मेलम्ची छिट्टै ल्याउने आश्वासन रोकिएन
काठमाडौं : अलपत्र परेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले फेरि पनि मेलम्चीको पानी काठमाडौं आउने नयाँ मिति तोक्न छाडेका छैनन् । उनले फास्ट ट्रयाकबाट निर्णय गराएर असारअघि नै मेलम्ची आउने दावी गरे ।
पटक, पटक मिति तोक्दै उपत्यकावासीलाई आश्वासन दिँदै आएका कँडेलले नयाँ ठेक्का गरे उपत्यकामा मेलम्चीको पानी ल्याउन एक वर्ष मात्र लाग्ने अर्काे दाबी पनि सँगै गरे ।
सञ्चार केन्द्र नेपालले मंगलबार राजधानीमा ‘मेलम्ची विवाद समस्या र समाधान’ विषयक छलफलमा कँडेलले नयाँ टेन्डर प्रक्रिया गराएर काम थालिए असारअघि पानी नआउने एक वर्ष पर धकेलिने बताए । सरकारले फाष्ट ट्रयाकमार्फत आयोजनालाई काम गर्न मार्ग प्रशस्त गरे ८-१० दिन भित्रै काम थाल्ने उनको भनाइ थियो । ‘अहिले सीएमसीले अलपत्र छाडेर गएका जति पनि काम छन्, ती सबै विशिष्ठीकृत काम छन् । त्यसलाई नेपाली ठेकेदारले पनि गर्न सक्छन् तर सीएमसीले नै लगाएका ठेकेदारहरुलाई गराउन सकिन्छ,‘ कँडेलले भने, ‘छिटै काम थालियो भने राजधानीमा असारअघि नै पानी झार्छौं ।’
संसदको विकास तथा प्रविधिक समितिकी सभापति कल्याणी खड्का, पूर्व खानेपानी सचिव भीम उपाध्याय, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सुर्यराज कँडेल, आयोजनाकै पूर्व सदस्य एवं मेलम्चीका समाजसेवी पासाङ टेक्वा लामाले जे उपाय गरेर हुन्छ मेलम्ची छिटो सक्नुपर्नेमा जोड दिए ।
पूर्व सचिव उपाध्यायले जसले जति कमिसन खाए पनि मेलम्ची छिटो आउनुपर्ने धारणा राखे । ‘कमीसन खानेहरु पछि फन्दामा पर्छन्, तर मेलम्चीलाई कमीसनकै कारण रोक्नु हुन्न,’ उनले भने ।
विकास तथा प्रविधि समतिकी सभापति खड्काले आयोजना र मन्त्रालयले समयमै विश्लेषण नगर्द मेलम्ची पर धकेलिएको बताईन्। उनले निर्माणकम्पनीलाई भुक्तानी बुझाउँदा लगानी सूनिश्चितताको आधार नदेखि भटाभट भुक्तानी गर्नु आयोजना र मन्त्रालयको दोष रहेको बताइन् ।
‘मेलम्ची आयोजना पर धकेल्न भ्रष्टाचार नै भएको रहेछ भने पनि भोली त्यसको छानविन गरेर दोषीलाई कारबाही गर्न सकिन्छ तर कसरी हुन्छ काकाकुल काठमाडौंमा पानी ल्याउनुपर्यो।’ उनले नयाँलाई ठेक्का दिँदा तीन वटा सम्म कम्पनी भागिसकेकाले चौथो पनि भाग्न सक्नेतर्फ शंका गरिन्।