सल्यानका तत्कालीन एलडीओसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं : सल्यान तत्कालीन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । नक्कली बिल भरपाई बनाए हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एलडीओ रायमाझीसहित १८ विरुद्ध मुद्दा दायर गरेको हो ।
एलडीओ रायमाझी, प्रमुख जिल्ला इन्जिनियर जगदीश शर्मा, लेखा अधिकृत प्रकाश केसी लगायत १७ जनाविरुद्ध पाँच लाख १४ हजार बिगो दाबी गरिएको छ । शारद ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक विनोद केसीविरुद्ध ४७ हजार विगो दाबी गरिएको छ ।
सल्यानको बागचौर नगरपालिका-५ बाङ्गेलाँकुरी बजारमा विद्युत् लाइन बिस्तारका लागि सांसद् विकास कोषबाट १० लाख र साविक शिवरथ गाविसबाट पाँच लाखसहित १५ लाख रुपैयाँ छुट्टाइएकोमा पाँच लाख मात्रै खर्च गरिएको थियो । पुरै बिजुलीको लाइन बिस्तार नगरी बाँकी १० लाख रुपैयाँ समितिका अध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव वीरेन्द्र वली र कोषाध्यक्ष त्रिपुरा वलीले फर्जी कागजपत्र बनाई हिनामिना गरेको पाइएको छ ।
विद्युतीकरणका लागि २३ थान १० एम.एम. र ४६ थान ८ एम.एम. सहित ६९ थान विद्युत् पोल निर्माण योजनामा प्रयोग गर्नुपर्ने थियो । तर उपभोक्ता समितिका पदाधिकारीले ३० थान ८ एम.एम.का पोल मात्र गाडेको अख्तियारको आरोप छ ।
उपभोक्ता समितिले भुक्तानीको लागि पेश गरेको बिलमा विद्युत्को पोलको प्रतिईकाई मूल्य कम हुँदाहुँदै प्राविधिक कागजातमा प्रति ईकाई मूल्य बढाई सिमेन्टसहित नकिनिएका सामाग्रीको पनि फर्जी बिल बनाएको भेटिएको छ ।
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार सजायको माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अखितयारका प्रवक्ता
रामेश्वर दंगालले जानकारी दिए ।