बूढासुब्बा गोल्डकप : डफिन्स फाइनलमा
धरान : नेपाल पुलिस क्लबलाई सडन डेथमा २-१ गोलले पराजित गर्दै क्यामरुनको डफिन्स क्लब सुनसरीको धरानमा जारी २१औं अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएको डफिन्सले पुलिसविरुद्ध कठिन जित निकाल्दै शनिबार हुने फाइनलमा आयोजक धरान फुटबल क्लबसँगको भेट पक्का गरेको हो। धरानले संकटा क्लबलाई ४-३ गोलले पराजित गर्दै फाइनल स्थान बनाइसकेको छ।
निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइबे्रकरमा धकेलिएको थियो। टाइबे्रकरमा दुवै टोलीबाट ५-५ गोल भएपछि डफिन्सले सडन डेथमा नतिजा आफ्नो पक्षमा पारेको थियो। सडनडेथमा डफिन्सका गोलरक्षक प्रिसो एनजंगा र जो जो एंगेलाले गोल गरे। पुलिसका नीरकुमार राईले मात्र गोल गर्न सके। विक्रम धिमालको प्रहारलाई डफिन्सका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिएपछि पुलिस पराजित भएको थियो। खेलको म्यान अफ दी म्याच बनेका प्रिसोले १५ हजार पुरस्कार प्राप्त गरे।
टाइबे्रकरमा डफिन्सका सिलो मार्टिन्स, पेतेंगा, वियिक, एलेयिम र यानिकले गोल गरे। पुलिसका अजित भण्डारी, देवेन्द्र तामाङ, भरत शाह, तीर्थ रानामगर र हरि कठायतले गोल गरेका थिए।
पुलिसका प्रशिक्षक अनन्त थापाले खेलाडीले राम्रै खेल खेले पनि सडनडेथमा पराजय बेहोर्दा दुःख लागेको बताए। डफिन्सका प्रशिक्षक युरेलले पोखरामा सम्पन्न मनकामना केबलकार गोल्डकपको उपाधि जितेकाले खेलाडीले उच्च मनोबलका साथ खेलेका कारण फाइनलमा पुगेको बताए।
प्र्रतियोगिताका विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।