किन मौन छन् नेपाली अभिनेत्रीहरू ?

किन मौन छन् नेपाली अभिनेत्रीहरू ?

चलचित्रलाई क्यामराले लेखिने उपन्यास मानिन्छ। क्यामराले भने त्यही दृश्य मात्र लेख्छ, जुन क्यामरा–फ्रेमभित्र अटाउँछ। अथवा भनौं क्यामराको फ्रेमभित्र के राख्ने, के नराख्ने भन्ने निर्णय निर्देशकको आँखाले गर्छ। क्यामराको त्यही फ्रेमभित्र कलाकारले पनि आफ्नो स्पेस बनाएका हुन्छन्। तर चलचित्र निर्माण गर्ने क्रममा फ्रेमबाहिर कलाकारहरूले भोग्ने जीवनलाई भने कुनै क्यामराले खिचेको हुँदैन। क्यामरा–फ्रेम बाहिरको त्यस्तै अलिखित चलचित्रलाई मी टू आन्दोलनले उजागर गरिदिएको छ।

यो आन्दोलनको जरा अमेरिकी मानव अधिकारकर्मी तराना बुर्केले सन् २००६ तिरै यौन हिंसामा परेका महिलालाई ‘मी टू’ अर्थात् ‘म पनि तिमीजस्तै यौन हिंसापीडित हुँ’ भन्ने आशयको सहमति निर्माण गर्न सुरु गरेको सार्वजनिक अभियानमा पुग्छ। तर सन् २०१७ मा हलिउड अभिनेत्री एलिसा मिलानोले गरेको एउटा ट्विटबाट यसले आन्दोलनको रूप लियो। आफ्नो ट्विटर अकाउन्टमा एउटा स्क्रिनसटसहित उनले ट्विट गरेकी थिइन्, ‘यदि तपाईं यौन हिंसामा पर्नुभएको छ भने यो ट्विटरमा ‘मी टू’ कमेन्ट गर्नुहोस्।’

मिलानोको उक्त ट्विटपछि हरेक पेसाका महिला यौन हिंसाविरुद्ध बोल्न थाले। हलिउड फिल्म निर्माता हार्वे विन्स्टिनविरुद्ध केही महिलाले यौन दुव्र्यवहारको आरोप लगाए। यो आरोप कानुनी प्रक्रियामा गयो। ८० भन्दा बढी युवतीले उनीविरुद्ध आवाज उठाए। हलिउडको यो मुद्दाले विश्वको ध्यान तान्यो। हार्वे सेप्टेम्बर २५ मा जेल परे। अनुसन्धानकै क्रममा द विनस्टिन कम्पनी र एकेडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेजको जिम्मेवारीबाट उनी हटाइए।

छिमेकी राष्ट्र भारतमा पनि सन् २०१८ मा मी टूको आँधी नै पस्यो। बलिउडका चर्चित अभिनेता नाना पाटेकरदेखि चर्चित लेखक चेतन भगतसम्मलाई यौन हिंसाको आरोप लाग्यो। अभिनेत्री कंगना रनावतले पनि चलचित्र निर्देशक विकास बहललाई यौन हिंसाको आरोप लगाइन्। त्यस्तै भारतीय वैदेशिक मामिला राज्यमन्त्री एमजे अकबरमाथि पनि सहकर्मीलाई यौन हिंसा गरेको आरोप लाग्यो।

बलिउड संगीतकार अनुमल्लिक पनि मी टू आन्दोलनबाट बच्न सकेनन्। इन्डियन आइडलका न्यायाधीश थिए, अचानक उनी हटाइए। आलोक नाथ, सुभाष घईलगायतका बडेबडे नाम सामाजिक सम्मानको दायराबाट बाहिर उछिट्टिए। सलोनी चोपराले मुख खोल्नासाथ साजिद खान चुरचुर भए। आमिर खानलगायतका बलिउड हस्तीहरूले मी टूले डामेकाहरूसँग काम नगर्ने घोषणा गरे। मी टू आन्दोलनले बलिउडको फोहोरी अनुहार मात्र उजागर गरेन, फिल्म उद्योगलाई नै प्रश्नको घेरामा तानिदियो। आफूले भोगेको यौन हिंसाबारे बलिउड अभिनेत्रीहरू बोल्ने क्रम अझै जारी छ।

 

हलिउड/बलिउड/कलिउड 

हलिउडबाट सुरु भएको मी टू आन्दोलनको डढेलोले बलिउडको खरानी रङ पनि देखाइदियो। तर कलिउड भनेर चिनिने नेपालको चलचित्र उद्योगमा भने मी टूले खासै प्रभाव पार्न सकेन। नेपालको चलचित्र क्षेत्र महिला कलाकारका लागि अत्यन्तै सुरक्षित र नारीमैत्री भएरै यस्तो भएको हो त ? कि नेपालका महिला कलाकारले मी टू ह्यासट्यागमा जमेर कुरा राख्न नसकेका हुन् ?

त्यसो त चलचित्र क्षेत्रमा महिला कलाकारले भोग्नुपरेका यौन हिंसाका कुरा पर्सनल स्पेसमा हुने गरेका छन्। ग्ल्यामरको उज्यालोमा पुग्न कस्ताकस्ता उदेकलाग्दा सम्झौता महिला कलाकारले गर्छन् र ग्ल्यामर उद्योगका शक्तिशाली मानिसहरू कसरी महिलाको शोषण गर्छन् भन्ने चर्चा पनि साँघुरा सर्कलहरूमा चल्ने गर्छन्। तर यस्ता चर्चा सार्वजनिक वृत्तमा आइपुग्दैनन्। इतिहासले देखाउँछ– त्यस्ता घटना एकैपटक डरलाग्दो रूपमा मात्र प्रकट भएका छन्।

अभिनेत्री श्रीषा कार्कीले आत्महत्या गरेको प्रसंग त्यस्तै एउटा दर्दनाक घटना थियो। आफूले भोगेको प्रत्यक्ष÷परोक्ष यौन हिंसाको प्रतिवादमा आत्महत्याजस्तो भयानक उपाय उनले किन अपनाउन पर्‍यो होला ? त्यसैगरी बारम्बार यौन शोषणमा परेकी अभिनेत्री जेसिका खड्काले पनि आत्महत्याकै बाटो किन रोजिन् ? जेसिका प्रकरणमा उनलाई बारम्बार यौन शोषण गरेको आरोपमा गायक प्रकाश ओझा जेल परे। यी दुई घटनाले पनि नेपाली चलचित्र उद्योगमा महिला कलाकार यौन हिंसामा पर्दा रहेछन् भन्ने पुष्टि हुन्छ।

विभिन्न अभिनेत्री तथा नयाँ कलाकारमाथि भइरहेको हिंसा र यौन शोषणको घटनाले बेलाबेला नेपाली फिल्म बजार तात्ने गर्छ। तर यौन शोषणले जघन्य अपराध वा दुर्घटनाको रूप नलिँदासम्म कोही यसबारे बोल्न चाहँदैनन्। मी टू आन्दोलनले एउटा चोटिलो मौका दिँदा पनि यस क्षेत्रका महिलाले यौन हिंसाविरुद्ध बोल्ने हिम्मत गरेनन्।

चलचित्र पत्रकार राजाराम फुयालका अनुसार त अन्य क्षेत्रको तुलनामा चलचित्र क्षेत्रमा यौन हिंसा बढी नै हुने गर्छ। उनी भन्छन्, ‘यो क्षेत्रमा खराब नियतका मान्छेहरू प्रशस्तै भेटिन्छन्। श्रीषा र जेसिका आत्महत्या पनि सहकर्मीको कुनियतका कारण नै हुन पुगेका हुन्।’ एकातिर उनीहरूमा आत्मविश्वासको कमी भएको र अर्कोतिर हिंसामा परेको बेला सहयोग गर्ने हातहरू नभएकाले आत्महत्याजस्तो दर्दनाक बाटो जेसिका र श्रीषाले रोजेको हुनसक्ने उनको अनुमान छ।

नेपालमा मी टू आन्दोलन पटक्कै नभएको चाहिँ होइन। पत्रकारहरू प्रभा कैनी, सुविना श्रेष्ठ, रश्मिला प्रजापति, उज्ज्वला मर्हजन, विम्मी शर्माहरूले आफूले भोगेको यौन दुव्र्यवहारको कुरा सार्वजनिक गरे। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कृष्णबहादुर भट्टचनलाई पनि उनका विद्यार्थीले यौन दुव्र्यवहारको आरोप लगाए। तर अभिनेत्री बेनिशा हमालले ग्ल्यामर, चलचित्र क्षेत्रमा पनि यौन दुव्र्यवहार हुने गरेको खुलासा गरे पनि यो क्षेत्रलाई भने मी टू आन्दोलनले खासै छोएन।

 के खोजिन्छ कथित सुन्दरताभित्र ?

विभिन्न सरकारी तथा गैरसरकारी प्रतिवेदनअनुसार ७० प्रतिशत यौन हिंसा आफन्त वा सहकर्मीबाटै हुने गरेको देखिन्छ। महिला संरक्षण गर्ने अधिकार पाएका पुरुष आफन्त नै पीडक बनेर आउँछन् भने महिला सुरक्षित कसरी हुने ?

हरेक क्षेत्रमा जस्तै चलचित्रमा पनि असल र खराब दुवै चरित्रका मानिस भएकाले आफूलाई आफैंले जोगाउनुपर्ने तर्क राख्छन् कलाकार। चलचित्र कलाकार संघकी महासचिवसमेत रहेकी अभिनेत्री सरिता लामिछाने चलचित्र क्षेत्रमा कला, अभिनयसँंगै शारीरिक सुन्दरताको बढी चर्चा हुने ठाउँ भएकाले पनि यस क्षेत्रमा महिला शोषण पर्ने सम्भावना पनि उत्तिकै रहने स्वीकार गर्छिन्।

पुराना नायिका तथा कलाकार भुवनचन्द पनि चलचित्र क्षेत्रमा महिलालाई काम गर्न असहज भएको बताउँछिन्। उनी भन्छिन्, ‘एक त सामाजिक संरचना नै पुरुषकेन्द्रित छ, अर्को महिलाको उपस्थिति पनि यस क्षेत्रमा तुलनात्मक रूपमा कम छ। निर्माता तथा निर्देशकले महिला कलाकारलाई सम्मान नगर्ने, पारि श्रमिकमा विभेद गर्ने, मेरै काम गर्ने त हो भनी जिस्काउने, छुने र प्रयोग गर्न खोज्ने गर्छन्।’ महिलाको अभिनय क्षमताभन्दा पनि सुन्दरताको प्रदर्शन बढी गर्न खोजिने उनको अनुभव छ।

आफूमा आत्मविश्वास नभएका कलाकार धेरैजसो शोषणमा पर्ने गरेको बुझाइ छ करिश्मा मानन्धरको पनि। उनका अनुसार शोषणमा परेकै कारण कतिपय कलाकार पलायन भएका, अन्य पेसामा गएका र केही ड्रिपेसनमा परेका छन्।

चलचित्र पत्रकार राजाराम फुयाल आफ्नो कार्यालयमा आएर गायिका र नायिकाले यौन हिंसा सुनाउने गरेको बताउँछन्। उनी भन्छन्, ‘तर कोही पनि पत्रिकामा लेख्न र बाहिर सुनाउन चाहँदैनन्। उनका अनुसार, फिल्म खेलाइदिन्छु, गीत चर्चित बनाइदिन्छु भनेर अग्रजहरूले कलाकारसँग पैसा मागेर सताउने गर्छन्। पैसा सँगै शारीरिक सम्बन्धका लागि दबाब दिने गरेको घटना आफूसँगै प्रशस्तै रहेको उनको भनाइ छ।

‘पीडित महिला कलाकार किन नबोलेका होलान् ? ’ फुयाल भन्छन्, ‘यहाँ उनीहरूलाई संरक्षण गर्ने कोही छैनन्, घरपरिवारले कुरा बुझ्दैन। करियरको ग्यारेन्टी छैन। जहाँ पनि महिलालाई नै दोष दिने संस्कार छ यहाँ त्यसैले पनि संकोच मानेका होलान्।’

सामाजिक संरचनामै विभेद

नेपालमा हिंसापीडित महिलाले न्याय पाउने कुनै ग्यारेन्टी नभएको सरिता लामिछानेको तर्क छ। उनको आक्रोश छ, ‘बालिका बलात्कार गर्नेलाई सजाय देऊ भनेर आन्दोलन गर्नुपर्ने यो ठाउँमा मलाई यौन हिंसा भयो भन्दा कसले पत्याउला ? अनि हिंसापीडित युवतीको प्रोटेट कसले गर्ने ? ’

चलचित्र निर्माता तथा निर्देशक नवीन सुब्बा सामाजिक संरचनामै विभेद भएको स्विकार्छन्। महिलालाई हुर्काइने सामाजिक परिपाटी र मनोविज्ञानले उनीहरू खुलेर बोल्न नसकेको दाबी गर्छन् सुब्बा। ‘चलचित्रका निर्माता, निर्देशक तथा अन्य मुख्य ठाउँमा पुरुषकै वर्चश्व छ। करियर अगाडि बढाउन पनि पुरुषहरूकै सहयोग चाहिने भएर पनि महिला नबोलेका होलान्’, उनको ठम्याइ छ।

‘पुरुषले ठूलै गल्ती गरेको किन नहोस्, महिलामाथि नै आरोप लगाउँछ हाम्रो समाज। पुरुष गलत कहिल्यै हुँदैन अनि कसरी बोलून् त महिला ? ’, अर्की अभिनेत्री रेखा थापा प्रश्न गर्छिन्। पतिसँग सम्बन्ध–विच्छेद गरेको र तीनचोटि बिहे बिग्रिएको पुरुषलाई कसैले केही भनेनन् तर आफ्नो चरित्रका बारेमा टीकाटिप्पणी भएको र नराम्रो भनिएको अनुभव सुनाइन् उनले।

कुनै पनि विभेद या शोषण शक्तिसँग जोडिने तर्क गर्छन् फिल्म अनुसन्धाता अनुभव अजित। उनी भन्छन्, ‘नीतिनिर्माणदेखि कार्यान्वयन तहसम्म पुरुषकै नेतृत्व हाबी छ। नियमकानुन महिलाका पक्षमा छैनन्। महिलाका कुरा सुनुवाइ नहुने भएपछि कसरी महिला कलाकार खुलेर बोल्न सकून् त ? ’ उनका अनुसार बलिउड, हलिउडका कलाकार समाजमा लोकप्रिय र शक्तिशाली हुन्छन्। उनीहरूका फिल्मले समाजमा व्यापक प्रभाव पारेको हुन्छ। तर हामीकहाँ त्यस्तो चलचित्र बन्न सकेको छैन। कलाकारको विश्वास गरिँदैन।

महिलाको पक्षमा सहयोग गर्ने र उनीहरूलाई संरक्षण गर्ने निकाय नभएकाले बोल्न नसकिएको करिश्माको अनुभव छ। उनी भन्छिन्, ‘समाजका हरेक तह र तप्कामा जबसम्म महिलाको समान प्रतिनिधित्व र नीति निर्माणको ठाउँमा महिला पुग्दैनन्, महिलालाई अनुकूल हुने सामाजिक संरचना निर्माण हुन सक्दैन।’

‘नबोलेर भन्दा बोलेर झन् पीडित हुने अवस्था रहेकाले नायिकाहरू नबोलेका होलान्’, सरिता लामिछानेको अनुभव छ। उनी भन्छिन्, ‘तर म कहिल्यै यौन हिंसामा नपरेको र सानातिना घटना हुन थाल्दा प्रतिकार गर्ने गर्छु।’ उनी भन्छिन्– महिलामा प्रतिकार गर्ने क्षमता र आत्मविश्वास छ भने कसैले पनि हिंसा गरिहाल्ने आँट गर्दैन।

चलचित्र कलाकार संघकी महासचिव लामिछाने भन्छिन्, ‘संघमा पनि यौन हिंसाबारेमा खासै गुनासा आउँदैनन्।’ उनी अगाडि थप्छिन्, केही केस दुवै पक्षको सहभागितामा समाधान गरेका छौं।’ उनका अनुसार अरूका बारेमा भन्न र लेख्न सजिलो छ, तर आफूले भोगेको हिंसा सुनाउन महिलालाई साँच्चिकै चुनौतीपूर्ण छ।

हरेक क्षेत्रमा जस्तै चलचित्रमा पनि असल र खराब दुवैथरी मानिस हुने नायिका सुरक्षा पन्तको धारणा छ। पछिल्लो समय चलचित्र क्षेत्र केही सुरक्षित देखिएको उनको दाबी छ। उनी भन्छिन्, ‘आफूले कामप्रति लगाब राख्ने सिरियस फिल्म मेकरहरूसँग काम गर्ने अवसर पाएकाले यौन हिंसामा परेकी छैन।’

  जानकारीविना नै प्रवेश

अध्ययन गरेका, पढेका, सिकेका र क्षमता भएकाहरू अभिनयमा आउँदा यौन हिंसामा कम पर्ने दाबी गर्छन् अभिनेत्रीहरू। फिल्म खेल्नकै लागि, सानो भूमिका पाउनकै लागि निर्माता र निर्देशकहरूको स्वार्थमा कलाकारहरुले अल्झिन नहुने अभिनेत्रीहरूको तर्क छ।

अभिनयका क्रममा ससाना गलत व्यवहार पनि सहन नहुने र तत्काल प्रतिक्रिया दिने बानी भएमा यौन हिंसामा कम परिने बताउँछिन् सुरक्षा पन्त। उनका अनुसार परिवारको साथ र सल्लाहविना नै घरबाट भागेर कोही व्यक्तिको साथमा आउँदा कतिपय कलाकारले उसबाट पटकपटक यौनको सिकार हुनुपुरेको छ।

पछिल्लो समय महिलाकेन्द्रित फिल्म निर्माणमा सक्रिय रेखा थापालाई हिम्मतवान् अभिनेत्री र निर्माताका रूपमा लिइन्छ। उनी भन्छिन्, ‘दक्ष कलाकार हिंसामा पर्ने सम्भावना कम हुन्छ। तर पनि हाम्रो समाजमा अझै पनि महिलामाथि शोषण गर्न खोजिन्छ। अहिले निर्माता तथा निर्देशकहरू रूपभन्दा पनि सीप र क्षमतामा विश्वास गर्ने भएकाले सम्बन्धित विषयमा जानकार हुनैपर्छ।’

कतिपय कलाकार काम पाउनकै लागि हिंसा पनि सहन्छन्। त्यस अवस्थामा पीडकहरु थप शोषण गर्न लालयित हुने दाबी गर्छिन् सरिता लामिछाने। उनका अनुसार हामीकहाँ आफूलाई तयार बनाउनुभन्दा भनसुनमार्फत आउनेहरू पनि शोषणमा पर्ने गर्छन्। कहिलेकाहीं गल्ती भएमा त्यसको दोष महिलामाथि लगाउने, गाली गर्ने, अश्लील बोल्ने गर्छन्।

 कानुन नै फितलो

कुनै पनि पेसामा अघि बढिसकेकालाई करियरको चिन्ता अवश्य हुन्छ। कार्यालयमा हाकिमबाट शोषणमा परेकी महिलालाई कसले न्याय दिने ? बोल्यो भने उसको जागिर पनि जान्छ। सहकर्मीबाट शोषणमा पर्ने सम्भावना पनि त्यत्तिकै रहन्छ।

सुरक्षा पन्तको प्रश्न छ, ‘पीडितलाई संरक्षण गर्ने उपयुक्त कार्यालय र संस्था छैन, अनि कसरी बोल्छन् त ? ’ उनी फेरि पश्न गर्छिन्, ‘मलाई समस्या पर्‍यो, तर मलाई कसले सहयोग गर्छ त ? मेरो कुरा कसले सुन्छ ? सहयोग गर्ने कोही छ ? ’

उनका अनुसार दुईचार मिडियाले कसरी कहाँ, केके भयो भनेर सोध्ने गर्छन्, यसले पीडितलाई झन् समस्या पर्छ। ७० प्रतिशत यौन हिंसा आफन्तबाटै हुने करिश्मा भनाइ छ। उनी भन्छिन्– हरेक ठाउँमा पुरुषको वर्चश्व छ।

‘शोषणमा परे रिपोर्ट गर्न जाने ठाउँ पुलिस त्यहाँ पनि पुरुषकै अधिकारी छ। त्यहाँ प्रमाण खोजिन्छ, मलाई कसैले असहज ठाउँमा छोयो के प्रमाण देखाऊँ ? न्याय माग्न गयो मुद्दा फैसला गर्ने ठाउँमा पुरुष नै न्यायाधीश हुन्छ ? कानुनी प्रक्रिया पनि झन्झटिलो छ। पीडितलाई न्याय पाइन्छ भन्ने भरोसा नै छैन’, करिश्मा मान्न्धरको आक्रोश थियो।

व्यक्तिगत रूपमै प्रतिकार

आफूलाई परेको हिंसाबारे बोल्नभन्दा पनि हिंसा नै हुन नदिन पहल गर्नुपर्ने तर्क छ रेखा थापाको। कसैमाथि शोषण हुन नदिन विद्यालय स्तरमै किशोरी शिक्षा अनिवार्य गर्नुपर्छ। हामीले बच्चा हुर्काउने बेलामै उनीहरूलाई हिंसाका बारेमा जानकारी गराउने, गलत र सही टचको बारेमा सानैदेखि सिकाउनुपर्ने मनोविद्हरू बताउँछन्।

बच्चादेखि नै आफू केटाजस्तो तरिकाले हुर्केकाले पनि नराम्रो गर्नेलाई कुटिहाल्ने आदत भएका जानकारी दिइन् रेखा थापाले। उनी अगाडि थप्छिन्, ‘कतिपय मानिसलाई त मैले प्रत्यक्ष झापड हानेकी छु। कुनियतकै कारण केही चलचित्रमा अभिनय नगरेको समेत उनले जानकारी दइन्। आफूले आफैंलाई माया र सम्मान गर्नु मुख्य कुरा हो। आफूमा भएको एउटा हिंसाको प्रतिकार गर्दा अनेकौं सम्भावित घटनाबाट बच्न सकिने दाबी उनको थियो।

आफन्त वा छिमेकी कसैले गरेको दुव्र्यवहार पनि सहन नहुने तर्कमा सहमत छन् सरिता र करिश्मा पनि। उनीहरूका अनुसार हिंसापीडित महिलालाई संरक्षण गर्ने र उनीहरूको हक हितका लागि बोलिदिने शक्तिशाली संस्था स्थापना हुनुपर्छ।

करिब बीस वर्षअगाडि एउटा चलचित्रका लागि पानीमा भिजेर ड्राइभ गर्ने सिन थियो। त्यसको सुटिङ गर्ने क्रममा निर्माता र निर्देशकले आफूलाई नराम्रो गाली गरेको र आफूले निर्मातालाई झापड हानेर प्रतिक्रिया दिएको अनुभव सुनाउँछिन् मानन्धर। उनी भन्छिन्, कसैले चरित्र हत्या गर्ने मनसायले नराम्रो तरिकाले लेख्यो भने पनि पत्रकारसँग रियाक्ट गर्ने बानी थियो मेरो। त्यसैले पनि होला त्यस्तो नराम्रो हिंसा सहनुपरेन।

यौन हिंसाको सबैभन्दा राम्रो उपाय भनेको तत्कालै जे सकिन्छ त्यसैले प्रतिक्रिया दिने हो। बोलेर हुन सक्छ, अन्यत्रै गइदिएर हुन सक्छ या झापड हानेर। सरिता भन्छिन्, ‘हिंसा सहेर पछि बोल्नुभन्दा अवस्था हेरेर तत्काल प्रतिक्रिया दिनु ठीक हो। सबै कलाकारले रियाक्ट गर्ने बानी सुरु गरौं।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.