अलैंचीको विरुवा खरिदमा भ्रष्टाचार
काठमाडौं : जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्रास हरिगोपाल आचार्यविरुद्ध ११ लाख रुपैयाँ विगो सहित मुद्दा दायर गरिएको छ। अलैंचीको विरुवा खरिदमा गरी कृषकहरूलाई वितरण गर्दा भ्रष्टाचार गरेको आरोपमा आचार्यसहित चारजना कर्मचारी विरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
कृषि विकास कार्यालयका प्रमुख मनोजकुमार यादव, लेखापाल डिल्लीप्रसाद आचार्य र नासु दुर्गाप्रसाद पौडेललाई पनि प्रतिवादी बनाइएको छ। प्राविधिक सहायक गोपाल, कार्यालय प्रमुख यादव र लेखापाल डिल्ली आचार्यलाई जनही १० लाख ८६ हजारको विगो दाबी गरिएको छ भने नासु पौडेलविरुद्ध ५ लाख ४६ हजार विगो दाबी गरिएको छ।
उनीहरुले कमिशन दिने व्यक्तिलाई मात्र अलैँचीका विरुवा दिएको आरोप पत्रमा उल्लेख छ। कमिशन रकम गोप्य रुपमा दिनु पर्ने अनि बाँकी रकम बिलबाट लिने गरी लाखौं लाख रकम घोटाला गरेको र इलामबाट बिरुवा ल्याउँदा र विरुवा सम्बन्धित क्षेत्रमा पुर्याउँदा गाडी भाडासमेत घोटाला गरेको पाइएको छ।
कृषि विकास कार्यालयको आव २०७२/०७३ को वार्षिक कार्यक्रमको तेस्रो चौमासिक लक्ष्यअनुसार अलैंची रोग व्यवस्थापन तथा नर्सरी स्थापना र कृषि प्रसार कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट कार्यक्रम सञ्चालन गर्दा झुट्टाबिल भरपाईको आधारमा भुक्तानीसमेत लिई सरकारी रकम हिनामिना गरेको पाएपछि उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन सजायको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोप९पत्र दायर गरिएको छ।