स्वास्थ्यका उपसचिवसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत उपसचिव बाबुराम लामिछाने र यातायात ब्यवस्था कार्यालय, भरतपुरमा कार्यरत नायब सुब्बा ऋषिराम ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अुनसन्धान आयोगले यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखराका तत्कालीन शाखा अधिकृत लामिछाने र नासु ढकालविरुद्ध सवारी दर्ता अड्डामा हिनामिना गरेको अभियोगमा मुद्दा चलाएको हो ।
अख्तियारले बदनियतपूर्वक विभिन्न मितिमा सवारी दर्ता गरिएका ठाउँमा पछि सरकारी कागजात सच्याई सवारी दर्ता गरेको देखिएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
भाडाका सवारी साधन नियम विपरित दर्ता गरेको र पुराना सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्याएको अभियोग अख्तियारले लगाएको छ । उनीहरुविरुद्ध प्रक्रिया नपुर्याई पुराना सवारीसाधन विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेपछि भ्रष्टाचार निवारण ऐन अनुसार अभियोगपत्र दर्ता गरिएको छ।