भारतबाट भन्सार छलेर ल्याएको भन्दै ५ लाख बराबरको सामान बरामद
परासी : पश्चिम नवलपरासीस्थित भारतबाट भन्सार छली ल्याएको सामान भन्दै ५ लाख बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार्टर नं. २६ बेलासपुरले ५ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको बताएको हो । बरामद गरेका सामानमा कपडासहित नेपालबाट भारततर्फ लैजाँदै गरेको मसलाजन्य वस्तु पनि छन् ।
शसस्त्र प्रहरी उपरीक्षक गहार्धन राईका अनुसार बरामद गरिएका कपडामा ब्लाउज, लेडिज सुट र रोल थान कपडा छन् । यस्तै पाल्हीनन्दन–२ गोपालपुर नाकाबाट ल्याउँदै गरेको ७१ हजार बराबरको सुटका कपडा पनि शसस्त्र प्रहरीले बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको ७० हजार बराबरको मरिचसमेत बरामद गरेको शसस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सबै सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार चलान गरिएको शसस्त्र प्रहरी उपरीक्षक राईले जानकारी दिए ।