कर्णाली प्रदेश सरकारको समीक्षा : ‘जग बन्यो, अब गति बढ्छ’
सुर्खेत : कर्णालीमा प्रदेश सरकारले आफ्नो एक वर्षको समीक्षा गरेको छ। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रदेश सरकारले शुक्रबार वार्षिक प्रगति विवरण पनि सार्वजनिक गरेको छ। एक वर्षको अवधिमा प्रदेशको विकासका लागि आवश्यक आधार तयार पारिएको भन्दै प्रदेश सरकारले अब कामको गति बढ्ने जनाएको हो।
पहिलो वर्षलाई कानुन निर्माणको वर्षका रुपमा लिइएको र एक वर्षको अवधिमा सरकार संचालनका लागि आवश्यक आधार खडा भएको सरकारको दाबी छ। एक वर्षको अवधिमा आवश्यक कानुन निर्माण गरिएको, प्रदेश सरकारका संरचना जिल्ला तहसम्म विस्तार भएको र कर्मचारी व्यवस्थापनको काम पनि अगाडि बढेकाले अब सरकारको गति जनअपेक्षा अनुसार नै बढ्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए।
उनले आवश्यक आधार तयार पारिएकाले अब प्रदेशमा सरकारले तीव्र गतिमा काम गर्ने र चाँडै जनताले विकासको अनुभूति गर्न पाउनेसमेत बताए। वार्षिक समीक्षामा प्रदेश सरकारले प्राविधिक कर्मचारीको अभाव र कानुनी जटिलतालाई मुख्य चुनौतीको रुपमा औंल्याएको छ।
प्राविधिक कर्मचारीकै अभावमा विकास आयोजनाको डीपीआर गर्न नसकिएको र बजेट कार्यान्वयन पनि अपेक्षाअनुसार हुन नसकेको सरकारको निष्कर्ष छ।
‘हामीले शुन्यताबाट काम सुरु गर्यौं, अनुभव पनि नयाँ भयो’ मुख्यमन्त्री शाहीले भने,‘नयाँ संरचनामा काम गर्दा हामीमा केही अनुभवको पनि कमी भयो, यसले काममा चुनौती पनि भोग्यौं। तर पहिलो वर्षले हामीलाई धेरै पाठ सिकाएको छ, अब सरकारको काम गर्ने शैली द्रुत हुन्छ।’
वर्षदिन पुगेको अवसरमा प्रदेश सरकारले यो अवधिमा भएका भौत्तिक निर्माण, सामाजिक सुधार, नीतिगत व्यवस्था र कानुन निर्माणको लामो सूची नै सार्वजनिक गरेको हो। मुख्यमन्त्री शाहीले थपे, ‘शिशु अवस्थामा पनि सरकारले आफ्नो जग धेरै बलियो बनाएको छ, अब सरकार दौडिन्छ। आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाटै सरकारको गति प्रस्टै देखिनेछ, कर्णालीको मुहार बदल्ने गरी काम गर्नेछौं।’
प्रदेशको विकास निर्माणलाई थप प्रभावकारी बनाउन कर्णाली विकास प्राधिकरण स्थापनाको तयारी भइरहेको प्रदेश सरकारले जनाएको छ। यसका लागि आवश्यक कानुन निर्माण भइरहेको भन्दै सरकारले प्राधिकरणमार्फत् नै अब कर्णालीमा पूर्वाधारको विकास र निर्माणको काम थालिएको बताएको हो।
यस्तै स्थानीय तहको विकासबाट नै समग्र प्रदेशको विकास गर्न सकिने निष्कर्षमा प्रदेश सरकार पुगेको छ। यसका लागि स्थानीय तहलाई थप बजेट उपलब्ध गराउने र आवश्यक नीतिगत व्यवस्था मिलाइएकोसमेत मुख्यमन्त्री शाहीले जानकारी दिए। अब कर्णालीमा देखिने गरी विकास गर्नका लागि प्रदेश योजना आयोगलाई सक्रिय बनाउने, विज्ञ समूहलाई प्रभावकारी बनाउने र विकास साझेदारलाई आकर्षित गर्ने प्रदेश सरकारले मुख्य योजना बनाएको छ।
प्रदेश मातहतमा हालसम्म एक सय आठ संगठन संरचनाहरु विस्तार गरी सेवा प्रवाह भइरहेको प्रगति विवरणमा उल्लेख छ। यसले पनि अबको गति बढ्ने प्रदेश सरकारको दाबी छ।
प्रदेशको नामाकरण, राजधानीको टुंगो, रारा–कर्णाली पर्यटन वर्षको सुरुवात, १७ वटा कानुन निर्माण, मुख्यमन्त्री शाहीले चीन भ्रमण, बाँकेको जमूनाहदेखि सुर्खेत हुँदै चीनसँग जोडिएको हुम्लाको हिल्सासम्म जोड्ने दु्रतमार्ग निर्माणको सर्वे, अर्गानिक प्रदेश बनाउने प्रक्रियाको थालनी, सुत्केरी र गर्भवतीको उद्धारका लागि एयर एम्बुलेन्स सेवाको सुरुवात, हिल्सामा अध्यागमन कार्यालय स्थापना, प्रदेश समन्वय परिषद्को बैठक, विषयगत मन्त्रालयका संरचना जिल्लामा विस्तार, सुर्खेतदेखि संघीय राजधानीसँग सिधा हवाइ उडानको सुरुवात र अस्पताल विकास समिति गठनलगायतका कामलाई प्रदेश सरकारले पहिलो वर्षको प्रगति भनेको छ।