राजश्व अधिकृतविरुद्ध तीन करोडको अकुत मुद्दा
काठमाडौं : राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगसहित सोमबार मुद्दा दायर भएको छ। विभिन्न कार्यालयहरूमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्दै अस्वाभाविक उच्च जीवनयापन गरिरहेको भन्दै जेल सजाय र जरिवानाको मागसहित अख्तियारले सोमबार रिजालविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियार अनुसन्धानबाट उनको श्रोत नखुलेको अवैध सम्पत्ति दुई करोड ९७ लाख ३८ हजार रुपैयाँ देखिएको छ। उनकी पत्नी स्वस्थानी रिजाललाई पनि प्रतिवादी कायम गरिएको छ। ३५ वर्षको जागिरे जीवनमा आर्जित गैरकानुनी सम्पत्ति जफत र त्यति नै जरिबाना गर्न अख्तियारको माग छ। उनलाई भ्रष्टाचार निवारण ऐन अनुरुप दुई वर्षसम्म जेल सजाय माग गरिएको छ।
रिजाल २०४० साल कात्तिक ६ गते खानेपानी तथा ढल निकास विभाग पोखरामा अस्थायी सेवामा प्रवेश गरेका थिए। २०४१ बैशाख ५ सम्म उनी त्यहाँ कार्यरत रहे। २०४१ बैशाख ११ गते भूमी सुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ति पाएका थिए। उनले २०७४ बैशाख १५ मा राजश्व अनुसन्धान विभाग ललितपुरबाट शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश प्राप्त गरेको थिए।
>>> रेडियोका तत्कालिन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
उनले तलबभत्ता, प्रोत्साहन भत्ता, श्रीमती स्वस्थानी रिजालको पारिश्रमिक आय, जग्गा विक्री, श्रीमती स्वस्थानी रिजालको नाममा सञ्चालित सञ्जिवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्सको आय, अवकाश पश्चात सुविधा प्राप्त आय, कर्जा लगायतबाट एक करोड ९६ लाख ८६ हजार आय आर्जन गरेको देखिएको छ।
त्यही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन, मोटेल डि बटुवा प्रालि एवम् सञ्जीवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स एण्ड टुर्स प्रालिहरूमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्था र कम्पनीमा सेयर लगानी, शैक्षिक खर्च, सुन चाँदी खरिद एवम् विभिन्न बैंक तथा वित्तिय संस्थामा मौज्दातसहित चार करोड ९४ लाख २४ हजार खर्च तथा लगानी गरेको देखिएको छ।
उनको वैध आय एक करोड ९६ हजारको तुलनामा दुई करोड ९७ लाख ३८ हजार तीन सय १० बराबरको सम्पत्तीको स्रोत नखुलेको पाइएको छ। सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिएकोले वैध आयको तुलनामा दुई करोड ९७ लाख ३८ हजार तीन सय १० रुपैयाँको स्रोत खुल्न नसकेको हो। उनले सरकारी सेवामा प्रवेश गरेपछि त्यो परिमाणको सम्पत्ति श्रोत खुलाउन नसकेकाले अवैध रुपमा कमाएको देखिएको हो।
लुकाएको सम्पत्ति पत्नी स्वस्थानीसमेतको नाममा राखेको देखिन आएको अख्तियारले जनाएको छ।