१५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने
काठमाडौं : नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले फागुन २३ गतेदेखि २७ गतेसम्म १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ।
‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नाराका साथ फागुन २३ गतेदेखि आयोजना हुन लागेको आइतबार राजधानीमा पत्रकार सम्मेलनमा जानकारी गराइयो। नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप परिसरमा घरेलु उद्योग महोत्सव र तेस्रो प्रांगारिक कृषि मेला–२०७५ आयोजना गर्न लागेको हो। समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रूपमा सञ्चालन गर्ने उद्घोष गरेको गरिरहँदा मुलुकभरका चार लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए।
देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहे पनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योग प्रतिस्पर्धी बन्न नसकेको उनको भनाइ छ। उनले प्रतिस्पर्धी बन्न नसक्दा आकर्षक प्रतिफल दिन नसकिरहेको र यसले युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन नसकेको बताए। उनले भने, ‘परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या छ। यस्तो पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्य राखिएको छ।’ नेपाल घरेलु तथा साना उद्योग महासंघले विगतदेखि नियमित रूपमा राष्ट्रिय, प्रदेश तथा स्थानीय स्तरमा औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ।
तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन मेलामा गरिनेछ। मुलुकको औद्योगिकीकरणको वर्तमान अवस्थालाई उजागर गर्न बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीमा हुनेछ। प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमी, प्रविधि प्रयोगकर्ता र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ। प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढी अवलोकनकर्ताले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रूपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ।
महासंघको आयोजनामा हुने मेलाको सह–आयोजकको रूपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय– व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, लघु, घरेलु तथा साना उद्योग विकास कोष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय–राष्ट्रपति महिला उत्थान कार्यक्रम रहनेछन्। अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्था यसका प्रवद्र्धक र सहयोगी रहनेछन्।