सदरमुकाम सुनसान, गाउँ गुल्जार

सदरमुकाम सुनसान, गाउँ गुल्जार

भोजपुर : काम खोज्दै तीन वर्षअघि नुवाकोटबाट भोजपुर आएका ५६ वर्षीय सिंगबहादुर तामाङले पुराना कपडालाई नयाँ बनाउने उद्योग सुरु गरे। जस्तापाताले घेराबारा गरी सदरमुकामस्थित देउरालीमा तीन लाख ५० हजार रुपैयाँ लगानीमा कपडा पेल्ने मेशिन राखे।

सुरुमा उनले राम्रो आम्दानी गरे। टाढा–टाढाबाट मानिस पुराना कपडा बोकेर डसना, सिरक, सिरानी बनाउन आउँथे। दैनिक पाँचदेखि १० हजार रुपैयाँ आम्दानी गर्ने सिंगबहादुरलाई हिजोआज दिनमा तीन सय रुपैयाँ कमाउन पनि मुस्किल परेको छ। ‘हिजोआज गाउँबाट मानिस खासै आउँदैनन्। गाउँतिरै बजार विस्तार भएका छन्। गुजारा चलाउन समस्या भएको छ’, सिंगबहादुरले भने, ‘कुम्लो कसेर हिँड्ने दिन आए जस्तो छ। ’

अधिकांश स्थानीय तहमा बजारीकरण र साना उद्योग खोलिन थालेपछि सिंगबहादुरजस्ता अढाई सय बढी सदरमुकाम केन्द्रीत साना उद्योग व्यवसायी समस्यामा परेका छन्। भोजपुर सदरमुकाम पानीट्याङ्कीकी २९ वर्षीया मीना तामाङले ५ वर्षअघि खोलेको टेलर पनि हिजोआज समस्यामा छ। गाउँतिर टेलरिङ प्रसस्त खुलेकाले सिलाइकटाईका साथै लुगा सिलाउन, मर्मत गर्न सदरमुकाम आउने सेवाग्राही घटेका हुन्। ‘पहिले कोट, पाइन्ट, दौरासुरुवालका लागि भीड लाग्थ्यो। पछिल्लो समय गाउँमै टेलर खुलेका छन्। सदरमुकाममा हामीलाई समस्या हुन थालेको छ’, मीनाले भनिन्। 

भोजपुर नगरपालिका भोटेपसलका हार्डवेयर व्यवसायी अर्जुन राईले पनि स्थानीय तहले सर्वसाधारण गाउँ केन्द्रीत हुन थालेपछि सदरमुकामको चहलपहल आधाभन्दा बढी घटेको बताए। स्थानीय तह स्थापना भएपछि सदरमुकाम केन्द्रीत व्यावसाय दिनानुदिन घट्दै गएको उनको भनाइ छ। ‘सदरमुकाममा व्यवसाय खस्किँदै गएको छ’, उनले भने। 

डेढवर्ष अघिसम्म २६ जना कर्मचारी राखेर होटेल चलाएकी विष्णुकुमारी राईलाई पछिल्लो समय होटेल चलाउन सकस भएको छ। ‘धेरै सरकारी कर्मचारी स्थानीय तह गए। सरकारी सेवा लिन आउने मान्छे पनि घटेपछि सदरमुकाममा होटेल पनि चल्न छाड्यो’, उनी भन्छिन, ‘बास बस्न आउने ग्राहक पनि घटे। यहाँका धेरै होटल ग्राहक अभावमा बन्द गर्नुपर्ने स्थितीमा पुगेको छ। ’

सदरमुकाममा खोलिएका स–साना उद्योग, व्यवसाय क्रमसः बन्द हुने अवस्थामा पुगेका छन्। स्थानीय तह निर्वाचनपछि गाउँ–गाउँमा केन्द्र स्थापना एवं सेवा प्रहाह हुन थालेपछि सदरमुकामको चहलपहल घटेको हो। ‘सदरमुकाममा दैनिक जसो हुने भीडभाड र जमघट पातलिन थालेको छ’, भोजपुरका सामाजिक अभियन्ता सरोज बस्नेतले भने, ‘स्थानीय तहका कारण सदरमुकामको चहलपहल घटेको हो। ’

स्थानीय सरकार गठनपछि गाउँमै केन्द्र विस्तार हुनुका साथै सेवा पनि पाउन थालेपछि सर्वसाधारण सदरमुकाम आउन छाडेका हुन्। विशेष काम बाहेक सरकारी सेवा लिन सर्वसाधारण सदरमुकाम आउनै पर्दैन। जिल्ला केन्द्रीत कार्यालय, कर्मचारी, सेवासुविधा, क्षेत्राधिकार स्थानीय तहमा गएपछि सदरमुकाम आउने सर्वसाधारण घटेको नागरिक अगुवा शम्भुबालाहाङ राईको भनाइ छ। 

संघीय संरचनापछि जिल्ला केन्द्रीत सरकारी कार्यालय, कामकाजमा आउने सर्वसाधारण र कर्मचारीले भरिभराउ हुने होटेल व्यवसायमा त्यसको प्रत्यक्ष प्रभाव परेको छ। ‘यतिबेला गाउँघरतिर चहलपहल बढेको छ। सदरमुकाम सुनसान छ। तर गाउँ गुल्जार बनेका छन्’, राईले भने, ‘नयाँ संरचना र व्यवस्थाको महसुश भएको छ। गाउँबाट धेरै दिन लगाएर सरकारी सेवा लिन सदरमुकाम जानुपर्ने अवस्थाबाट सर्वसाधारण मुक्त भएका छन्। ’

भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन्। नौ स्थानीय तहमा ८१ वटा वडा छन्। अधिकांश सरकारी कर्मचारी गाउँ–गाउँ पुगेका छन्। जिल्लाभर लघु एवं घरेलु गरी एक हजार ९५ वटा उद्योग एवं छ सय चारवटा फार्म दर्ता भएका छन्। चालु आर्थिक वर्षको माघ मसान्तसम्म उद्योगमा कुल ५५ करोड ९१ लाख १३ हजार आठ सय ४९ रुपैयाँ र फर्ममा ३५ करोड ९ लाख ५० हजार लगानी भएको घरेलु तथा साना उद्योग विकास समिति भोजपुरले जनाएको छ। अधिकांश साना उद्योग गाउँ केन्द्रीत बरिष्ठ उद्योग अधिकृत चेतनाथ गौतमले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.