रुस्लानसालिङ जिन्दावाद !
यसपालिको ल्होछारमा पनि
टुँडिखेलमा देखियो
नयाँ अवतारमा पेङ्दोर्जे
उस्तै थियो डम्फू
उस्तै थियो तागी
उस्तै थियो सेलो भाका
उस्तै थियो बख्खु
रुस्लान भोड्काको हत्केलामा
तयार भयो झिलिमिली मञ्च
आधुनिक जमानाको पेङ्दोर्जे
भोड्का खाँदै नाच्न थाल्यो
नाच्दा–नाच्दै टोपी खस्यो
उफ्रिँदा–उफ्रिँदै भोटो खस्यो
रुस्लानको चित्त दुख्यो
रुस्लान द्रवीभूत भयो
आफ्नै खोल च्यातेर
ओढाइदियो बर्को
आफ्नै बिर्को झिकेर
लगाइदियो टोपी
नाच्दा–नाच्दै तिर्खायो पेङ्दोर्जे
भावुक भयो रुस्लान
पोखिदियो आफूलाई पेङ्दोर्जेको मुखमा
डम्फूमाथिको चरी पनि
तिर्खाएर नाच्नै छाड्यो
हाजिर भयो
चिटिक्क परेको फुच्चे रुस्लान
र, मुन्टो घुसार्यो चरीले
रुस्लानको बिर्को तागी बनाएर
रुस्लानकै छाला आङमा बेरेर
धेरैबेर नाचिरह्यो ‘मोडर्न’ पेङ्दोर्जे
नाच्दा–नाच्दै
बिर्सिदियो घोरलको छाला
बिर्सिदियो कोइरालाको काठ
बिर्सिदियो सेलोको प्राचीन भाका
बिर्सिदियो ताम्सालिङवरिपरि ३२ किला लहरै गाड्न
बिर्सिदियो लुङ्दारमा रङ भर्न
बिर्सिदियो,
माभार डाँडाको चिसो कुहिरोभित्र
आँसुले बाटो नाप्दै कुरिरहेकी मैच्याङ
बिर्सिदियो लुङ्दार खोसिएको
सैलुङको सय थुम्का
भुलिदियो
साढे दुई शताब्दीदेखि हरेक रात
तेमाल डाँडैडाँडा न्याय खोज्दै
भौंतारिरहने ह्रेन्जेन दोर्जेको आत्मा
बिर्सिदियो
दरबारको शयनकक्षमा
हतकडीमा जकडिएर
युगौंदेखि मुक्ति खोजिरहेको
सुसारे मामको अस्थिपञ्जर
बिर्सिदियो
महाराजलाई न्यानो बनाउन
दाउरा बोक्दाबोक्दै दाउरा बनेका
पीपा आखेको कथा
रुस्लानप्रति कृतज्ञ भएर
आँसु झार्यो पेङ्दोर्जेले
रुस्लानले गद्गद् भएर अंकमाल गर्यो
अनि टाँसिदियो उसको छातीमा
चम्किलो लोगो
त्यसपछि खुट्टा भुइँमा भएन पेङ्दोर्जेको
फ्याँकिदियो डम्फू
फ्याँकिदियो भोटो
नांगै मञ्चमा उक्लिएर
लगाउन थाल्यो नारा–
‘हाम्रो रुस्लान जिन्दावाद !
रुस्लानसालिङ जिन्दावाद !’
०००
पेङ्दोर्जे : डम्फू बनाउने पहिलो तामाङ कलाकार
तागी : तामाङले लगाउने टोपी
आखे माम : हजुरबा–हजुरआमा