जीवनभर शरणार्थी
तिब्बतबाट खेदिए। घुमिफिरी नेपाल आएँ। तर यहाँ पनि जीवन सहज भएन ।
ललितपुर : धर्मगुरु दलाई लामाप्रति आस्था राख्ने तिब्बतीहरूलाई सन् १९५९ पछि स्वदेशमै बसिरहन गाह्रो भयो। उनीहरू विभिन्न मुलुकमा शरण लिन बाध्य भए। त्यति बेलै नेपाल छिरेकी थिइन्— ७८ वर्षीया छिरिङ दोकर। उनी अहिले एकान्तकुनाको साम्दुप्लिङ तिब्बती शरणार्थी शिविरमा एकल जीवन बिताइरहेकी छन्। उनी वृद्धावस्थामा पुगिन्। तर गाह्रो परिरहेको छ। शरणार्थीकै रूपमा उनले ५५ वर्ष बिताइसकिन्।
साँघुरो अँध्यारो कोठामा थोत्रो पलङ, दराज र अन्य सामान मात्र उनका साथी भएका छन्। त्यसैको कुनामा मुस्कुराइरहेको छ दलाई लामाको तस्बिर। तस्बिरअघि बत्ती बलिरहेको थियो। ‘ओम् मणि पद्मे हुम्’को मन्त्र जप्दै वृद्धाले भनिन्, ‘२३ वर्षकी हुँदा नेपाल आएँ।’
उनीसँग आमा पनि नेपाल आउँदै थिइन्। तर दुर्भाग्य बाटोमै उनको मृत्यु भयो। थाकखोलामा पुगेपछि अकस्मात् बिरामी परेकी उनी त्यहीँ बितिन्। त्यसपछि साथीहरूसँग जसोतसो मुक्तिनाथ पुगिन्— दोकर। र केही वर्ष त्यहीँ बिताइन्। त्यसपछि भने काठमाडौं आइन् र एकान्तकुनाको यही शिविरको अँध्यारो कोठामा जीवनको लामो समय बिताइन्। भन्छिन्, ‘अब ८० पुग्न दुई वर्ष बाँकी छ।’
शिविरमा वर्षाैंसम्म गलैंचा बुनिन्। तर यतिबेला केवल बुद्धमन्त्र जपेर दिन कटाइरहनु परेको उनको भनाइ छ। ‘बिहान आठ बजे मन्त्र जप्न थाल्छु १२ बजे खाना खाएर फेरि सोही क्रम दोहोरिन्छ’, उनले भनिन्। आफू जस्ता थुपै्र वृद्धवृद्धा यहाँ रहेका र शिविरले दुई साताको १२ सय रुपैयाँ भत्ता दिँदै आएको उनले बताइन्।
भत्ताले मीठोमसिनो खान कहाँ पुग्नु ? त्यसैले गहँुको सातुले जीवन धान्ने गरेकी छन्। कहिलेकाहीँ छिमेकीहरूले खाना ल्याइदिन्छन्। तर सित्तैमा अरूले दिएको खाँदा पाप लाग्छ भनेर त्यसलाई सकेसम्म स्विकार्दिनन्। शरणार्थी भत्ताबाटै आउने पैसाले गुजारा चलाउँछिन्।
शिविरमा तिब्बती दसंै (नयाँ वर्ष) धुमधाम रूपमा मनाइन्छ। यति बेला घर, आँगन रंग्याइन्छ पनि। र मीठामीठा परिकार पनि बन्छन्। यही बिहीबार उनीहरूले चिनियाँ दसैं मनाए। दोकरलाई पनि कहाँ नलागेको थियो र, आफनो कोठा रंग्याउने, सफा गर्ने। तर कसको के लाग्छ, सकिनन्। त्यसैले उनी बस्ने कोठाको रूप खुइलिएको छ। ‘हात दुख्छ, लुगा धुन सक्दिनँ, रोटी बेल्न पनि गाह्रो हुन्छ’, उनले भनिन्।
दोकर मात्र होइन, यहाँ अन्य वृद्धवृद्धाको अवस्था पनि दुःखलाग्दो नै छ। शिविरमा बस्दै आएका ७० वर्षीय कर्म तोब्देन गलैंचा प्याकिङ गरेर गुजारा गरिरहेका छन्। श्रीमती, तीन छोरी र एक छोरासहितको उनको परिवार यही शिविरमा बस्दै छन्। जुम्लामा २१ वर्ष बिताएर एकान्तकुना आएका उनले तिब्बतीहरूको सबै सम्पत्ति सरकारले लिन थालेपछि बाध्य भएर नेपाल आउनुपरेको उनले गुनासो गरे। हुन त उनीसँग थुपै्र जग्गाजमिन थिएन। चौंरी, घोडा र भेडा पाल्थे। त्यो पनि आफ्नो भन्न नपाएपछि नेपाल आएको बताए। उनले भने, ‘हामीले धन, मालसामान भन्न पाएनौं। सम्पत्तिमा हक पनि भएन। त्यसैले भागेर आएँ’, उनले भने।
कहिलेकाहीँ छिमेकीहरूले खाना ल्याइदिन्छन्। तर सित्तैमा अरूले दिएको खाँदा पाप लाग्छ भनेर त्यसलाई सकेसम्म स्विकार्दिनन् छिरिङ दोकर।
उनलाई यहाँ बस्दा विभिन्न समस्या छन्। त्यसैले त्यति खुसी भने लागेको छैन। गलैंचा प्याकिङ गरेबापत मासिक पाँच हजार रुपैयाँ कमाउँछन्। तर त्यसले जीवन धान्नै गाह्रो छ, चाडपर्वमा खुसीले मनाउने त टाढाको विषय। ‘बुढेसकालले छोयो, तर जे भए पनि सम्मानका साथ बाँकी जीवन बिताउने धोको छ’, उनले भने।
पासाङ, तोब्देन जस्ता थुप्रै वृद्धवृद्धा शिविरमा छन्। उनीहरू सबैको एउटै धोको छ— बाँकी जीवन सहज किसिमले जिउने। तर शरणार्थी बनेर बस्नुपर्दाको पीडा पनि उस्तै नमीठो लाग्दो रहेछ। ‘फर्केर तिब्बत जान सम्भव छैन’, उनले भने, ‘यहाँ पनि खासै कहाँ रमाइलो छ र ? ’
सन् १९५९ पछि तिब्बतबाट भागेर नेपाल, भारत पस्नेको संख्या निकै थियो। त्यति बेला स्विस सरकारको सहयोगमा रेडक्रसको नाममा रहेको शरणार्थी शिविरमा तिब्बतीहरूले बस्न पाएको ५३ वर्षीय छिरिङ लामाले बताए। जिल्ला प्रशासन कार्यालय ललितपुरको तथ्यांकअनुसार ०५५ सालसम्म १ हजार ३ सय ९३ जनाले एकान्तकुनास्थित शिविरबाट शरणार्थी कार्ड लिएका थिए। जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रेमराज जोशीका अनुसार त्यसपछि कार्ड वितरणमा रोक लगाइएको हो। ‘प्रत्येक वर्षको चैतमा शरणार्थी कार्ड नवीकरण गर्न भने सीडीओ कार्यालय आउनुपर्छ’, उनले भने। अहिले सम्बन्धित १३ नम्बर र नगरपालिकाले शरणार्थीका तथ्यांक राख्न थालेको छ।
शिविरमा कम्तीमा चार सय मानिस रहेको शरणार्थी क्याम्पका सल्लाहकार केपी मास्केले जानकारी दिए। ‘गलैंचाको माग घट्दो छ। जति बढी माग भयो उति नै आम्दानी हुने र वृद्धवृद्धालाई उचित भत्ता उपलब्ध गराउन सकिन्छ’, उनले भने। तैपनि यहाँका मानिसलाई औषधि, खाद्यान्न उपलब्ध गराउँदै आएको उनको भनाइ छ। शिविरका बालबालिकालाई प्राथमिक तहसम्मको शिक्षाको व्यवस्था पनि क्याम्पले गर्दै आएको उनले जानकारी दिए।