सीमा क्षेत्रमा भारतको कच्ची बाँध
कैलाली : कैलालीको कैलारी गाउँपालिका–३ मा भारतले झन्डै नौ फिट अग्लो कच्ची बाँध बनाएको छ। शिवरत्नपुरका सय परिवारको थारू बस्ती पूरै डुबान हुने गरी भारतले दशगजादेखि केही भारततिर गहिरो नाली खन्दै अस्थायी बाँध बनाएको हो। एक सातादेखि डोजर लगाएर भारतले साढे तीन किलोमिटर कच्ची बाँध बनाएको वडाध्यक्ष कैलाश चौधरीले बताए।
‘जिल्ला प्रशासन कार्यालय कैलाली, सशस्त्र प्रहरीको सीमा सुरक्षा बलसहित नेपाली प्रशासनलाई यसबारे कुनै जानकारी छैन’, वडाध्यक्ष चौधरीले भने, ‘हामीले शिवरत्नपुरको बस्ती डुबानमा पर्ने भयो, यति अग्लो कच्ची बाँध किन बनाएको भनेर सोधेपछि उनीहरूले वन विभागको आदेश भएकाले यस्तो गरेको बताउँदै आएका छन्’, वडाध्यक्ष चौधरीले भने।
उनका अनुसार शिवरत्नपुर, मोहनपुर निमुवाबोझी क्षेत्र भारतले बनाइरहेको कच्ची बाँधको डुबानमा पर्नेछ। यसअघि भारतीय पक्षले धनगढी गौरीफन्टा नाकानजिकै कञ्चनपुरको डोकेबजारमा मोहना–लालझाडी करिडोर नै अवरुद्ध हुनेगरी नालीसहित तारबार गरेको थियो। त्यसबेला नेपाली पक्षको विरोधपश्चात् केही दिन काम रोकिएपछि फेरि भारतले माथिको आदेश भन्दै २ किलोमिटरको नाली र तारबारको काम सम्पन्न गरेको छ।
‘कैलारी गाउँपालिकाको शिवरत्नपुरसँग जोडिएको भारतीय क्षेत्रमा पनि साढे तीन किलोमिटरको नाली खनेर भारतले अस्थायी बाँधजस्तै बनाएको छ, त्यसले नेपाली गाउँ डुबानमा पर्ने निश्चित छ’, उक्त क्षेत्रका प्रदेशसभा सांसद वीरमान चौधरीले भने। उनले यसबारे भारतले नेपाली प्रशासनलाई कुनै जानकारी नदिएको बताए।
शिवरत्नपुरसँग जोडिएको सीमा क्षेत्रमा दशगजाभन्दा झण्डै १० मिटर भारततिर दुधवा नेसनल पार्कमा भारतले गहिरो नाली खनेर त्यो नालीको माटो बाँधजस्तै थुप्रो बनाएको हो। १३ वर्षअघि दशगजामै खनिएको नाली अहिले पुरिएकाले उसले केही पर नाली खनेर नेपाललाई डुबान पार्ने तयारी गरेको सांसद चौधरीले बताए।
‘सीमा क्षेत्रमा दशगजाभन्दा एक किलोमिटर दायाँ–बायाँ कुनै संरचना बनाउनुपरे एकअर्का देशको सहमति चाहिन्छ तर यसबारे भारतले नेपालसँग समन्वय गरेको देखिँदैन’, उनले भने, ‘सीमा क्षेत्रमा भारतको दादागिरी कायमै छ।’
सांसद चौधरीले शुक्रबारको संसद्मा पनि उक्त बाँध रोक्न माग गरेका थिए। संसद्मै त्यसको कुरा उठेपछि शनिबार पत्रकार, जनप्रतिनिधि र सीमा सुरक्षा बल सहितको टोली शिवरत्नपुर गएको थियो। शिवरत्नपुर, मोहनपुर, निमुवाबोझी र लालपुरमा करिब तीन सय थारूको बसोवास छ। उनीहरूले दैनिक उपभोग्य सामानका लागि पनि भारतको चन्दनचौकी बजार जानुपर्ने भएकाले उक्त बाँधको खुलेर विरोध गर्न सकेका छैनन्।
‘हामीले विरोध गरे, पारि (भारत) जानेबित्तिकै पक्रिने, धम्क्याउने, गाली गर्ने र ल्याएको घरको सामान पनि जफत गरिदिन्छन्, अनि कसले विरोध गर्ने ? ’ स्थानीय भागीराम चौधरीले भने। प्रदेशको राजधानीभन्दा २०/२५ किलोमिटरमा भएर पनि राज्यको अनुभूति नभएको उनले बताए।
उनले भारतीय सुरक्षाकर्मी रातदिन नेपाली सीमामा हतियारसहित बुट बजारेर आउने तर नेपाली सुरक्षाकर्मी कहिल्यै नआउने गरेकाले गाउँका बासिन्दा भारतीय पक्षको दुव्र्यवहारको कुनै प्रतिक्रिया नदिने गरेको बताए। ‘हाम्रा गाडी त्यो सीमाभन्दा उता लैजान पाइन्न तर उनीहरू गाडी लिएर हाम्रो गाउँमा आउँछन्’, भागीरामले भने।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले पनि यसबारे भारतीय पक्षले कुनै जानकारी नदिएको बताए। ‘डोकेबजारको भन्दा निकै अग्लो गरी खाली खनिएको थाहा पाएँ, त्यसबारे नेपाली प्रशासन, वन कार्यालय कसैलाई पनि भारतले जानकारी दिएको छैन’, प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने।
उनले सशस्त्र प्रहरी सीमा सुरक्षा बल, डिभिजन वन कार्यालयले पनि त्यस क्षेत्रको अनुगमन गरेकाले पानी निकासको विन्दु थुनिएको जानकारी भएको बताए। यसबारे केन्द्रलाई जानकारी गराउने उनले बताए।
स्थानीयले भने भारतले सीमा क्षेत्रमा वन्यजन्तु र वन संरक्षण गर्ने भन्दै सीमाभरि बाँध बनाइरहेको आरोप लगाएका छन्। ‘उनीहरू नाली खनेको भन्छन्, तीन मिटर गहिरो नाली, त्यो नालीको माटो माथि थुपारेपछि बाँधजस्तै बनेको छ, यसले नेपाली भूभाग डुबानमा पर्छ, नेपाली प्रशासनले यो कार्य तत्काल रोक्नुपर्छ’, कैलारी गाउँपालिकाका बतासु चौधरीले भने।