दुर्घटना घटाउन प्रदेश-१ मा नयाँ अभियान

दुर्घटना घटाउन प्रदेश-१ मा नयाँ अभियान

विराटनगर :  विराटनगरबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको लु १ ख ६९४६ नम्बरको ट्रकको अगाडि सिसामा धागोबाट बनाइएका झल्लर टाँगिएका थिए।

 
ट्रकको सिसामा झुन्ड्याइएका विभिन्न नायक नायिकाका पोष्टर र फुलका जस्ता देखिने प्लाष्टिकका मालाले चालकलाई ट्रक हाँक्न नै अवरोध गरिरहे जस्तो देखिन्थ्यो। 

मोरङको बुढीगंगा गाउँपालिका-४ नेमुवामा पुगेको त्यही ट्रकलाई रोकेर झुन्ड्याइएका र टाँगिएका सबै झल्लर, पोष्टर र माला ट्राफिक प्रहरीका सहायक निरीक्षक (असई) तुलामणि आचार्यले निकालिदिए। उनले ट्रकका चालकलाई आगामी दिनदेखि यस्ता वस्तु सिसामा नराख्न अनुरोध गरे। 

चालकको अगाडिको सिसा ढाक्ने गरी त्यस्तै वस्तु झुन्ड्याएर र टाँगेर इटहरीतर्फ नै अघि बढ्दै गरेको ना ३ ख ३०१३ ट्रकलाई पनि रोक्दै असई आचार्यले सबै निकालेर चालकलाई सचेत गराए। 

‘सडकमा गुड्ने सवारी साधनमा यस्ता वस्तु राख्दा दुर्घटनाको धेरै जोखिम हुन्छ,’ आचार्यले चालकलाई सम्झाउँदै भने, ‘तपाईं हामी नै सचेत हुँदा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ।’

दुई ट्रकमा मात्रै होइन प्रदेश १ का सबै जिल्लाका सडकमा गुड्ने सवारी साधनमा राखिएका यस्ता वस्तु प्रहरीले बुधबारबाट हटाउन थालेको छ। 

ट्राफिकले सार्वजनिक यात्रुबहाक, निजी तथा मालबहाक सवारी साधनमा सजावटका लागि टाँगिने र झुन्ड्याइने गरेका धागोबाट बनाइएका झल्लर, प्लाष्टिकका माला, विभिन्न पोष्टर र पम्प्लेट हटाउनै पर्ने नियम बुधबारबाट प्रदेशमा लागू गरेको हो। 

२० प्रतिशत दुर्घटना यस्ता वस्तुका कारण भइरहेको पाइएपछि यो  अभियान सुरु गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख एसपी रविराज पौडेलले जानकारी दिए। 

धागोबाट बनेका झल्लर, विभिन्न ब्यानर, चुरा, पोते, धागो, धेरै कुरा लेखिएका स्टिकर, हिरोहिरोनीका पोस्टर, विभिन्न पम्प्लेट, खेलौना, प्लाष्टिकका माला र फूल झुन्ड्याएर, टाँगेर र टाँसेर राख्ने गरिएको एसपी पौडेलले बताए। 

सजावटका नाममा आँखै अगाडि पर्ने गरी राखिने धेरै वस्तुहरु र विभिन्न कुरा लेखेर टाँसिने पोस्टर एवं स्टिकरमा चालकको ध्यान केन्द्रीत हुँदा गम्भीर दुर्घटना हुने गरेको एसपी पौडेलले बताए। 

प्रहरीका अनुसार सार्वजनिक सवारी साधनमा यस्ता वस्तु बढी मात्रामा राखिएको पाइएको छ। दोहोर्‍याएर यस्ता वस्तु गाडीको सिसामा राखेको पाइएमा ट्राफिक नियम उल्लंघनको कारबाही गरिने एसपी पौडेलको भनाइ छ। 

चालु आर्थिक वर्षको माघसम्म प्रदेश १ मा सात सय २३ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा एक सय चार जनाको मृत्यु भएको छ भने एक हजार तीन सय २७ जना घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

एसपी पौडेललले चेकजाँचमा गरिएको कडाई, सडकमा सञ्चालन गरिएका विभिन्न सचेतनामुलक कार्यक्रम, सवारी साधनको गति मापन गर्न सडकमा प्रयोग गरिने राडार गन, मापसे चेकजाँचमा ब्रेथलाइजरको प्रयोग लगायतले सवारी दुर्घटना विगतको तुलनामा कमी हुँदै गएको जानकारी दिए। 

उनका अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी र विभिन्न संघ संस्थाको सहयोगमा प्रदेश भरीका सबै बसपार्क सरसफाईको कार्यक्रम पनि सञ्चालन गरिएको छ। 

ट्राफिक प्रहरीले सवारी दुर्घटना कम गर्नका लागि थालेको नयाँ अभियानको यातायात व्यवसायीले पनि स्वागत गरेका छन्। पूर्व नेपाल बस कम्पनीका क्षेत्रीय संयोजक राजु धमलाले गाडीका सिसा अगाडि विभिन्न वस्तु राख्दा त्यसले चालकलाई अवरोध पुर्‍याएर दुर्घटना हुने गरेको स्वीकार गरे। ‘ट्राफिक प्रहरीले सुरु गरेको यस्ता वस्तु हटाउने अभियान स्वागतयोग्य छ’, धमलाले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.