काममा आएन ‘सीएमसी’ : ठेक्का रद्द गर्ने तनहुँ हाइड्रोको तयारी

काममा आएन ‘सीएमसी’ : ठेक्का रद्द गर्ने तनहुँ हाइड्रोको तयारी

दमौली : काम सुरु गर्न दिइएको समयसीमाभित्र नआएपछि तनहुँ हाइड्रोपावर आयोजनाले इटालीको सीएमसी कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने भएको छ । 

बहुप्रतिक्षित एक सय ४० मेगावाट क्षमताको आयोजनाका लागि मेलम्ची खानेपानी आयोजना निर्माणको पनि जिम्मा लिएको सीएमसीसँग करसहित २० अर्ब ६४ करोड रुपैयाँमा बाँध निर्माणको सम्झौता भएको थियो । 

ठेक्कामा हस्ताक्षर भएर काम थाल्न दिइएको समयसीमाभित्र कम्पनी सम्पर्कमा नआएपछि सम्झौता तोड्ने प्रक्रिया सुरु गरिएको आयोजना सञ्चालक संस्था तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले बताए । 

‘हामीले काम सुरु गर्न २८ दिनको समय दिएका थियौं,’ उनले भने, ‘तोकिएको समयभित्र कम्पनीका प्रतिनिधिले सम्पर्क नगरेपछि ठेक्का तोड्न लागेका हौं ।’ 

कम्पनीले जटिल मानिएको आयोजनाको बाँधतर्फको कामको जिम्मा पाएको थियो । आयोजनाका अनुसार शुरुमा काम थाल्ने प्रतिवद्धता कम्पनीका तर्फबाट आएको थियो । ‘सम्झौता भएको शुरुको अवधिमा कम्पनी सम्पर्कमा थियो,’ थिकेले भने,‘छिट्टै आएर काम थाल्छौं पनि भनेको थियो । तर अझैसम्म काम हुने अवस्था देखिएन ।’

कम्पनीले २८ दिनभित्र काम थाल्न गत फागुन ३ गतेबाट लागू हुने गरी पत्र पठाएको थियो । मेलम्ची आयोजनामा विवादपछि कम्पनीका प्रतिनिधिहरु हाल इटालीमै छन् ।

ईमेल सम्पर्कमा काम थाल्छौँ भने पनि तोकिएको समय गत शुक्रबारसम्म कम्पनीले काम थाल्ने तयारी नगरेकाले सम्झौता तोड्ने अवस्थामा पुगेको थिकेले बताए । ‘काम थाल्ने स्थलगत या अन्य माध्यमबाट गर्छु भनेर अर्थ रहेन,’ उनले भने ।

सम्झौता तोड्ने अन्तिम निष्कर्षमा आयोजना पुगे पनि यसबारे अन्तिम निर्णय लिनुअघि दातृ निकाय एसियाली विकास बैंक र दातासँग कम्पनीले परामर्श थालेको छ । 

‘सम्झौता तोड्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ सञ्चालक थिकेले भने, ‘दातृ निकायसँगको सल्लाहपछि तोडिनेछ ।’ कम्पनीले आयोजनाका लागि राखेको झण्डै दुई अर्ब धरौटीसमेत जफत गर्ने गरी माग गरेको छ ।

फेरि ‘ग्लोबल टेण्डर’

यसअघि मेलम्ची खानेपानी आयोजनाको भुक्तानी विवादमा अल्झिएको सीएमसीसँगको सम्झौता तोडिने करिब निश्चित देखिँदा कामको विकल्पबारे चासो लिन थालिएको छ । 

सीएमसीसँगै चीनको सिनो हाइड्रोले पनि बाँधस्थलका लागि प्रस्ताव गरेका थिए । सिनो हाइड्रोले आयोजनाको विद्युतगृहको ठेक्का पाइसकेको छ । 

अब बाँधस्थलको ठेक्का पनि उसैलाई दिइने त होइन भन्ने आशंका बढेको छ । तर आयोजना श्रोतले बाँधस्थलका लागि दोश्रो नम्बरमा परे पनि सिनो हाइड्रोलाई विकल्पमा राख्न नमिल्ने बताएको छ ।

दाताले सीएमसीसँग ठेक्का तोड्ने सहमति दिएमा फेरि ग्लोबल टेण्डरमार्फत् बाँधस्थल निर्माता छानिने आयोजना श्रोतको भनाई छ । 

सिनो हाइड्रोले तयारी थाल्यो

आयोजनाका लागि तनहुँ हाइड्रोपावरले दुई कम्पनीसँग फरक सम्झौता गरेको थियो । बाँधस्थल निर्माणको जिम्मा पाएको सीएमसीले काम नथाले पनि विद्युतगृहका लागि ठेक्का पाएको चिनियाँ लगानीको सिनो हाइड्रो कम्पनीले भने तयारी शुरु गरेको छ । 

विद्युत् गृहस्थल ऋषिङ १ को झापुटारनजिकै कम्पनीले क्याम्प तथा सामग्री राख्नका लागि काम थालेको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले बताए । ‘निर्माण थाल्नुअघिको तयारी थालिएको छ,’ उनले भने । 

झन् झन् ढिलाइ

यसअघि निर्माण छनौट भएका दुवै कम्पनीले दशैंलगत्तै काम थाल्ने अपेक्षा गरिएको थियो । तर विभिन्न नाममा ढिलाई हुँदै आएको आयोजनालाई मेलम्चीको ठेक्का विवादले पनि छोयो । 

‘मेलम्चीको विवाद नदेखिएको भए सीएमसीबाटै काम हुन सक्थ्यो,’ जानकार श्रोतले भन्यो,‘समयमा काम नथाल्ने परिपाटीले अहिले मेलम्ची विवादसँग कम्पनीको कामलाई पनि असर परेको छ ।’ 

आयोजनाले सुरुमा गत साउनभित्रै सम्झौता गर्ने प्रक्षेपण गरे पनि दातृ निकायले कम्पनी छनोटमा स्विकृति नदिंदा साउनमा कम्पनी छनोट भएका थिए । 

तर कम्पनीसँग ठेक्का सम्झौता हुन समय लाग्यो । ठेक्का र तयारीको समय दिएर तिहारअघि काम थाल्ने अनुमानअनुसार पनि काम नभएपछि अहिले मेलम्ची विवादको असर आयोजनामा परेकाले काम झनै ढिलो हुने अवस्थामा पुगेको छ । 

अब ग्लोबल टेण्डरका लागि लाग्ने समय र त्यसका लागि छनोटको प्रक्रिया हेर्दा कम्तीमा पनि ६ महिनाअघि बाँधस्थलको काम सुरु नहुने देखिएको छ ।

नेपाल सरकारसहित विदेशी दातृ निकाय एसियाली विकास बैंक र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको सहयोगमा झण्डै ५० अर्ब लागतमा दमौली नजिकै आयोजना निर्माण हुँदैछ । तर कहिले दाता त कहिले आयोजनाकै कारण काम ढिलाइ भइरहँदा लागत थप बढ्ने आशंका गरिएको छ । 

ऋषिङ-१ झापुटारमा निर्मित तनहुँ जलविद्युत आयोजनाको आवासीय क्षेत्र । तस्बिरः पवन पौडेल


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.