सरकारले आर्थिक वर्ष २०७२÷०७३ मा विनियोजन गरेको ४० लाख बजेटबाट मैदान सम्याउने र माटो फिलिङ गर्ने काम गरेको बताए ।
सुदूरपश्चिममा धेरै व्यक्तिमा क्रिकेटको मोह देखिएको फाप्लामा देखिएको सहभागिताले देखाएको कञ्चनपुरबाट क्रिकेट हेर्न आइपुगेका प्रताप सिंहले बताए। यस प्रकारको प्रतियोगिताले खेलाडीलाई टिकाइराख्न मात्र होइन, क्षमतावान् खेलाडीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका लागि तयार पार्ने काम गर्ने उनले बताए।
सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेट क्रेज देखेर फाप्ला मैदानलाई अत्याधुनिक क्रिकेट मैदानका रूपमा विकास गर्न डीपीआर निर्माणका लागि भन्दै चालू आर्थिक वर्षमा पाँच करोड रकम विनियोजन गरेको छ। धनगढी उपमहानगरपालिकाले पनि फाप्लाका लागि एक करोड रकम छुट्ट्याएको छ। फाप्ला मैदान निर्माणलाई लिएर राष्ट्रिय क्रिकेट खेलाडी सोमपाल कामीले पनि उत्साही देखिए। ‘सरकारले क्रिकेट खेलाडीका लागि प्रत्यक्ष रूपमा केही गर्न नसके पनि उपयुक्त खेलमैदान र प्रशिक्षकको व्यवस्था मात्र गर्न सके राम्रो हुनेछ,’ कामीले भने।