पानीजहाज कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने : अब केही महिना पर्खनूस्, टिकट काट्न पाइन्छ !
ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको एकान्तकुनास्थित पानीजहाज कार्यालयको उद्घाटन गर्दै अब केही महिनामै पानीजहाजको टिकट काट्न पाइने दावी गरेका छन् । उनले आफ्ना आलोचकप्रति लक्षित गर्दै भने, ‘केही महिना पर्खनूस्, टिकट नै काट्न पाइन्छ ।’
यो उद्घाटन कार्यक्रम केहीका लागि दुई–चार महिना जिस्काउने माध्यम बन्ने भन्दै व्यंग्य समेत गरेका थिए । ‘तपाईँका साथीभाइलाई पनि ढुक्क सँग भनिदिनूस्,’ ओलीले भने ।
अघिल्लो वर्ष भारत भ्रमण जानुअघि नै पानीजहाजको सम्भावना देखेपछि जलमार्ग र रेलमार्ग बनाउनको लागि प्रस्ताव गरेको प्रधानमन्त्री ओलीले स्मरण गराएका थिए । तर आफ्नो पानीजहाज चलाउने सपनालाई धेरैले हमला गरेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गरेका थिए । साथै उनले पाँच÷सात जनालाई जागिर खुवाउनको लागि मात्रै पानीजहाज ल्याउन नखोजेको पनि बताएका थिए ।
साथै यस कार्यक्रमसँगै देश एक कदम अगाडि बढिसकेको उनले बताए । प्रधानमन्त्री ओलीले भारतले गण्डक सम्बन्धमा आफ्नो डिपिआर तयार गरिसकेको पनि जानकारी दिएका थिए ।